काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको जानकारी दिए । “उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन,” उनले भने, “अबको दुई/तीन घण्टामा वर्षा रोकिएर काठमाडौंको आकाश खुल्नेछ ।”
पछिल्लो एक घण्टामा काठमाडौंबाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालीकोटमा हल्का वर्षा भएको झाले बताए । मौसमी प्रणाली क्रमिक रूपमा सुधार आई आइतबारदेखि मौसम सफा हुँदै जाने उनले जानकारी दिए ।
आज बिहान लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ । रासस