काठमाडौं । सत्ता गठबन्धन र प्रधानमन्त्रीविरुद्ध धारिला तर्कसहित आलोचनात्मक प्रहारमा व्यस्त एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बडी–ल्याङवेज’ केही समययता फेरिएको छ । उनी प्रधानमन्त्री र सत्तारुढ नेता भेट्दा ‘प्रफूल्ल’ हाउभाउमा देखिन्छन् । उनीहरुबीच चाडबाडमा शुभकामना दिन आयोजित दलीय चियापन समारोहमा ‘हाँसीखुसी’को हाउभाउ देखिन्छ नै ।
दलका पुराना नेताहरुविरुद्ध माहौल बन्दै गएको निस्कर्षसहित उनीहरु राष्ट्रिय मुद्दामा एक हुने, साझा कार्यक्रममा सहकार्य गर्ने र नागरिकमा उत्पन्न निराशा चिर्ने विषयमा पनि सघन छलफल सुरु भएको छ ।
केही दिनअघि ओलीले प्रधानमन्त्रीसँग दुई घण्टा लामो एकान्त भेटवार्ता गरे । सँगै कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत छलफल गरेका छन् । दलका पुरानामाथि निरन्तर प्रश्न उठिरहेको हुँदा उपयुक्त समयमा ‘उचित जवाफ’ दिने टिप्पणी ओलीको छ ।
“हामी पुराना दल र नेतामाथि प्रश्न उठाउन सकिन्छ कि भनी प्रयास भएका छन्,” केही दिनअघि आफ्नै कार्यालयमा आयोजित चियापानमा ओलीले भनेका थिए, “यस्ता प्रयासलाई हामी उपयुक्त समयमा उचित जवाफ दिनेछौँ ।’’
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफू ‘बृहत्तर सहकार्य’का पक्षमा खटिरहेको उल्लेख गरेका थिए, त्यही चियापानमा । दाहालको भनाइ थियो, ‘‘संघीयता, गणतन्त्र र लोकतन्त्रका पक्षधरहरु कुनै न कुनै रुपमा एक ठाउँमा उभिनुपर्छ । मलाई विश्वास छ केही समयमै त्यो सहकार्यको परिणाम निस्कने छ ।”
दाहालले पछिल्लो समयमा सत्ता साझेदार कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा छन् ।
नेतृत्व तह ‘प्रचार नगर्ने परिणाम दिने’ समझदारीसहित छलफलमा छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य परिणाम निस्कने वा साझा धारणा आउने गरी छलफलले उचाई लिइ नसकेको उल्लेख गरी नेताहरुबीच छलफल अघि बढिरहेको बताउँछन् । आचार्य भन्छन्, “नेताहरुबीच जुन स्पिरिटका साथ छलफल चलिरहेको यो यो स्पिरिट कायम रह्यो भने यसले परिणाम दिन्छ भनेर विश्वास गर्न सकिन्छ ।’’
शीर्ष नेतृत्व : आफैँलाई बलियो बनाउने खेलमा
विश्लेषक अरुणकुमार सुवेदी भने राजनीतिक दलका शीर्ष नेताहरुले रोगको पहिचान गरेको खण्डमा पनि उपचारको बाटो नदेखिएको बताउँछन् । उनी भन्छन्, “पुराना नेताहरुबीच एकले अर्कोलाई खुइल्याएर समाधान निस्कँदैन भन्ने चेत पलाएको देखिँदैछ ।’’
उनी समाधान आउन सक्नेमा शंका व्यक्त गर्छन् । उनले रोगको ‘डाग्नोसिस्’ मात्र उपचारविधि पनि पत्ता लगाउनुपर्ने बताउँछन् ।
उनी प्रश्न गर्छन्, ‘‘रोगको उपचार हुन सकेन भने पत्ता लगाउनुको अर्थ के नै हुन्छ र ?” उनी पुराना नेताहरुका दृष्टिकोणबाट देशको संकटको समाधान हुने नहुने उल्लेख गर्छन् ।
उनी भन्छन्, “नेताहरु सँगै उभिएर दिने सन्देशले नभएर जनता परिणामले मात्र सन्तुष्ट हुन्छन् । त्यो परिणाम दिन नेताहरुले नेतृत्वमा बसेपछि सबैकुरा जान्ने होइन्छ भन्ने सोच त्यागेर आर्थिक समस्या समाधानको उपय र योजना भएकाहरुसाग परामर्श र सहयोग लिन सक्नुपर्छ ।”
अर्का विशलेषक डा. विष्णु दाहाल भने प्रमुख नेताहरु आ–आफ्नै दलभित्र ‘डिफेन्सिभ’ हुँदा शक्ति आर्जन निम्ति सहकार्यमा जान लागेको उल्लखे गर्दै सहकार्यमा पनि स्वार्थ नै हाबी हुने बताउँछन् ।
“एमालेका केपी शर्मा ओली दलभित्र ‘डिफेन्सिभ’ हुँदैछन् । यदि उनी सत्तामा गएनन् भने उनका टिमबाटै उनलाई चुनौती दिने अवस्था एमालेमा बन्दैछ,” डा. दाहालले बाह्रखरीसँग भने ।
डा. दाहाल प्रचण्ड र देउवामा पनि त्यस्तै भावनाले काम गरेका बताउँछन् । “कांग्रेसमा सभापति देउवा पार्टीभित्र शेखर कोइराला समूहको थ्रेटमा छन् । उनी भोलि आलोपालोमा हुने प्रधानमन्त्रीका लागि ढुक्क हुन सकेका छैनन् । त्यसैले शीर्ष नेताको सिण्डिकेटमार्फत आफूलाई बलियो राख्न चाहन्छन्,” उनले भने ।
गठबन्धन ट्टेर एक्लै चुनावमा जानु परेमा नयाँ दलसँगको प्रतिस्पर्धाले कमजोर हुने डरमा प्रचण्ड छन् । उनले भने, “प्रचण्ड अरु दलका नेताहरुको मनोविज्ञानमा खेलेर आफूलाई पाँच वर्षसम्म सत्तामा राख्न र गठडबन्धनमै चुनावमा गएर थप सवलीकरण हुन चाहन्छन् ।”
संविधानसभाबाट गणतन्त्र कार्यान्वयनदेखि मिलेरै जारी संविधान कार्यान्वयन नहुँदा असन्तुष्टि बढेको छ । दलहरु आपसमा एकले अर्कालाई खराब देखाउने काममा व्यस्त भए ।
एकले अर्कालाई होच्याउने र सबै खराब कामको भागीदार बनाउने नेताहरुको दोहोरीले नागरिकमा नेता भनेकै ‘खराब’ हुन्छन् भन्ने चेतना विस्तार गरेको कांग्रेसका नेता डा. गोविन्दराज पोखरेल बताउँछन् ।
उनी नयाँ सोचसहित जोश र जाँगर भएका नेताहरुलाई काम गर्न प्रोत्साहित गर्नुको साटो पुराना नेताहरुले बाटो छेक्नुले असन्तुष्टि बढेको टिप्पणी गर्छन् ।
उनी भन्छन्, ‘‘नेतृत्वमा सत्ता र शक्ति भनेको आर्यघाट नपुग्दासम्म आफ्नै कब्जामा रहनुपर्छ भन्ने देखियो । आफू मात्र नेता बन्नैपर्ने तानाशाही प्रवृत्तिमा लाग्दा दलहरुबाटै निसृत असन्तोषको आगो कार्यकर्ता हुँदै जनतामा पुगेको हो ।’’
उनका भनाइमा, नयाँ पुस्ताले बुझ्ने भाषामा प्रमुख नेताको विकल्प खोज्ने प्रयास हुँदा नागरिक दोस्रो विकल्पतर्फ देखिएका हुन् । यसलाई सच्याउने हो भने प्रमुख नेताले पार्टीभित्रै आफ्नो विकल्पका लागि तयार हुनुपर्छ ।