site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानसेनापतिको रोलक्रमका उपरथी अशोक सिग्देलको जन्ममितिबारे अख्तियारमा उजुरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोक सिग्देलको पनि जन्ममिति विवादमा परेको छ ।  जन्ममिति विवादकै कारण केही दिनअघि अर्का उपरथी ताराध्वज पाण्डेले राजीनामा गरेका थिए ।

पाण्डेको राजीनामा स्वीकृत हुँदा नहुँदै सिग्देलको जन्ममिति विवाद सतहमा आएको हो । उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक मिति देखिएपछि उनी विवादमा तानिएका हुन् ।  सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै यही मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ ।

नेपाली सेनाले गत शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरिएको र उनकाविरुद्ध उजुरी भए एक साताभित्र दर्ता आव्हान गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन् उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,” अख्तियारमा उपरथी सिग्देलविरुद्ध परेको उजुरीमा उल्लेख गरिएको छ । 

उजुरीमा उपरथी सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेरबारे आवश्यक छानबिन गरी कारवाही गर्न अख्तियारसँग माग गरिएको छ । 

Global Ime bank

“नेपाली सेनाका उपरथी अशोक सिग्देलको जन्ममितिका विषयमा आयोगमा उजुरी परेको छ,” अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बाह्रखरीसँग भने, “उजुरीलाई आवश्यक कारबाहीका लागि अघि बढाइएको छ ।”

यसअघि भावी प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादका कारण गत कात्तिक २३ गते राजीनामा दिएका थिए ।  उपरथीबाट रथीमा बढुवा हुने क्रममा उनको जन्ममितिलाई लिएर विवाद बढेपछि उनले पदबाट राजीनामा दिएका थिए । उपरथी पाण्डेले सम्भावित छानबिन र कारबाहीबाट जोगिन पदबाट राजीनामा दिएका थिए । 

पाण्डेले शैक्षिक प्रमाणपत्रमा दुई वर्ष घटाएको पाइएको थियो । सुरुमा उनको जन्ममिति २०२१ माघ १२ गते उल्लेख गरिएको भए पनि पछि केरमेट गरी २०२३ मंसिर २३ गते बनाइएको थियो ।  उनको वास्तविक जन्ममितिअनुसार उनले एक वर्ष ९ महिनाअघि अवकाश पाइसकेको हुनुपथ्र्यो । तर, उनलाई जंगी अड्डाले रथीमा बढुवा गर्न खोजेपछि उनको जन्ममितिको विवाद बाहिर आएको थियो । 

पाण्डेका जन्ममिति विवादलाई लिएर अख्तियारमा समेत उजुरी परेको थियो । सेनाका हकमा अख्तियार आफैँले छानबिन गर्न मिल्दैन । उसले रक्षा मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएको थियो । विवाद बढेपछि रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनाइएको थियो । समितिले छानबिनका क्रममा उपरथी पाण्डेले जन्ममितिमा कैफियत भेटेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

नेपाली सेनाका बलाधिकृत रथी सीताराम खड्काले आगामी पुसमा अवकाश पाउँदै छन् । उनको स्थानमा जंगी अड्डाले पाण्डेलाई बढुवा गर्न खोजेको थियो । तर उनको जन्ममिति विवाद बढेपछि कारवाहीबाट जोगिन उनले पदबाट राजीनामा गरेका थिए ।

पाण्डेले राजीनामा गरेपछि प्रधानसेनापति प्रभुराम शर्मापछि नेपाली सेनाको प्रधानसेनापति बन्ने रोलक्रममा उपरथी सिग्देल छन् ।  उनलाई बलाधिकृत रथी खड्काको स्थानमा बढुवा गर्न सेनाले सात दिने आन्तरिक सूचना गत शुक्रबार निकालेको थियो । तर, सिग्देलको पनि जन्ममितिलाई लिएर अख्तियारमा उजुरी परेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी सिग्देलको जन्ममितिका विषय सेनाभित्र हालसम्म उजुरी नपरेको बताए । 

नेपाली सेनामा यसअघि उपरथी ताराध्वज पाण्डे, उपरथी प्रेम शाही, सहायक रथी शैलेन्द्रशमशेर थापा, सहायक रथी कृष्ण गुरुङ, सहायक रथी गणेश कार्की, सहायक रथी हेम खत्री, सहायक रथी ज्ञानेन्द्रजंग रायमाझी, प्रमुख सेनानी प्रभुकृष्ण खड्का शैक्षिक प्रमाणपत्र तथा जन्ममिति विवादमा परिसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement