site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महामन्त्री गगन थापाको नयाँ पुस्ता जोड्ने ‘मिसन–०८२’ 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको गौरवमय इतिहासको विरासत बोकेको पार्टीलाई नयाँ पुस्तामा जोड्न ‘मिसन–०८२’ सार्वजनिक गरेका छन् । उनको ‘मिसन–०८२’ मा कांग्रेसका शीर्ष नेता विस्थापनदेखि नयाँ पुस्तालाई ‘गणतन्त्रको मुकुट’ देखाउनेसम्म छ ।

कांग्रेसले जनतालाई आफनो विरासत देखाउने काम जारी राखे पनि भविष्य देखाउने काम गर्न नसक्दा पार्टी नयाँ पुस्तासँग टाढिएको निष्कर्षसहित ‘आशा देखाउने’ योजनामा महामन्त्री थापा लागेका हुन् । ‘पुराना नेता’ हाबी हुँदा युवा पुस्तामा ‘पुराना दल’को भावना र निराशा पनि बढेको र यसमा शीर्ष नेताहरू बढी जिम्मेवार भएको विश्लेषण उनको छ ।

शनिबार लुम्बिनीमा कांग्रेसको प्रदेश सम्मेलनमा बोल्ने क्रममा थापाले नेतृत्वमा बस्नेहरूले ‘गणतन्त्रको मुकुट ढाकिदिएको’ विषय आफ्ना साथीले भनेको कहानीबाट सुनाए । कहानी सुनाउँदै गर्दा शीर्ष तहको नेतृत्व बदल्न नेता–कार्यकर्तासँग उनले साथ मागेका थिए । अर्को उनको आग्रह थियो– शीर्ष तहका नेतृत्वले बुद्धले जस्तै राजपाट छाडेर निस्कने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“केही दिनअघि (गुल्मीबाट फर्किएपछि) काठमाडौंमा एकजना युवक साथीले भन्यो– तपाईंहरू एकदम गणतन्त्रबारे चिन्ता गरिरहनुभएको छ । तपाईंहरूले चिन्ता गर्नु पर्दैन, एउटा काम गरे पुग्छ ।’’

“मैले के काम भनेर सोधेँ,” थापाले भने, ‘तपाईंजस्तो सिनियर नेताहरू (शेखर दाइ, चन्द्र दाइ, विश्व दाइसहित तपाईं) जो गणतन्त्रका लागि लडेर आउनुभएको छ । कांग्रेस आफैँले बोकेको राजाले लात हान्दाहान्दा हामी गणतन्त्रका निर्णयमा किन र कसरी पुग्यौँ, त्यो पुस्तालाई बुझाउनै पर्दैन । हाम्रो यो जुन पुस्ता छ, हामी ६० सालको आन्दोलनमा लडेर आएको पुस्ता हो । हामी यो निर्णयमा किन पुग्यौँ भन्ने हामीलाई राम्ररी थाहा छ । हाम्रो बारेमा धेरै चिन्ता गर्नु पर्दैन । चिन्ता हामीले गर्नुपर्ने भनेको ६० सालपछि जन्मिएका केटाकेटीबारे हो ।’

त्यसपछि थापाले त्यो पुस्ताको चिन्ता किन भनी सोध्दा तिनको भनाइ थियो, ‘तपाईंहरू २०६० सालपछिको पुस्तालाई के भन्दै हुनुहुन्छ ? ऊ त्यहाँ हेर्नुस्, गणतन्त्रको मन्दिर, त्यसको माथिपट्टि मुकुट छ । तपाईंहरू आफैँले लगाइदिएको मुकुट तपाईंहरूलाई राम्रो पनि लाग्छ । अनि, ती केटाकेटी यसो हेर्छन्, देख्दै देख्दैनन् । मुकुटै देख्दैनन् ।’

थापाले ती युवकको भनाइ उद्धृत गर्दै भने, ‘मुकुट कसले ढाकेको छ त भनी सोध्यो, त्यो मुकुटचाहिँ चार/पाँचजना शीर्ष नेताहरूले ढाक्नुभएको छ, देखिँदै देखिन्न मुकुट । मुकुट छोप्नुभएका शीर्ष नेताहरूलाई त्यसबाट ओराली दिनुभयो भने त्यो मुकुट उनीहरू आफैँले देख्छन् । जब मकुट देख्छन्, त्यसको राप पनि थाहा पाउँछन्, ताप पनि थाहा पाउँछन् । प्रकाश पनि पाउनेछन् ।’

त्यसपछि उनले ‘मुकुट सफा गर्ने’ काममा शीर्षदेखि तल्लो तहसम्मका सबैको सहयोग मागेर आफ्नो भनाइ राखे ।

“शीर्ष नेताहरूको सम्मान राख्दै पार्टीका नेताहरूप्रति ठूलो सम्मान भावका साथ यत्रो ठाउँसम्म उहाँहरूले ल्याइपुर्‍याउनुभयो,’’ थापाले भने, ‘‘तर, एकपटक सोच्नुस् त, (मैले अस्ति पार्टी सभापतिलाई पनि भनेँ) यो पार्टीभित्र तपाईंको पुस्ताका पनि साथीहरू हुनुहुन्छ, नयाँ पुस्ताका साथीहरू हुनुहुन्छ । विश्वप्रकाश शर्माले भनेजस्तै बुद्धका ती तमाम गुणहरू सम्झँदै आफ्नो सबै राजपाट छाडेजस्तै मैले बनाएको कांग्रेस पार्टी, यत्रो वर्ष संघर्ष गरेको पार्टी, यो पार्टीभित्र एकसे एक मान्छेहरू मैले जन्माएको छु, हुर्काएको छु, मैले उभिन, हिँड्न सिकाएको छु । यो पार्टीको मात्र होइन, देशको भारी यिनले बोक्न सक्छन् भनेर हाम्रो पार्टीका शीर्ष नेताले, हाम्रो पार्टीभित्र अरू पार्टीको शीर्ष नेताले अरू पार्टीभित्र भन्दै जाने हो भने पार्टी पनि बाँच्छ, देश पनि बच्छ, केही बिग्रन्न,” थापाले भने, “त्यो अवस्थामा हामीले कांग्रेस बनाउने हो, बनाउन सकिन्छ ।”

उनले पार्टीका सबै ‘साथी’हरूलाई सहयोगको आग्रह गर्दै तल्लो तहका नेताहरूले पनि जनतामा भरोसा दिलाउन सक्नुपर्ने बताए ।

थापाले भने, “तपाईंहरू सम्मेलनबाट फर्किएर जाँदै गर्दा कृपया मेरो अनुरोध छ– हामीले आफ्नै घरभित्र जति छलफल गर्नुछ, गरौँ । तर, यहाँबाट फर्किएर प्रदेशको प्रतिनिधि भएर आउनुभएका कांग्रेसको स्थानीय नेताले चोकचौतारो र सभामा उभिएर छाती ठोकेर जिम्मा लिन सक्नुपर्छ ।”

केही कमी–कमजोरी भएको उल्लेख गर्दै थापाले भने, ‘‘त्यसलाई हामी सुधार्छौँ, परिस्थिति सम्हालेर लिएर जान्छौँ भन्ने भरोसा तपाईंहरूले दिलाउन सक्नुपर्छ । यत्ति भरोसा दिलाउन सक्यौँ भने योभन्दा अगाडिका हाम्रा यात्रा सहजतापूर्वक हामीले गर्न सक्छौँ, सम्हाल्छौँ ।”

उनले कांग्रेसको विधानले व्यवस्था गरेको उमेदवारलाई टिकट बाँड्ने संसदीय समिति भंग गर्दै नयाँ पद्धतिमा जानुपर्ने भनाइ राखे ।

“कांग्रेसको विधानमा जुन संसदीय समिति भन्ने व्यवस्था छ, त्यसलाई हटाऔँ । प्युठानको कांग्रेसको सांसदको उमेदवार को हुने, प्युठानका हजारौँ साथीहरूले जसलाई छान्छ त्यो हुने, किन गर्न नसक्ने यो ?,’’ थापाले भने, ‘‘बुटवलको मेयर को हुने, बुटवलका कांग्रेसका साथीहरू बस्नुहुन्छ, छान्नुहुन्छ । निर्वाचन लड्ने उमेदवार छान्ने तरिका हामीले बदल्यौँ भने कांग्रेस फरक हुनेछ ।’’

कांग्रेससँग अति धेरै पुँजी भएको र त्यसको प्रयोग नभएको धारणा उनको थियो । थापाले भने, ‘‘नयाँ हेर्छु, पुरानो हेर्छ, पाको हेर्छु, युवक हेर्छु, वयस्क हेर्छु, गाउँको मान्छे हेर्छु, सहरको मान्छे हेर्छु, सबै जातजातिका मान्छे हेर्छु, यत्ति गजबको पार्टी देख्छु । यति धेरै योसँग इनर्जी छ, त्यो शक्तिलाई हामी संगठित गर्न सकिरहेका छैनौँ । त्यसलाई संगठित पार्ने यत्ति काम गरौँ ।”

उनले यसलाई कहिले होइन, अब र कसले नभएर हामीले गर्ने भन्ने भावनाका लागि पनि आग्रह गरे ।

“गर्दैगर्दै जाने, ०८२ सालमा महाधिवेशन गर्ने र महाधिवेशनबाट नयाँ व्यवस्था लिएर जाने,” थापाले भने, “०८२ सम्म जसले जहाँ पाएको छ, त्यहाँको जिम्मेवारी प्रभावकारी बनाउने । वडाध्यक्षले वडाको काम राम्रोसँग गर्ने । प्रदेशको मन्त्रीले प्रदेशमा काम गर्ने, सांसदले संसद्‌मा काम गर्ने, म जहाँ सांसद छु, मैले त्यहाँ काम गर्ने । जसले जहाँ पाएको त्यहाँको जिम्मेवारीमा काम गर्ने र कांग्रेस भएकोमा गर्व गर्न सक्ने बनाउने ।”

उनले त्यति काम गरे कांग्रेसलाई ‘पुरानो पार्टी’ भन्ने नयाँ पुस्ता नै नहुने बताए । त्यसपछि कांग्रेसले आफ्नो नभएर देशको भविष्यको मात्र चिन्ता गरे पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्