site stats
बाह्रखरी :: Baahrakhari
देश
१२ वर्षअघि नबिल बैंकबाट लुटिएको दुई करोड ३० लाखबारे प्रहरीले फेरि थाल्यो अनुसन्धान

काठमाडौं । १२ वर्ष अघि देश संघीयतामा गएको थिएन । हाल कायम सात प्रदेशको संरचना नबन्दासम्म पाँचवटा विकास क्षेत्रबाट प्रशासनिक काम कारबाही हुन्थ्यो । त्यो बेला सुदूपश्चिमाञ्चलको मुकाम दिपायल थियो । क्षेत्रीय प्रहरी कार्यालय भने धनगढी थियो ।

अञ्चलको सबै सुरक्षा व्यवस्थाबारे निर्देशन क्षेत्रीय प्रहरी कार्यालय कैलालीबाट नै हुन्थ्यो । कार्यालय प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रमुख हुन्थे । त्यतिबेला नै तराईका जिल्ला कैलाली कञ्चनपुर सुरक्षाका दृष्टिकोणले भरपर्दो जिल्लाका रुपमा मानिन्थ्यो । 

हाल संघीयतापछि पनि प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमै छ । तर, क्षेत्रीय प्रहरी कार्यालय हुँदै कैलालीमा हुँदा र त्यतिबेला नै सुरक्षित मानिने कैलालीको मालाखेतीमा भएको नबिल बैंकको रकम लुटपाट घटनाको १२ वर्ष पूरा हुँदा पनि पत्तो लागेको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अझ देश संघीयतामा पुग्दा पनि प्रहरीले अहिलेसम्म उक्त लुटपाट घटनाको ‘क्लु’ नै फेला पार्न सकेको छैन ।

घटनाको अनुसन्धान गर्न त्यही बेला क्षेत्रीय प्रहरी कार्यलयले अनुसन्धान समिति नै बनाएर अनुसन्धान गरेको थियो । त्यो बाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोेलीसमेत घटनाको अनुसन्धानका लागि काठमाडौंबाट नै खटिएको थियो ।

सीआईबीले पनि सुइँको नपाइ फर्कियो । यो बीचमा दर्जन प्रहरी टोली अनुसन्धानमा खटिएका छन् । तर, हालसम्म अनुसन्धानको परिणाम शून्य छ ।

कैलाली प्रहरी स्रोतका अनुसार नबिल बैंक लुटपाट घटनाको अनुुसन्धान फेरि सुरु गरिएको छ । 

अनुसन्धानमा खटिएका एक अधिकारीले भने,‘‘हामीले नबिल बैंकको रकम लुट्ने समूहबारे पुनः अनुसन्धान थालेका छौँ । पहिले गरेको अनुसन्धानको फाइलका आधारमा पुनः सोधपुछ र शंकास्पद मानिएका मानिसबारे फेरि अनुसन्धान थालेका हौँ । केही रिजल्ट आउनेगरी हामी लागेको छौँ ।’’

यस्तो थियो घटना ?

२०७० मंसिर २५ गते दिउँसो म १ ज १४८ नम्बरको एउटा गाडी कञ्चनपुरको महेन्द्रनगरबाट कैलालीका लागि गुडेको थियो । गाडी नबिल बैंकको थियो । उक्त गाडीमा चालकसहित बंैकका कर्मचारी र एकजना गार्डसमेत थिए ।

त्यही गाडीमा बैंकको २ करोड ३० लाख रुपैयाँ थियो । उक्त गाडी तत्कालीन मालाखेती गाविस चौकीडाँडा पुगेपछि अपरिचित पाँचजनाको समूहले रोक्यो । खुकुरीसहित गाडीको सुरक्षाका लागि बसेका गार्ड हलचल गर्न नै पाएनन् । ट्राफिक प्रहरीको भेषमा रहेका अपरिचित युवाहरुको समूहले चालकको लाइसेन्स हेर्ने नाममा गाडी रोेकेका थिए । 

तर, गाडी रोकेपछि भने उनीहरुले पेस्तोल देखाएर गाडीभित्र राखिएको रकम लुटपाट गरेर भागे । नबिल बैंकको उक्त रकम महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न गाडीमा राखेर ल्याइएको थियो ।

महेन्द्रनगरबाट एकघण्टा गाडी गुडेपछि भने पाँचजनाको समूहमा रहेका युवाहरुले सबै रकम लुटेर भागेका थिए । 

यसरी बैंकको रकम लुट्ने पाँचजनाको समूहबारे अझै प्रहरी बेखबर छ । तर, पछिल्लो समय पुनः प्रहरीले नबिल बैंकको रकम लुटपाट गर्ने समूहको अनुसन्धानमा जुटेको छ । त्यसका लागि कैलाली प्रहरीले अनुसन्धान थालिसकेको एक अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुुसार त्यो बेला गाडी चालकका रुपमा दिलबहादुर चन्द, सुरक्षा गार्डका रुपमा गंगादत्त भट्ट थिए । सत्यमान तामाङ सहायक कर्मचारी र शुक्रराज भट्टराई आन्तरिक अडिटर थिए ।

भट्टराई मंसिर १३ गतेमात्रै काठमाडौंबाट महेन्द्रनगर पुगेका थिए । उनीहरुलाई पाँचजनाको समूहमा रहेका लुटेराले नियन्त्रणमा लिएका थिए । पाँच जनामध्ये दुईजना ट्राफिक प्रहरीको पोसाकमा, एक जना हेल्मेट लगाएका र उभिएको तथा दुईजनाले कालो मास्क लगाएर बसेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्