site stats
बाह्रखरी :: Baahrakhari
देश
सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित स्थानीय तहका कर्मचारीलाई भन्यो– बिदामा नबस्नू 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र अरू कर्मचारीलाई बिदामा भए तत्काल कार्यालयमा हाजिर हुन भनेको छ ।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई तत्काल बिदामा नबस्न समेत निर्देशन दिएको छ ।

Argakhachi Cement Island Ad

“भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहनहुन समेत निर्देशन गरिएको छ,” मन्त्रालयले भनेको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दुको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यानमा धेरै जनधनको क्षति गरेको मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी मृत्यु भएका नागरिकको खोजी एवं घाइतेहरूको उद्धार गर्ने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

“मृतक व्यक्तिहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत तथा उद्धार, स्वास्थ्योपचारसहित अन्य सबै पक्षहरूको व्यवस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्‍याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउनुहुन प्रभावित जिल्लाका सबै स्थानीय निकायहरू एवं स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरूमा हार्दिक अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्