
सहरको भीडभाड, कोलाहल, धुवाँ र धपेडी पन्छाएर अलि पर शीतल र स्वच्छ हावामा रमाउनेहरूका लागि उपयुक्त गन्तव्यस्थल हो, नुवाकोट । नुवाकोटको देवीघाट, उत्तरगयाधाम जहाँ पितृ तर्पण दिए पुण्य प्राप्त हुन्छ भन्ने भनाइ छ ।
त्यति मात्र नभएर उत्तरगया एउटा ऐतिहासिक तथा धार्मिकस्थल हो भनी नकार्न सकिँदैन । काठमाडौसँग जोडिएको यो जिल्लाले सहरवासीलाई शीतलता मात्र प्रदान गर्दैन, सदियौँ पुरानो शिल्पकलाको नजिक पनि पुर्याउँछ । त्यसका लागि पुग्नुपर्छ साततले दरबार ।
२०७९ चैत्र ४ गते ६८औँ स्रष्टा पदयात्रा शृंखला थियो । यात्राका संयोजक थिए, नुवाकोटका शम्भु गजुरेल । त्यस दिन बिहानै बोडे सूर्योदय समाजको मूलगेटबाट बस अगाडि बढ्यो ।
यसरी मूलपानी पिपलबोट, जोरपाटी हुँदै ६ बजेर ४५ मिनेटमा चाबहिल ओम अस्पतालअगाडि बस रोकियो । त्यहीँ स्रष्टाहरू मन्दिरा मधुश्री, गीता निरौला र म बसमा चढेका थियौँ ।
त्यसै बेला ब्लडप्रेसरको औषधि खान छुटेकाहरूले पसलमा गएर किने । अनि, एक घुट्की पानीले गोली बगाए । यति भएपछि दिनभरिका लागि ढुक्क हुने मनस्थिति बनाएका मध्येमा म पनि थिएँ ।
चढ्न बाँकी स्रष्टाहरू सामाखुसी चोकबाट चढे । टोखा, झोर हुँदै नुवाकोटका लागि गाडी अगाडि बढिरह्यो । जबजब गाडीले अग्लाअग्ला सिमेन्टका घरहरू पछाडि लुकाउँदै गयो, प्राकृतिक वातावरणले आँखालाई नुहाइदियो ।
डाँडामाथिको भुईंकुहिरोले मनलाई शीतलता प्रदान गर्यो । यस मानेमा स्वच्छ हावा र पूर्ण प्राकृतिक वातावरण थियो, काठमाडौं खाल्डोपारिको परिवेश ।
सायद यसकै खोजीमा निरन्तर रहने गरेको छ, हाम्रो पदयात्रा टोली ।
गुर्जेभञ्ज्याङ पुगेर चारैतर्फ नजर लगाएँ । एक किसिमको शीतल महसुस भयो । अर्कै दुनियाँको यात्रा गरेजस्तो लाग्यो । केही क्षणमै नुवाकोट जिल्लाको लिखु नदीले बनाएको ठूलो फाँट थानसिंह छहरे पुगियो । लिखुले बनाएको ठूलो फाँट, सिँचाइ बाह्रैमासे व्यवस्था देख्दा मनमा विकासका भावना उब्जिरहे ।
यही लिखुजस्तै खोलाको पानी र यस्तै फाँटहरूको महत्ता उपयोग गरेमा देशले अवश्य नै काँचुली फेर्ने थियो । गाडीले लिखु नदी पार गरिसकेपछि हाम्रो यात्रा ढिकुरे फाँटबाट अगाडि बढ्यो ।
त्यसपछि नुवाकोटको सदरमुकाम विदुर पुग्यौँ । विदुर बजारको बाहिरी स्वरूप केही मात्रामा बसको सानो झ्यालबाट चिहाएपछि पनि मन पुलकित भयो ।
समय, गाडी र मानिसको गतिमा कुनै फरक थिएन । जब हामी ऐतिहासिकस्थल वेत्रावती पुग्यौँ, तब छाती ढक्क फुलेर आयो । वीरताको इतिहास बोकेको यस ठाउँमा पुग्दा कुन नेपालीको छाती गर्वले नफुल्ला र ?
त्यहाँ पुग्दा नुवाकोटकी जुझारु साहित्यकार सुमित्रा सुमी हामीलाई पर्खेर बसिरहेकी थिइन् ।
त्रिशूली नदीको गडगडाहटले मेरो मन तान्यो । मलाई मात्र होइन, पदयात्री सबैलाई त्रिशूलीले आफूतिर आकर्षित गरेको रहेछ । नदी किनारमा खडा ठूलठूला ढुंगामा हाम्रो एक जत्था पदयात्री पनि उभियो । कोहीकोही बसे । अनि, पोजपोजका फोटाहरू खिच्ने काम सुरु भयो ।
नदीमास्तिर भने सुमित्रासँगै भोजन व्यवस्थापकहरू हाम्रै प्रतीक्षामा थिए । केहीलाई भोकले तानिसकेको रहेछ, ती कागजको थाल समाएर खानाको स्वाद लिँदै थिए । केही साथी भने त्रिशूलीको ढुंगामाथि चढेर पोजपोजका फोटा कैद गर्दै थिए ।
कोही जल शिरमा छर्कंदै थिए, कसैले अञ्जुलीले पितृलाई तर्पण दिँदै थिए । मेरा आँखाका क्यामेरा भने सबै दृश्य कैद गर्नैमा व्यस्त थिए ।
पानीमा जाऊँ कि खानामा जाऊँ भयो । पानीमा मात्रै भुलेर काम थिएन । समय दु्रत गतिमा दौडिरहेको थियो । छिट्टै खाना खाएर कार्यक्रम पनि गर्नु थियो । अनि, काठमाडौ फर्कनु थियो ।
त्यसैले टिकटक, फोटो र तर्पण समूहलाई बोलाउने कोसिस गरेँ । तर, मेरो आवाज त नदीको विशाल नादमा घुलिइसकेको हुन्थ्यो ।
पौराणिक ग्रन्थानुसार भगवान् शिवले कालकुट विष पिएर त्यसको राप शान्त पार्न भौँतारिएर हिँडेको अवस्थामा त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदी र महादेवले नै बेतको लौरोले खोपेर उत्पत्ति भएको वेत्रागंगास्थित फलाखु र सलाखु खोलाको संगमस्थल भएकाले यो पवित्र भूमिका रूपमा परिचित छ ।
चार गयामध्ये एक गयाका रूपमा उत्तरगया, एक पवित्र भूमि गोसाइँकुण्ड, सलाखु, फलाखु, त्रिशूलीगंगा मिसिएको संगम, दिवंगतहरूको सम्झनामा श्राद्ध गरी पिण्ड सेलाउने ठाउँ, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परम्पराका साथ विद्यमान रहेको छ ।
दुई सय वर्षअघिको कुरा हो रे यो ! भनाइअनुसार, झरीको मौसम हुनाले बाढीले गर्दा त्यति बेला वेत्रावती नदी जोडले उर्लिएको थियो । वेत्रावती नदीलाई पार गरेर वारिपट्टि आउने मुख्य पुल उस बेलाका नेपाली सैनिकहरूको नियन्त्रणमा रहेको थियो रे !
त्यसैले अर्कै अस्थायी साँघुको निर्माण गरेर नदीवारि आउने सुरसारमा थिए, चिनियाँ सैनिकहरू । त्यसबखत रातारात साँघु हालेर करिब पाँच हजार चिनियाँ एवम् तिब्बती सैनिकले वेत्रावती नदीलाई पार गरेर नेपाली सैनिकहरूमाथि घोर आक्रमण भयो ।
दुवैतर्फबाट घमासान लडाइँ हुन थाल्यो । प्रारम्भमा दुवैतर्फबाट बन्दुकको मात्र प्रयोग भइरहेको थियो । पछि भने खुँडा, खुकुरी र तरबार पनि प्रयोग गरियो । तीनवटा मोर्चाहरूबाट यताका सैनिकहरूले जोडदार आक्रमणका गरे । जसका अगाडि चिनियाँ सैनिकहरू निरीह भइरहेका थिए ।
यताका सैनिकको आक्रमणले चिनियाँ सैनिकहरू त्यहाँबाट भागाभाग गर्न विवश भए रे ! भनिन्छ, त्यति बेला चिनियाँ सैनिकहरू अत्यधिक संख्यामा मारिए । वर्षात्को भेल मिसिएको वेत्रावती नदीमा हेलिएर मर्ने चिनियाँ सैनिकहरू पनि धेरै थिए । त्यसैले वेत्रावती नदी नेपालीहरूका लागि एउटा अद्भुत हतियार बनेको छ ।
वेत्रावती नदीको पारिपट्टि बसेर चिनियाँ सेनापति तुुङ्थ्वाङ्ले दूरबिन लगाई यी सबै दृश्यहरू हेरिरहेका थिए । आफ्ना सैनिक पिठ फर्काएर भाग्दै गरेको देख्दा सेनापति स्तब्ध भए ।
वेत्रावती नदीमा आफूले नयाँ निर्माण गर्न लगाएको अस्थायी साँघुमा आफ्नो सैनिकचौकी खडा गर्न लगाई लडाइँको मोर्चाबाट भागेर आउने सैनिकहरूलाई नदी पार गरेर रसुवापट्टि कुनै हालतमा पनि छिर्न नदिने । यदि, आउँछन् भने तिनीहरूको नाककान तुरुन्तै काटिदिनू भन्ने चिनियाँ सेनापतिको आदेश थियो रे !
भनिन्छ, कतिले नाककान काटिएपछि तत्कालै नदीमा फाल हालेर आत्महत्या गरेका थिए । कसैका हातखुट्टा भाँच्चिएका थिए । आफ्ना सैनिकको यस्तो दुर्गति देखेर सेनापति अक्क न बक्क परे ।
त्यस दिनको लडाइँमा पाँच÷सात सयभन्दा बढी चिनियाँ सैनिकले जीवन गुमाए भन्ने भनाइ छ । त्यसपछि युद्धको हतियारभन्दा शब्दको हतियार चलाउन नेपाल र चीन दुवै पक्षबाट कुराकानी भएको र केही दिनमै घैबुङ (वेत्रावतीपारि)मा नेपाल, चीन र तिब्बतबीच वेत्रावती सन्धि गरिएको पाइन्छ ।
वेत्रावती सन्धिलाई विजयोत्सवका रूपमा मनाउन गोरु जुधाइ परम्परा सुरु भएको धार्मिक मान्यता समेत छ । यस धाममा हरेक जातजातिले पितृकार्य गर्ने स्थल, पुसे औँसीमा श्राद्ध, गाईजात्रामा लाखेनाच, ठूलो एकादशीमा फूलको डोली ल्याउने र भजनकीर्तन गर्दै नदी तार्ने, माघे संक्रान्तिमा गोरु जुधाइ गर्ने, फागुमा सामूहिक होली, रामनवमी पर्व तथा कृष्णजन्माष्टमीमा विशेष मेला लाग्ने गर्दछ ।
यस्तो ऐतिहासिक र धार्मिक पक्षले महत्त्वपूर्ण मानिएको ठाउँमा उभिएका थियौँ हामी । यस यात्राको संयोजन नुवाकोटका शम्भु गजुरेलले गरेका थिए । साथै, साहित्यिक कार्यक्रम, मिठो खानाको व्यवस्थापन स्थानीय प्रहरी वृत्तबाट भएको थियो । साहित्यतर्फ प्रहरी मित्रहरूको समर्पण देखेर आह्लादित भएँ । किनभने, ब्यानरमा उल्लेख थियो– समुदाय प्रहरी साझेदारी कार्यक्रम ः प्रहरीसँग एकदिने रचनावाचन ।
साहित्यकार सुमित्रा सुमीको सहजीकरणमा सम्पन्न यस कार्यक्रममा सहभागी भइरहँदा खुसीले मन गदगद भयो ।
कार्यक्रम सञ्चालनका क्रममा सई कवीन्द्र घिमिरेले बीचबीचमा सुन्दर मुक्तक र गजलका शेर वाचन गर्दै माहोल रोचक बनाएका थिए । उनले बन्दुकभन्दा कलम बलियो हुने तर्क गरे । अनि, यसै विषयमा लेखिएको एउटा मुक्तक वाचन गरे ।
यसरी प्रहरीहरूको सक्रियतामा सम्पन्न साहित्यिक कार्यक्रममा मेरो उपस्थिति पहिलोपल्ट रह्यो । प्रहरीहरू बन्दुक मात्रै समाउने होइनन्, उनीहरूभित्र कलमको शक्ति पनि हुन्छ भन्ने ज्ञान उपस्थित सबैमा मिलेको थियो ।
कार्यक्रममा काठमाडौंबाट नुवाकोट पुगेका स्रष्टाहरूले पनि आफ्ना रचना वाचन गरे । साहित्यिक कार्यक्रम समापनपछि पदयात्रा टोली नुवाकोट दरबार अवलोकन गर्न निस्कियो ।
दरबार उक्लन हामीसँगै नुवाकोटे चेली सुमित्रा सुमी पनि बसमा चढिन् । हामी दरबारको उकालो लागिरह्याैँ । यसैबीच कसैले पुष्टकारी, कसैले बदाम दिएर यात्रालाई मिठो बनाउने क्रम जारी रह्यो ।
जंगलको बाटो हुँदै गाडी विदुर बजारसम्म आइपुग्यो र दरबार ताकेर उकालो लाग्यो । चैतको उराठिलो मौसमलाई भर्खर पालुवा फेरेका रुखबिरुवाले केही राहत दिँदै थिए । बस खचाखच भएर होला, केहीलाई उभिनै परेको थियो ।
केही बेरको उकालोपछि नुवाकोट दरबार पुग्यौँ । पुरानो बजार निरीह बनेर उभिएको पाएँ । समृद्ध इतिहास बोकेका ठाउँहरू किन यति निरीह देख्छन् मेरा आँखाले ? अर्बौंको सांस्कृतिक धरोहर सडकमा दुई कौडीमा मिल्काएको फोहोरजस्तो उभिएको थियो, ठाउँठाउँमा ।
जीर्णोद्धार हुन आँटेको साततले दरबारको पुनर्निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको रहेछ । गेटैमा सूचना टाँगिएको थियो, ठूला चिनियाँ अक्षरमा । तलतिर अंग्रेजी भाषामा केही लेखिएको थियो ।
नेपाली अक्षरहरू भने कसैले नदेखिने गरी लजाएझैँ मुन्तिर बसेका थिए ! यसबाटै थाहा हुन्थ्यो, हाम्रो भाषाप्रति हामीले राख्ने सोच र हामीले गरेको सम्मान !
दरबार परिसरमा पुगेपछि केही साथीहरू टिकटक बनाउनतिर लागे । केही व्यक्तिका भाव मात्र जीर्णोद्वार भवनप्रति चिन्ता प्रकटका थिए ।
कुनै बेला काठमाडौंभन्दा नुवाकोट शक्तिशाली थियो रे ! इतिहासमा गोपालवंशदेखि नै नुवाकोट, नवकोट्य, नौकटजस्ता नाम हुँदै नुवाकोट बनेको यो क्षेत्र मल्लकालमा नेपाल (काठमाडौं)को पश्चिम सीमाको मूल ढोका अर्थात् भोटसँगको व्यापारको मुख्य नाका बनेको थियो ।
यस्तो गर्विलो इतिहास बोकेको साततले दरबार खण्डहरजस्तो देखिन्थ्यो । २०७२ को भूकम्पले थिल्थिल्याएको साततले दरबार अझै पूर्ण भएको थिएन ।
चैत मास परबाट हुरी लिएर आउँदै थियो । हामी केही साथीसँगै बसतर्फ ओरालो सिँढी झर्यौँ । उता चैते बतास धुलोलाई अँगाल्दै कति छिट्टै हामीसम्म आइपुगेको थियो !
म र केही साथी बसमा बस्यौँ । केही साथीलाई भने हुरीले भेटिसकेको थियो । मन्दिरा झोला छुट्यो भनेर फेरि झरिसकेको सिँढी चढिन् । ‘लौन, फेसबुकले तरकारी डढेको खबर त थियो, टिकटकले झोला नै छोडिँदो रहेछ’ भन्ने मनमा लाग्यो ।
पछि झोला त गीता दिदीको पो छुटेको रहेछ, बेकार टिकटकलाई दोष दिनु मात्रै भयो !
विचारले कति छिट्टै आफ्नो धारणा बनाउन पुगिहाल्दो रहेछ । मेरा विचारसँगसँगै गाडी हुरीसँगै हुइँकियो र केही बेरमै विदुर पुग्यो ।
विदुरमा ओर्लिन् साहित्यकार सुमित्रा सुमी । अनि, बिदाइको हात हल्लाउँदै हामी राजधानीतिर हुइँकियौँ ।