site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मर्जरपछि आशा लघुवित्तमा विवाद, कर्मचारी आन्दोलनमा 

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि अहिले राष्ट्र उत्थान लघुवित्तबाट आशामा समाहित भएका कर्मचारीहरू आन्दोलनरत छन् । 

उनीहरूले ११ बुँदे माग राख्दै आफ्नो आन्दोलन घोषणा गरेका छन् ।  मंसिर ४ गतेसम्म आफ्ना मागहरू पुरा नगरे कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् ।  यसरी चुनौती दिनेमा राष्ट्र उत्थानबाट आशा लघुवित्तमा आएका ३१२ कर्मचारीमध्ये २०० जना छन् । 

उनीहरूलाई व्यवस्थापन टिमले निरन्तररूपमा दबाब दिएको भन्दै अहिलेको नेतृत्त्वसँग काम गर्न नसक्ने बताउँदै आएका छन् ।  राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपछि बनेको आशा लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जया लोहनी थिइन् । 

Argakhachi Cement Island Ad

उनी राष्ट्र उत्थान लघुवित्तको तर्फबाट सीईओ बनेकी हुन् ।  तर, आशा लघुवित्तको पक्षबाट बनेका सञ्चालक समितिले सीईओ लोहनीको प्रस्तावलाई बेवास्ता गरेपछि उनले कात्तिक २४ गते राजीनामा दिएको स्रोतको दाबी छ ।

कर्मचारी व्यवस्थापन नगरी उनको राजीनामा सञ्चालक समितिको बैठकले हतारहतार स्वीकृत गरेको भन्दै राष्ट्र उत्थानबाट आएका कर्मचारीले आपत्ति जनाएका छन् ।  लोहनीको राजीनामा स्वीकृत भएपछि अहिले निमित्त सीईओको जिम्मेवारी बद्रीप्रसाद दुलालले पाएका छन् । 

“राष्ट्र उत्थानबाट आशामा अएका कर्मचारीलाई लक्षित गरी अभद्र व्यवहार पहिलेदेखि नै भएको थियो । तर, पछिल्लो समय शाखा कार्यालय भिजिटको निहुमा हामीमाथि दुःख दिने काम भयो,” आन्दोलनरत एक कर्मचारीले बताए, “अब हामी उहाँसँग काम गर्न सक्दैनौं ।”

तर, आफूहरूको पक्षबाट त्यस्तो दुर्व्यवहार नभएको निमित्त सीईओ दुलालले बताए । 

“अहिले कर्मचारी मित्रहरूले जे गरिरहनु भएको छ, त्यो गलत गरिरहनु भएको छ । आफ्नै कर्मचारीमाथि यस्तो व्यवहार मेरो नैतिकताले पनि दिँदैन । म आशाको मात्र हैन । पहिले पनि प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेको छु । मैले सीईओ चलाको साढे आठ वर्ष भयो,” उनले भने, “मिर्मिरेमा करिब दुई वर्ष । आशामा साढे ६ वर्ष मैले सीईओ चलाइसकेको छु । यो सरासर झुट फैलाउने काम भएको छ ।” 

सेवा सुविधाको कुरा पहिले नै एमओयूमा गरिएको व्यवस्थाअनुसार गरिएको पनि उनले बताए ।  एक वर्षभित्र कर्मचारीको सेवा सुविधामा एकरूपता बनाउने सहमति भएको भए पनि अहिले नै कर्मचारीले नै चरित्र हत्या गर्ने काम गरेको उनले बताए । 

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त एक आपसमा मर्जरमा जाने कुरा भएको भए पनि आशा लघुवित्तले पछि प्राप्ति गर्ने र प्रस्तावित नाममा पनि हेरफेर भएकोमा कर्मचारी र सञ्चालकहरू नै असन्तुष्ट देखिएका छन् । 

राष्ट्र उत्थानका एक पूर्व सञ्चालकका अनुसार विशेष साधारण सभाले राष्ट्र आशा लघुवित्त वित्तीय संस्था नाम राख्ने भनिएको भए पनि जालझेल गरेर आशा मात्र नाम आएको हो । 

“हामीले राष्ट्र आशा लघुवित्त वित्तीय संस्था नाम राख्ने भनेर एमओयू भएको थियो । तर, नाम पनि आफ्नै कायम गर्नु भयो । अहिले हाम्रा कर्मचारीलाई पेल्नु भएको छ,” उनले भने, “दुवै संस्थाका कर्मचारीलाई समान व्यवहार र सेवा सुविधा दिनुपर्नेमा अहिले उहाँहरूले पेल्न थाल्नु भएको छ । कर्मचारीले त्यसको प्रतिकार गरेको जस्तो लाग्छ ।” 

आशा र राष्ट्र उत्थानलाई एकीकृतरूपमा कारोबार सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले २०८० असार २२ गते स्वीकृति दिएको हो ।  त्यस्तै नेपाल धितोपत्र बोर्डले असार २६ गते एकीकृत कारोबार गर्न स्वीकृति दिएको थियो । 

सोहीअनुसार यी दुई कम्पनीले एक आपसमा असार ३१ गतेदेखि एकीकृत रूपमा कारोबार गरेका हुन् ।  आशाले १ः१ को सेयर स्वाप रेसियोमा राष्ट्र उत्थानलाई प्राप्ति गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्