site stats
बाह्रखरी :: Baahrakhari
देश
अन्तर्राष्ट्रिय समुदायद्वारा जाजरकोट भूकम्पले गरेको क्षतिप्रति दुःख व्यक्त, सहयोगको प्रतिबद्धता 

काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले गरेको जनधनको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेका छन् । उनीहरुले भूकम्पपीडितलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिले मर्माहत भएको जनाएका छन् । “नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिले निकै मर्माहत भएको छु । भारत नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै हरसम्भव सहयोगका लागि तयार रहेको छ,” भारतीय प्रधामन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
 
नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भूकम्पपीडितलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् । राजदूत थम्पसनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “नेपालको जाजरकोट र रुकुम (पश्चिम)मा गएको भूकम्पमा परी आफन्त गुमाएका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।” 

Argakhachi Cement Island Ad

नेपालका लागि चिनियाँ राजदूत चेन सङले पनि चीन यस दुःखद घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । “यो दुःखद घडीमा हाम्रो साथ प्रभावितहरूसँग छ । हामी नेपाली जनता र सरकारलाई सहयोग गर्न तत्तपर छौं,” उनले भनेका छन् । 

दक्षिण एसिया हेर्ने विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले नेपालमा शुक्रबार राति गएको भूकम्पले आफूलाई दुःखी बनाएको जनाएका छन् । उनले नेपाली जनतालाई सुरक्षित राख्ने प्रयासलाई जारी राख्ने बताएका छन् ।

नेपाल प्रहरीका अनुसार शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३३ जनाको मृत्यु भएको छ । १४० जना घाइते भएका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्