
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मंसिर ७ गते काठमाडौंमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकारअनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरिएको छ ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधारस्तम्भहरू भएको स्मरण गराउँदै नेपालको वर्तमान राज्यसंरचना र संविधानविरोधी क्रियाकलापप्रति इन्सेकले विज्ञप्तिमार्फत असहमति जनाएको हो ।
पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधानसभाबाट जारी भएको नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा संगठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन र पाँचजनाभन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । रासस