site stats
बाह्रखरी :: Baahrakhari
देश
के हो मस्तिष्कघात, कस्ता व्यक्ति जोखिममा हुन्छन् ?

काठमाडौं । पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात अर्थात् स्ट्रोक मृत्युको प्रमुख कारण बनेको छ । रगत आपूर्ति गर्ने धमनीहरू फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै जमेर वा अन्य कारणले रक्त नली थुनिन गई स्नायु तन्तुहरूमा अक्सिजनलगायतका तत्वहरू आपूर्ति हुन नसकेको र तन्तुहरू मरेको अवस्था मस्तिष्कघात हो । 

सामान्यतया बिहानी समयमा यो समस्या देखिन्छ । सुतेको अवस्थामा रक्तसञ्चार सामान्य रहन्छ भने उठेर चल्दा हुने परिवर्तनले यो समस्या निम्त्याउन सक्ने बताउँछन् वरिष्ठ न्युरोसर्जन डा. राजिव झा । 
त्यस्तै, शरीरले थेग्न नसक्ने व्यायामले पनि यो समस्या निम्त्याउन सक्ने उनको भनाइ छ ।

कस्ता कस्ता व्यक्तिलाई हुन सक्छ मस्तिष्कघात ? 

डा. झाका अनुसार उच्च रक्तचाप भएका व्यक्ति मस्तिष्कघातको पहिलो जोखिम वर्ग हुन् । कब्जियत भइरहने व्यक्तिहरूमा पनि यो समस्या देखिन सक्छ । नेपालको हकमा मस्तिष्कघात आम समस्या हो ।

उच्च रक्तचापको जाँच नगर्ने अभ्यास, उच्च रक्तचाप भएका बिरामीले औषधिमा हेलचेक्र्याइँ गर्नेजस्ता पनि स्ट्रोकका कारण हुन् । त्यसका साथै अत्याधिक मादक पदार्थ सेवन गर्नाले पनि नेपालीमा यो समस्या धेरै देखिएको डा. झाको अनुभव छ ।  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्