site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुश्माको खुर्कोटका स्थानीयको टौवामा कसले लगाइरहेको छ आगो ?
आगलागीका दुई घटना (कोलाज) ।

पोखरा । मध्यरातमा गाउँका टौवामा आगलागी हुन थालेपछि पर्वतको कुश्मा–२ खुर्कोटवासी त्रसित बनेका छन् । गएको मंसिर १४ गतेयता एक साताको अवधिमा एउटै गाउँमा चारवटा आगलागीका घटना भएका छन् । त्यसमध्ये तीनवटा घटना मध्यरातमा भएका छन् ।

स्थानीय गणेशबहादुर क्षेत्रीले मंसिर १४ गतेयता भएका आगलागीको बारेमा जानकारी दिएका छन् ।

कुश्मा नगरपालिका–२ (साविक खुर्कोट ८) मा पूर्णबहादुर क्षत्रीको परालको टौवामा रातको २ बजेर २४ मिनेट जाँदा अज्ञात समूहले आगो लगाइदियो । आगलागीबाट टौवा पूर्णरूपमा नष्ट भएको छ । घरसँगै जोडिएको टौवामा आगो लागेको थियो । तर, घरमा कुनै क्षति भएन ।

मध्यरात भए पनि स्थानीयले हारगुहार गर्दै र जिल्ला प्रहरी कार्यालय पर्वतको सहयोगमा आगो निभाए ।

समयमा नै आगो नियन्त्रणमा नआएको भए त्यसले सिंगो टोल नै सखाप हुने उनको भनाइ छ । स्थानीयका अनुसार टौवामा आगलागी हुँदा झन्डै एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पूर्णबहादुरको जसरी नै यसपटक आगलागीको निसानामा पर्‍यो किरन पौडेलले वस्तुभाउको आहाराका लागि व्यवस्था गरेको टौवा । पुरानै शैलीमा सबै सुतिरहेको अवस्थामा अचानक आगोको मुस्लो देखिएपछि स्थानीयकै सहयोगमा आगो नियन्त्रणमा आयो ।

डिल्लीराज शर्माको घरनजिकै रहेको टौवामा राति साढे २ बजे आगजनी भयो । शर्माका छोरा शिवराज शर्माले सामाजिक सञ्जालमा घटना विवरण लेख्दै शान्ति सुरक्षाको माग राखेका छन् । हाल विदेशमा रहेका उनले गाउँमा आमाबुवा सुतिरहेको अवस्थामा बाहिरबाट ढोका लगाइदिएर आगलागी गरिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “हाम्रो समाजका कोही मानवरूपी दानव यतिविधि विवेकहीन, क्रुर, निर्दयी, अमानवीय भइसकेछन् । आज राति झन्डै २.३० बजे हाम्रो घरमा बुबाआमा सुतेको कोठामा बाहिरबाट ताल्चा लगाई परालको टौवामा आगो लगाएर ध्वस्त बनाइदिएछ  । केही दिनदेखि हाम्रो छिमेकी र आफन्तको घरको परालको टौवामा आगो लगाउने अपराधीले यस्तो काम गरिरहेको छ । समाजमा ४ ओटा एउटै प्रकृतिका घटना दोहोरिइरहेका छन् । यस्ता अपराधिक क्रियाकलाप गर्ने अपराधीलाई प्रहरी प्रशासनले तत्काल पक्राउ गरी कानुनी कारबाही गरी समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एक पीडित परिवारको तर्फदेखि अनुरोध गर्दछु ।”

निरन्तर एकैप्रकृतिका सिलसिलेवर घटना दोहोरिएपछि स्थानीयले रातमा आलोपालो गस्ती गर्ने नियम बसाएका छन् ।

“१४ गते पहिलो घटना भएपछि हाम्रो गाउँमा निरन्तर गस्ती चलेको छ,” स्थानीय गणेशबहादुर क्षेत्रीले भने, “स्थानीयको गस्तीलाई सिभिल प्रहरीले पनि साथ दिँदै आएका छन् ।”

राति १० बजेदेखि बिहान ३ बजेसम्म गस्ती चलिरहेको छ ।

तर, एकपटक गस्ती सकिएपछि आगलागी भएको छ । “गस्तीको टोली राति २ बजे गएर सुतेछ, साढे २ बजे आगो लगाइदिए । सबै त्रसित छन्,” उनले भने ।

अपराधिक मानसिकता भएकै व्यक्तिले यस्तो कार्य गरिरहेको उनको आरोप छ । ज्यान मार्ने मनसाय पनि देखिएको र रातको समयमा सुतिरहेका परिवारलाई बाहिरबाट ढोका लगाइदिएर आगो लगाउनुले यसको पुष्टि भएको उनको भनाइ छ ।

आगलागी कार्यमा संलग्नलाई कारबाही नगरेसम्म घटना घटिरहने स्थानीय भनाइ छ । उनीहरूले टोलमा बत्ती राख्नुपर्ने, सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले घटनाको बारेमा अनुसन्धान गरिरहेको बताए ।

“हामीले ३–४ जना शंकास्पद व्यक्तिलाई ल्याएर सोधपुछ पनि गरेका छौँ, तर निष्कर्षमा पुग्न सकेका छैनौँ,” उनले भने ।

प्रहरीले मादकपदार्थ सेवन गरेर रातिमा हिँड्ने, लागुऔषध सेवन गर्नेदेखि लिएर चुरोट खाएर टौवामा फालेका कारण आगलागी भएको हो कि भन्ने कोणबाट अनुसन्धान गरिरहेको छ ।

“हामी निरन्तर निगरानीमा छौँ, विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ, दैनिक तारेखमा आउने गरी केही व्यक्तिलाई सोधपुछ पनि गरिरहेका छौँ,” उनले भने 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro