site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘अहिलेसम्म राहत पाएको छैन, बाँच्ने कसरी, बचाउने कसरी ?’ 

हेमन्त केसी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–६, गराग्लीका शेरबहादुर रावलले शुक्रबार राति अकल्पनीय रूपमा गएको भूकम्पले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकैपटक गुमाउनुपर्दाका पीडामा उनी छन् ।

दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा उनले परिवारका अधिकांश सदस्य गुमाए । उनको सातजनाको परिवारमध्ये तीन मात्र मृत्युको मुखबाट बाँच्न सफल भए । शेरबहादुरका पिता कृतिबहादुर र छोरी स्मृति गम्भीर घाइते भएका छन् । दाजु विवश घरबाहिर भएका कारण ज्यान बचेको छ ।

शेरबहादुरले भने, “मैले अहिलेसम्म राहत पाएको छैन ।”

घर भत्किएर तहसनहस भएपछि किरियापुत्री समेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायत सामग्री नपाएको उनले बताए । उनले दुखेसो पोखे, “सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।”

नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पाल आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले २५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताए ।

एकद्वार प्रणालीका नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भने, “नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरी सक्छौँ ?”

नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पुर्‍याएको छ । “तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन,” नलगाड नगरपालिका–६ का किशोर रावलले गुनासो गरे, “मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन, बरु मर्ने सम्भावना बढ्यो ।”

नलगाड नगरपालिकाको तथ्यांकानुसार ६८ घाइते भएका र ५४ जनाको मृत्यु भएको जनाइएको छ । 

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१, रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ । भूकम्पपीडित बस्तीमा सञ्चार सेवा समेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताए । धेरैपटक टावर माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१, रामीडाँडा, सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६.४ म्याग्निच्युडको भूकम्पको झट्काले दलबहादुरसँगै सिंगो बस्तीको निद्रा बिथोलियो ।

भूकम्पको कम्पन नसकिँदै ज्यान जोगाउन झ्यालबाट हामफालेर भागेको उनले सुनाए । परिवारका सबै सदस्य कताबाट बाहिरिए आफूलाई अत्तोपत्तो नभएको उनको भनाइ छ ।

वर्षौँदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो । भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ । केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठबिसकोटको भन्दा कम छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अरूभन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताउँछन् । “केन्द्रविन्दुनजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सातजना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीनजनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ,” अध्यक्ष गिरीले भने, “घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर, कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घरपरिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।”

उनले करिब १०० घर पूर्ण रूपमा भत्केका र ४०० भन्दा बढी चर्किएका बताए । “यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ,” उनले भने, “घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।”

भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेको ६१ वर्षीया रामकुमार घर्तीले बताइन् ।

“हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ,” उनले भनिन्, “आफू त पाल टाँगेर बसौँला, गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।”

उनीजस्तैजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जंगलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् ।

बारम्बारको कम्पनका कारण घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकेका छन् । तर, जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठबिसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् । भौतिक क्षतिपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनःस्थापनाको प्रतीक्षामा छन् ।

भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भइसकेको छ । भौतिक संरचनाको क्षतिको विवरण यकिन भएको छैन । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro