site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘पिपलपाते’ राजावादी ! 

काठमाडौं । खास राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेन ओझेलमा पर्दैछन्,  उनीमात्रै होइन कमल थापा पनि त्यसैगरी ओझेल परे । त्यो ठाउँ ‘पिपलपाते’हरुले लिँदैछन् ।

‘विवादित व्यवसायी’ दुर्गा प्रसाईंले राजतन्त्रको मुद्दा बोकेपछि सार्वजनिक रुपमै भनेका थिए, “पाँच अर्ब रुपैयाँ भन्दा बेसी ऋण लिएर, ब्याज नतिरेर, किस्ता नतिरेर अहिले त्यो आठ अर्ब कति पुगेको छ, कति पैसा विदेशमा पठाएर बसेको छ । त्यो मान्छेले बैंकको ब्याज नतिर्ने, ऋण नतिर्ने भन्दा ताली बजाएर कुद्छ मान्छे, अनि त्यस्तो मान्छेले, राजा ल्याइदिन्छ, उल्ले हिन्दु राज्य ल्याइदिन्छ भनेर कुद्छन् ल ! यस्तो पनि नेता हुन्छ, यस्तो पनि कार्याकर्ता हुन्छ ? यसरी पनि पार्टी चल्छ ?”

व्यवसायी प्रसाईंको आन्दोलनमा राप्रपाको भौतिक समर्थन नभएको भन्दै पार्टीभित्रै प्रश्न उठेपछि लिङ्देनले झापामा दिएको अभिव्यक्ति हो, यो । उनले त्यतिमात्रै नभएर पार्टीका नेताहरुको चरित्र–चित्रणसमेत गर्न भ्याए ।

Dabur Nepal
NIC Asia

“यति सामान्य कुरा त बुझ्नु प¥यो नि हाम्रा नेता कार्यकर्ताले, कुद्दै आएर हाम्रो अध्यक्ष किन आएन ? हाम्रो राप्रपाले किन समर्थन गरेन भन्छ, एउटा बैंक ठगलाई मैले समर्थन गरेर हिँड्नु, राप्रपाले समर्थन गरेर हिँड्छ ?,” प्रश्न गर्दै अध्यक्ष लिङदेनले भने, “त्यो बैंकको पैसा होइन हजुर, नेपाली जनताको पैसा हो, त्यो तपाई बचतकर्ताको पैसा हो । बैंक डुब्दा तपाईं हामी बचतकर्ताहरुको पैसा डुब्ने हो । बैंकबाट पैसा लिएर चोरबाट विदेशमा पैसा लाने र यहाँ पैसा नतिर्ने, अनि बैकको ऋण नतिर्ने भन्दा वा तिर्नै नपर्ने हो कि भनेर कुद्ने ?”

लिङ्देनले पार्टीभित्रका नेताहरुलाई त्यसो भन्दै गर्दा रवीन्द्र मिश्र भने पत्रकारमार्फत् लिङदेनलाई जवाफ दिँदै थिए ।

उनलाई प्रसाईंको छविमाथि प्रश्न गरेको मन परिरहेको थिएन ।

मिश्रले घुमाउरो पारामा लिङ्देनलाई पनि जवाफ फर्काउँदै भनेका थिए, “दुर्गा प्रसाईंजीको छवि खराब छ भनेर भन्नुभयो तपाईंले, यहाँ सयौैं हजारौ छवि खराब भएका मान्छे, जसले दिन–दिन तपाईंहरुको भविष्य बर्बाद गरिरहेका छन् । तिनीहरुको चाहिँ छवि खराब छैन, अनि उहाँलाई मात्र तारो बनाएको किन ? किन बनाएको उहाँलाई तारो ? उहाँले जे गर्दै हुनुहुन्छ, एकदम आँटका साथ गर्नुपर्छ, हामी सबैले सहयोग गर्नुपर्छ ।”

अध्यक्ष लिङदेन र वरिष्ठ उपाध्यक्ष मिश्रबीच दोहोरी चलिरहँदा पार्टीका प्रवक्ता र संसदीय दलकै प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रसाईंको आन्दोलनमै भाषण गर्न बल्खु पुगेका थिए ।

राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ अभियान नाम दिएर आन्दोलन थालेका प्रसाईंसँगै भाषण गर्न पुगेका शाहीले आन्दोलन सरकारको निषेधित क्षेत्र तोडेर अघि बढ्ने घोषणा गरे । 

भाषणसँगै आन्दोलनकारीका ‘नेता’ शाही बन्न पुगे । उनकै निर्देशनमा आन्दोलनकारी बल्खुबाट कालिमाटीतिर बढ्न खोजेपछि प्रहरीसँग झडप भयो । सँगै शान्तिपूर्ण भनिएको आन्दोलन एकाएक हिंश्रक बन्न पुग्यो । 

अश्रुग्याँसका सेल र पानीका फोहोराले बढ्दै गरेको जाँडोमा प्रदर्शनकारी निथ्रुक्क भए । आन्दोलनकारीलाई उकास्ने उनै शाही थिए । प्रसाईंले कतै आफूलाई नजरबन्द परेको त कतै सुरक्षाका कारण बाहिर ननिस्किएको फरक–फरक भनाइ राख्दै घरमै बसे । 

७ गते अघिसम्म प्रसाईले पाँच लाख जनता ल्याएर काठमाडौंका सडकमा उतार्ने भनेकाले सरकार पनि सतर्क बनेका देखियो । अझ त्यही समयमा टिकटक बन्द गरेपछि प्रसाईसँग सरकार डराएको आरोप पनि लागेका थियो । 

प्रसाईंको तडक–भडकसँगै आफ्नो स्वार्थ पूरा हुने सपना देख्दै साँच्चिकै पूर्व राजावादीहरूसमेत उद्धेलित भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह भने चूपचाप झापा पुगेका थिए । 

केही गणतन्त्रवादी नेताहरु तात्दैछन् । कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजालाई राजतन्त्र फर्काउने च्याँखे नथाप्न सुझाव दिँदै भनेका छन्, “राजा फर्काउँछु भनेर कोही आउँछ भने राजाले पनि जुवाको खालमा गएर च्याखे थाप्ने होइन, च्याँखे खालमा दाउ नराख्नुस् महाराज ।”

केही दिनअघि गुल्मी जिल्ला सम्मेलनमा महामन्त्री थापाले भने, “खेल्ने भए सीधै खालमा भिड्न आए हुन्छ, कांग्रेस तयार छ । बकाइदा भिड्न तयार छ । जाने पार्टी खोल्ने, चुनाव लड्ने, (हाम्रो संविधानले दिन्छ) बहुमत ल्याउने, संविधान बदल्ने फर्काउने ।” 

उनले कांग्रेसका कारण राजतन्त्र नगएको र पूर्व राजाकै बदनियतका कारण राजतन्त्र गएको बताए । उनले राजालाई हिन्दू धर्मसँग जोडिएको असन्तुष्टि पोख्दै नेपालमा शाह राजा हुनुभन्दा सयौँ वर्ष पहिलेदेखिका मन्दिर रहेको र धर्म रक्षाका लागि कुनै राजा नचाहिने बताए । 

उनले भने, ‘‘बरु पूर्व राजाहरुको छवि मूर्ति बेचेर कमाउनेका रुपमा चित्रित छ । त्यस्ताबाट धर्म रक्षाको अपेक्षा राख्नु मूर्खता हो ।’’ एमालेका सचिव योगेश भट्टराईले पनि महामन्त्री थापाले जस्तै पूर्वराजालाई संवैधानिक बाटोबाट आउन चुनौती गरेका छन् । 

“पूर्वराजालाई राजनीतिक अधिकार चाहिएको हो भने जस्केलबाट छिर्ने कोशिस नगर्न म आग्रह गर्छु,” सचिव भट्टराईले आइतबार ताप्लेजुङमा पत्रकारहरुसँग भने, “राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर आफू अध्यक्ष भई राप्रपामार्फत राजनीतिमा आए हुन्छ ।” 

नक्कली राजावादीको बिगबिगी 

जब हावा चल्न थाल्छ, पिपलको पात कुन अघिल्लो कुन पछाडिको भाग छुट्टाउन गाह्रो हुन्छ । त्यहीकारण कुनै विषयमा अडिग नरहने र छिटो–छिटो रंग बदल्नेहरुलाई पिपलको पातसँग तुलना गरिन्छ । भनिन्छ, ‘पिपलपाते’ ।

संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि केही समय मौन देखिएका राजतन्त्रवादीहरु तिनै ‘पिपलपाते’हरुलाई नेता बनाउँदै छन् । 

रवीन्द्र मिश्र, बीबीसी नेपाली सेवाबाट निवृत्त भएपछि ‘पत्रकार रवीन्द्र मिश्र’ बाट ‘नेता रवीन्द्र मिश्र’ बन्न राजनीतिमा होमिए । सुरुमा साझा पार्टी गठन गरेका मिश्रले पछि विवेकशील नेपाली पार्टीसँग एकता गरी विवेकशील साझा पार्टीको अध्यक्ष भए ।

अध्यक्ष भएपछि बीबीसीकै सहकर्मी भएर अवकास लिएका सुमन खरेलले संचालन गर्ने कार्यक्रममा मिश्रले आफू राजा वा राजतन्त्रवादी नबन्ने घोषणा गरेका थिए ।

आफ्नै सहयात्री खरेलले मिश्रको विगत दृष्टिकोण राम्रैसँगै बुझेका थिए । खरेलले सोधेका थिए, ‘‘अब तपाईं ‘राजतन्त्र कि गणतन्त्रवादी’ ?’’ मिश्रले ‘तर’ या ‘पनि’ केही नजोडीकन भनेका थिए, “बाजेले घिऊ खाएको थिए, मेरो हात सुँघ भन्ने व्यवस्थाको पक्षमा म छैन । म गणतन्त्रवादी हुँ ।’’

त्यतिमात्र होइन चुनावमा भाग लिनुअघि पार्टीको प्रतिवद्धता सार्वजनिक गर्ने क्रममा त उनले पटक–पटक व्यवस्था परिवर्तन देशको हित अनुकूल नहुने भन्दै संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई सम्बोधन गरेर अघि बढ्ने बताएका थिए ।

उनकै शब्द थिए–संविधानको त्यो प्रावधान उल्टाएर फेरि यो देशलाई धेरै वर्षसम्म अस्थिरताका दिशामा लैजानु हुँदैन भन्ने हाम्रो पार्टीको धारणा हो । कतिचोटी, कति कति वर्षमा, महिनामा सरकार र संविधान फेरिरहने ? विकास समृद्धिको दिशामा अघि बढ्नै पर्दैन ?” 

उनै मिश्र आफ्ना संगतका राजावादीलाई आकर्षित गर्न ‘मार्ग परिवर्तन विचारभन्दा माथि देश’ नामको किताब प्रकाशनपछि पार्टी छाड्न बाध्य भए । त्यसपछि उनी राजावादीहरुको दल राप्रपा प्रवेश गरेका हुन् ।

विवेकशील पार्टीका नेताहरुले विभाजन आरोप लगाएका थिए, “रवीन्द्र मिश्र जहाँ जान्छन्, त्यहाँ भाँडभैलो मच्चिन्छ ।” दुर्गा प्रसाईंको आन्दोलनका सवालमा अध्यक्ष लिङ्देनसँग स्पष्ट बाझिने उनको धारणाले ‘भाँडभैलो’कै संकेत गर्दैछ ।

यतिखेर गणतन्त्रले काम गर्न नसकेको भन्दै राजतन्त्रको नारा लगाउँदै सडकमा मान्छे उतार्ने दुर्गा प्रसाईं केही समयअघि राजतन्त्रको खरो आलोचक थिए । एक वर्ष अघिसम्म उनै प्रसाईं पूर्वराजा ज्ञानेन्द्रको तीस अर्ब रुपैयाँ विदेशी बैंकमा रहेको दाबी गर्दै थिए ।

“पूर्वराजाको तीस अर्ब रुपैयाँ विदेशमा छ । सोल्टी होटलमा लगानी गर्न भनेर लगेको पैसा पूर्वरानी कोमलको खुट्टा भाँच्चिएपछि साइत परेन भनी लगानी नगरी आए,” गतवर्ष असोज १० मा हिमशिखर टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका थिए, “राजाका ज्वाईं छन् नि राजबहादुर सिंह, उनको २४, २५ सय करोड रुपैयाँ बर्मामा छ ।”

उनले त्यस्तो सूचनाको स्रोत के हो भन्ने प्रश्नमा आफैँ त्यहाँ बुझेर आएको बताएका थिए ।  नेपालमा गणतन्त्र घोषणापछि एक्ला राजावादी बनेका थिए, कमल थापा ।  केपी ओली शर्मा सरकार रहँदा संघीयता कार्यान्वयन कार्ययोजना निर्माणमा जुटेपछि उनलाई पूर्वराजा र निकटहरुको समर्थन गुमेका थियो । 

जसको बदलामा राप्रपा महाधिवेशन अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित हुन पुगे । उनले राजपरिवारले आफूलाई राप्रपामा हराउन भूमिका खेलको भन्दै राजतन्त्रको मुद्दा नबोक्ने तर संघीयता र धर्म निरपेक्षताविरुद्धमा सनातन हिन्दू धर्म सापेक्ष रहने पार्टीको मुद्दा बनाएका थिए । 

तर पछि गणतन्त्रवादीहरूले सामान्य नोटिसमा समेत नराखेका कारण आफ्नो पहिचान कायमै राख्न आफू पुरानै धारमा फर्किएको थापाले बताउँदै आएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro