site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
फेसबुक, टिकटक र ह्वाट्सएपको दुरूपयोग, चार महिनामै छ हजार बढी उजुरी

काठमाडौं । सामाजिक सञ्जाल ‘टिकटक’मा यतिखेर एउटा भिडियो भाइरल छ ।  ‘टिकटक संसार’ नामक आईडीबाट पोस्ट भएको उक्त भिडियोमा एउटा महिलासँग एमाले नेता महेश बस्नेत जस्तै पुरुष देखिन्छन् ।

कसैको बेडरुम जस्तो देखिन्छ । भिडियो महिलाले सेल्फी क्यामेरा प्रयोग गरी खिँचेको देखिन्छ । महिलाले भिडियो खिँचेको चाल पाएपछि ती पुरुषले सिरकले आफ्नो अनुहार छोप्छन् ।

उक्त भिडियो भाइरल भएपछि महेश बस्नेतले उक्त भिडियोबारे स्पष्टीकरण दिनुपरेको छ । बस्नेतले मंगलबार फेसबुकमार्फत भिडियोबारे खण्डन गरेका छन् ।

उनको टिप्पणी छ, “मलाई बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) प्रयोग गरेर इडिट भर्सनबाट फेक भिडियो बनाएर मेरो चरित्रहत्या गर्ने हर्कत भएको छ । प्रहरीकोमा कारबाहीको प्रक्रिया अघि बढाइएको छु । यथार्थ बाहिर आउने छ ।”

०००

दैलेखका गीता थापा (नाम परिवर्तन) को न्युरोडमा मोबाइल पसल छ । मोबाइल पसल भएकाले पसलमा ग्राहक पुग्ने नै भए । करिब चार महिनाअघि गीताका चिनजानकै साथी दैलेख महाबु गाउँपालिका–२ का ३९ वर्षीय तुलाराम सारु छिरे ।

उनी मोबाइल किन्न होइन कि चिनजानकै साथी भएकाले सीमकार्ड निकाल्न उनको नागरिताको फोटो कपी माग्न पुगेका थिए । गीताले पनि चिनेकै साथी भएकाले नागरिताको साटो आफ्नै नामबाट निकालेको सीमकार्ड दिइन् । 

तुलाराम र गीताको सम्बन्ध त्यसपछि झन् गाढा बन्दै गयो । उनी केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए । 

सम्बन्ध बढ्दै गएपछि अविवाहित गीतालाई तुलारामले बिहेको प्रस्ताव नै राखे । गीताले मौन समर्थन गरिन् । उनीहरुको भेटघाट मात्रै बाक्लिएन, बिस्तारै म्यासेन्जरमार्फत समेत घण्टौं भिडियो कल हुन थाल्यो । 

भिडियोमा उनीहरु दुवै जना अश्लिल हर्कतसमेत गर्न थाले । त्यो भिडियो तुलारामले स्क्रिन रेकर्ड गरेर राख्थे । त्यसबारे गीता अनभिज्ञ थिइन् । जब तुलाराम र गीताबीच सम्बन्ध खटपट हुन थाल्यो । 

त्यसपछि तुलरामले त्यही स्क्रिन रेकर्ड देखाएर ‘ब्ल्याकमेलिङ’ गर्न थाले । त्यसपछि गीताले तुलरामलाई आफ्नो फेसबुकबाट हटाइन् । तर, तुलरामले ‘फेक फेसबुक’ आइडी खोली ती भिडियो गीताका आफन्तलाई पठाउन थाले । तुलरामको हैरानीपछि उनी प्रहरीको साइबर ब्यूरो पुगिन् ।

प्रहरीले तुलरामलाई पक्राउ गरी कानुनी दायरामा ल्यायो ।  गत २३ साउनमा पक्राउ परेका उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । मुद्दा जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ ।

०००

सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमार्फत ‘लक्की ड्र’को नाममा ठगी गर्ने दुई जना पक्राउ परे । 

दुवै हाल पुर्पक्षका लागि थुनामा पुगेका छन् । प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेका पर्सा बहुदामाई नगरपालिकाका राजकुमार पण्डित र रौतहट कटहरीयाका उमेशकुमार यादव थुनामा पुगेका हुन् । उनीहरुलाई प्रहरीले गत ५ भदौमा पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार, यादव र पण्डितले अनेक व्यक्तिलाई ‘जमजम इलेक्ट्रोनिक’मार्फत तपाईं ‘लक्की’ हुनुभयो आइफोन जित्नुभयो भन्दै आइफोन निम्ति भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख गरी रकम पठाउन लगाएर ठगी गर्ने गरेको खुलेको थियो ।

प्रहरीले उनीहरुको साथबाट ठगीको ४९ लाख ९५ हजार सात थान मोबाइल ९८३ सीमकार्ड १२ थान एटीएम कार्ड बरामद गरेको थियो ।

चार महिनामै करिब सात हजार उजुरी

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । प्रहरीको साइबर ब्यूरोमा सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपलगायतका माध्यमबाट ठगी परेका तथा चरित्र हत्या भएको जिकिरसहित दैनिक सयौँको संख्यामा उजुरी पर्ने गरेको छ ।

पछिल्लो समय ‘टिकटक’मार्फत आपराधिक गतिविधि बढेको जनाउँदै सामाजिक सञ्जालको नियमन आवश्यक भएको निस्कर्षमा गृहमन्त्रालय पुगेको छ । 

मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद पौडेलले आइतबार जारी विज्ञप्तीमा भनिएको छ, “सामाजिक सञ्जाल व्यक्तिगत जीवनको अभिन्न अंग जस्तै भएपनि सामाजिक सञ्जालमा सम्प्रेषण हुने गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्छ । कतिपय कुराले व्यक्तिको चरित्रहत्या हुन पुगेको छ ।”

त्यस्ता पोष्ट हटाउने र पोस्ट गर्ने व्यक्तिलाई पहिचान गरी कारबाहीको दायरमा ल्याउने गृहको तयारी छ । साइबर ब्युरोको तथ्यांकले सामाजिक सञ्जालको दुरुपयोग आम मानिसलाई झस्काउने खालको छ ।

ब्यूरोका एसपी पशुपतिकुमार रायका अनुसार, चालु आर्थिक वर्षको चार महिनामा मात्रै ब्यूरोमा ६ हजार १६० उजुरी परेका छन् ।  साउन यतामात्रै सामाजिक सञ्जाल फेसबुक, टिकटक, म्यासेन्जर, इन्स्टाग्राम, गुगल, इमेल, इमो, हट्सएप, भाइवर, टेलिग्राम, वीच्याट, युट्युब, ई–सेवा, र खल्तीविरुद्ध उक्त उजुरी परेका हुन् ।

यसरी उजुरी परेकामध्ये २९ जनाविरुद्ध मुद्दा चलिसकेको छ ।  केही अझै अनुसन्धानकै क्रममा र केहीको हकमा उजुरीकर्ता र पीडक पक्षबीच सहमति भएपछि उजुरी फिर्ता भएका छन् ।

एसपी राय भन्छन्, “चरित्र हत्यादेखि ‘ब्ल्याकमेलिङ’का घटना अधिकांश चिने–जानेकाबाट नै हुन्छ । उजुरी पनि त्यस्तै आउने गर्छन् । युवा–युवतीबीच मिलन हुँदा बनाइएका भिडियो सम्बन्ध बिग्रेपछि दुरुपयोग हुने गर्छन्, त्यसपछि वाध्य हुँदै उजुरीसहित हामी कहाँ आइपुग्छन् ।”

कतिपय उजुरीपछि पीडित पक्ष र पीडक पक्षबीच गल्ती नदोहोर्‍याउने गरी सहमतिमा उजुरी फिर्ता लिने गरेको जानकारी रायले दिए ।  ब्यूरोको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा नौ हजार १३ उजुरी परेको परेको थियो ।

सबैभन्दा बढी फेसबुकमार्फत्

ब्युरोको तथ्यांकअनुसार, सामाजिक सञ्जालमार्फत हुने अपराधको आधा भन्दा बढी अपराध फेसबुकमार्फत् हुने गरेको देखिएको छ ।  चालु आर्थिक वर्षको चार महिनामा परेको कुल ६ हजार १६० उजुरीमध्ये फेसबुकमार्फत पीडित भएको भन्दै चार हजार ३७८ उजुरी परेका छन् ।

त्यस्तै दोस्रोमा टिकटकमार्फत् चरित्रहत्या भएको भन्दै उजुरी परेको छ । टिकटकमार्फत् पीडित भएको भन्दै ७०४ जनाले ब्युरोमा उजुरी दिएका छन् ।  यसरी नै म्यासेन्जरमार्फत् १३०, इन्स्टाग्राममार्फत् २५९, ह्वाट्सएपमार्फत् ३४२ जनाको उजुरी परेको छ ।

यसरी उजुरी परेकामध्ये धेरै जसो कानुनी कारबाहीभन्दा बाहिर रहने गरेका छन् । गत वर्ष उजुरी परेको नौ सय १३ मध्ये १३५ मुद्दा मात्रै अदालती प्रक्रियामा पुगेका छन् ।अझै धेरै कानुनी दायराबाहिर छन् । चालु आर्थिक वर्षको चार महिनामा समेत जम्मा २९ मुद्दामात्रै अदालत पुगेको छ । 

नेपालमा साइबर कानुनको अभावमा धेरै कानुनी दायरामा ल्याउन कठिन भएको ब्युरोका एसपी रायको भनाई छ । त्यसबाहेक सामाजिक सञ्जालका आधिकारिक निकाय नेपाल बाहिर हुँदा समन्वय गर्न प्रहरीलाइ कठिन भएको हो । 

हाल साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् हुने अपराध नियन्त्रण गर्न विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा कारबाही गर्दै आएको छ । साइबर ब्यूरोबाहेक प्रहरीको अन्य कार्यालयहरुमा पनि सामाजिक सञ्जालबाट हुने अपराधका उजुरी सबैभन्दा बढी आउने गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro