
अक्षरहरूको गठजोड ‘शब्द’
अक्षरको एकल अस्तित्वलाई
रासायनिक परिवर्तन गर्दै
मूल स्वरूपमा भिन्नता
फरक अर्थको स्वरूपमा
जोडिएका अक्षरहरू
‘शब्द’ संज्ञामा अहंकारको पर्याय ।
भिन्न शाब्दिक आशयमा
विभक्त अक्षरलाई बन्दी बनाई
लेखियो शब्दमा हिमाल, पहाड, तराई
बाहुन, क्षेत्री, दलित, जनजाति,
अक्षरको निरीहता नियाल्दै
अक्षरमाथि शब्दको बलिष्ठ पकड
अक्षरको एकल अस्तित्वमा
शब्दको अधिनायकत्व
शब्द कौरवको चक्रव्यूह
अभिमन्युको प्रसव बाँकी ।
शब्द विवेकशून्य हुँदा
अस्मिताको रक्षार्थ
निरीह बनेका अक्षरभित्र
अक्षरको विद्यमानता हार्यो
अनि हार्यो अक्षरको दुराधर्ष
हारेका अक्षरहरूमा
शब्द विनिर्माणको एकीकृत भाव
‘नेपाली’ शब्द बन्न सकेन ।
सीमारेखाको विभाजन शब्दमा
सग्लो धराको विभक्ति शब्दमा
शब्दको प्रमाणिकतामा
अखण्डित जननी
खण्डित
यस्तै अरू धेरै शब्द निर्माण
शब्दको झिनो अनुमोदन
तर,
शब्दमा विरोध यथावत्
सबैको अन्तःकरणको
साझा शब्द, अक्षरको संयोजनले
‘नेपाल’ लेखिएन ।
फरक अक्षरको संयोजनले फरकै अर्थ बोक्यो
फरक भाव बोक्यो
हिमालको शेर्पा र तराईको थारुबीचको
आत्मीयता र
‘नेपाली’ साझा बन्धुत्व लेखिएन
सगरमाथाको उचाइ बोल्ने शब्द
कोसी, गण्डकी र कर्णालीको गहिराइ नाप्ने शब्द
एकाकार र साझा बनेनन्
एकताबद्ध सिंगो शरीरका अवयवहरू
विखण्डित, विशृंखलित
‘विभाजन’ शब्द बने
बुद्धको भूमिमा शान्ति र अहिंसा ‘शब्द’ बनेनन्
राष्ट्रियता अनुभूत हुने शब्द
सुस्ता, कालापानी, लिपुलेक,
अझै धेरै नामहरू उच्चारित हुने ‘शब्द’
भूगोलका अभिन्न अंग लेख्न सकेन ।
परचक्री दासत्व लेखियो, शब्दमा
सुन्दर शब्द लेखनको उम्मेदमा
पर्खिरहेको कलमले
फगत लेख्नका लागि लेख्यो
सबैको ‘हित’ लेख्न सकेन
शब्द न सुनियो न लेखियो
शब्द लेखियो अर्कैको आभामा ।
विचारकहरूले सिद्धान्त लेखिदिए
शब्दले त्यसलाई साभार गरिरह्यो
आफ्नै अनुकूलतामा
शब्दशब्दमा भिन्नता देखाउँदै
यथार्थमा
शब्दहरू अमूर्त लेखियो
भौतिक लेखिएन, मूर्त लेखिएन ।
भोकले आक्रान्त पेटलाई
अन्न लेखिएन
प्यासको व्याकुलतामा पानी लेखिएन
अशिक्षामा ज्ञान लेखिएन
लेखियो धेरै लेखियो
केवल पुस्तक लेखियो
शब्दशब्द जोडेर पुस्तक लेखियो ।
रोगमा औषधि लेखिएन
केवल ‘प्रेस्क्रिप्सन’ लेखियो
जनजनका प्रश्नमा
शब्द अनुत्तरित लेखियो
लेखियो
मरुभूमिको मृगतृष्णाजस्तै
जनजीविकाका सवाल
सिद्धान्तका शब्दशब्द
जोरजाम गर्दै
शब्दको खेल खेलियो
शब्दजाल बुनियो
फरेबमै शब्द लुकामारी गरिरह्यो ।
शब्दशब्दबाट अक्षर वियोजकको
उपक्रम चलाउनुपर्छ
शब्दको एकाधिपत्य तोड्नुपर्छ
अक्षरहरूको समूल संयोजनबाट
नवीन शब्द विनिर्माण गर्नुपर्छ
सबैको हितमा उपयोग हुने शब्द
अपनत्व परिभव नहुने शब्द
अन्तरमनबाटै स्वीकार्य
सम्भावनामा मूर्तता खोज्ने शब्द
समृद्ध, सुन्दर अनि भ्रातृत्व लेख्ने शब्द
भूगोलको रक्षा गर्ने शब्द
वियोजित अक्षरहरू
संयोजित हुनुपर्छ
अखण्ड र समृद्ध नेपाल लेख्नुपर्छ
अब अक्षरहरू एकाकार हुँदै
शब्द बन्नुपर्छ, म ‘नेपाली’
मेरो देश ‘नेपाल’ ।
(कुलेश्वर)