site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इलामका प्रशिक्षक केसी भन्छन्– आर्थिक मन्दीको असर टिममा पनि पर्‍यो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसीका मुख्य प्रशिक्षक मेघराज केसीले देशको आर्थिक मन्दीको असर टिमको प्रशिक्षणमा पनि परेको बताएका छन् ।

प्रतियोगिताको दुई दिनअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक केसीले राष्ट्रिय टिमको प्रशिक्षण, दसैँ–तिहार र नेपालको आर्थिक स्थितिले टिमको प्रशिक्षणलाई प्रभावित बनाएको बताएका हुन् ।

“व्यावसायिक प्रशिक्षक र खेलाडी भएपछि एक क्बलमात्र भन्ने हुँदैन । जहाँ राम्रो हुन्छ त्यहाँ जाने हो । एनएसएल नेपालमा दोस्रोपटक हुँदै छ । यसप्रकारको फुटबलमा हामी आफैँ सिक्दै छौँ । सिक्ने कुरामा जुन क्लब भए पनि फरक पर्दैन,” प्रशिक्षक केसीले भने, “करिब तीन हप्तादेखि तयारी गरिरहेका छौँ । राष्ट्रिय टिम, चाडबाड र नेपालको आर्थिक मन्दीले गर्दा प्रशिक्षणमा केही फरक परेको छ । आम्दानी कम र खर्च ज्यादा भएकाले पनि तयारीमा असर परेको जस्तो लाग्छ ।”

उनले प्रतियोगिताका लागि तयारी आशअनुरूप भएको भन्दै टिमको तालमेल राम्रो रहेको बताए ।

“टिममा व्यावसायिक खेलाडी छन् भने सेट गर्न दुई हप्ता पनि पर्याप्त हुन्छ । हाम्रो टिममा विदेशी खेलाडी पनि योङ छन् । नेपाली खेलाडी पनि राम्रो छन् । हाम्रो तयारी सबै राम्रो छ, टिमको तालमेल राम्रो मिलिसक्यो । क्लबको आर्थिक स्थिति सहिद स्मारक 'ए' लिग खेलिरहेका क्लबभन्दा राम्रो छ,” उनले थपे ।

यस्तै, टिमका मार्की खेलाडी विकेश कुथुले क्लबलाई प्रतियोगिताको च्याम्पियन बनाउने लक्ष्य रहेको बताए ।

“गत सिजन काठमाडौंबाट स्टार जित्यौँ । यस पटक इलामबाट पनि स्टार जित्ने लक्ष्य छ । इलामले मलाई रोजेकोमा प्रशिक्षक र क्लबलाई धन्यवाद । म क्लबको विश्वास फिर्ता गर्ने छु,” विकेशले भने ।

मंसिर ८ गतेदेखि पुस १४ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ९ टिम सहभागी छन् । प्रतियोगिताको यस सिजन काठमाडौंसँगै, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्ने छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro