
समय – बिहानको ७ बजे
स्थान – कुशमाढी
एकाबिहानै जेठा नेवारको घरमा वीरे कुनै कामविशेषले आउँदा माथि टाँडबाट रगत बगेर पनि तल भुइँमा सुकेर पाप्रा बनेको उसले एक्कासि देख्यो ।
उसलाई शङ्का लाग्यो र टाँडमाथि उक्लियो । खाटमा जेठा नेवारको नग्न लास मुढो झैँ लडेको देखेर ऊ आत्तियो । अझै उसले लासलाई ध्यानले हेर्दा जेठा नेवारको राइफल शरीरदेखि अलग भएको देख्यो । हत्या हो कि आत्महत्या उसले केही ठम्याउनै सकेन ।
ऊ आत्तिँदै तल झर्यो र “जेठा नेवार मर्यो, जेठा नेवार मर्यो” भन्दै हल्लाको डमरु बजायो ।
उत्तिखेरै गाउँलेहरू गुरुरु गर्दै जेठा नेवारको आँगनमा जम्मा भए । कोही कोही टाँडमाथि चढेर हेर्न थाले । जजसले जेठा नेवारको लास देखे तिनीहरू सबै एकाएक अचम्मित भए ।
एकान दोकान गर्दै जेठाको आँगनमा निमिषमै मान्छेहरू खाँदाखाँद भए । त्यसरी त गुन्द्रुक पनि खाँदिँदैन थियो होला । मानौँ, त्यहाँ एक मुठी हावासम्म छिर्ने कतै ठाउँ थिएन ।
एकछिनपछि गाउँको गन्नेमान्ने व्यक्ति बाबुसाहेब पनि आयो र जेठा नेवारको लासलाई हेरेर भन्यो, “यो त कसैले हत्या गरेजस्तो छ । ऐ केटा हो ! कसैले लासलाई हात नलगाओ । जाओ ! गौशाला इलाका प्रहरी कार्यालयमा गएर तुरुन्तै खबर गरिदेओ ।”
रमण छेउमै उभिरहेको थियो । ऊ दौडिँदै आफ्नो घरमा गयो र बाइक स्टार्ट गर्दै इलाका प्रहरी कार्यालयतिर दौडियो ।
रमिता हेर्नेको भिड झन्झन् बढ्दै गयो । कोही आउँदै थियो भने कोही जाँदै पनि थियो ।
यतिकैमा, रमण प्रहरीको अघिअघि बाइक दौडाउँदै आइपुग्यो । बाइकलाई स्ट्यान्ड लगाएर ऊ पुनः जेठा नेवारको मृत्युको पहेली बुझ्न भिडलाई छिचोल्दै भित्र पस्यो र टाँडमाथि चढ्दै लासनिर पुग्यो ।
पछिपछि प्रहरीको सरकारी जिप पनि धुलो उडाउँदै आएर डगरमा घ्याच्च रोकियो ।
सबै प्रहरी जवानहरू टाँडमाथि चढे र लासलाई तन्नाले घेरे । त्यहाँ देखे उनीहरूले जेठा नेवारको शरीर र राइफल अलगअलग भएको दृश्य । ससेज फ्राइ गर्नुअघि छुरीले चिरैचिरा पारेझैँ बीभत्स चिरैचिरा पारी काटिएको थियो उसको राइफल ।
“खिचिक् ... !”
“खिचिक् ... !”
“खिचिक् ... !”
प्रहरी धनराजले विभिन्न एङ्गलबाट लास र टुक्रिएको राइफलको फोटो खिच्यो । लासलाई त्यही तन्नाले ढाकियो ।
मुचुल्का तयार पारियो गाउँलेहरूबाट र लासलाई त्यसै जिपमा हाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगियो ।
भिडका सबै आँखाहरू एकैसाथ जिप हुइँकिएतिर पछ्याउँदै पछिपछि कुदिरहे जिप आँखाबाट नहराउन्जेल ।
०००
भोलिपल्ट जेठा नेवार आफूखुसी नै लिङ्ग काटी मरेको हो भन्ने पोस्टमार्टम रिपोर्टबाट प्रमाणित भयो ।
उसको मृत्यु न कसैलाई शोक बन्यो न त समाचार नै ।
०००
एक वर्षपछि
आकाशबाट एक टुक्रा सेतो बादल उड्दै आयो र रमणको छातीवरिपरि भुसुना घुमेझैँ एकछिन घुम्यो र एकाएक त्यहीँको त्यहीँ हरायो ।
रमण झसङ्ङ भई झस्क्यो । एकाएक उसले आङ जिरिङ्ङ गर्यो । उसका कपालदेखि लिएर शरीरभरिका रौँहरू सबै एकाएक ठाठाडा भई ठडिए । उसलाई एकाएक भाउन्न भई आयो । उसलाई कुनै सेतो घोडाको छायाजस्तो आकारले पिठ्युँमा बोकी बेपत्तासँग उडाई लगेजस्तो लाग्यो ।
निमिषमै ऊ एउटा अनकन्टार जङ्गलबिचमा अवस्थित एउटा विशाल पुरानो हवेलीभित्र पुग्यो । यो हवेली योभन्दा पहिले उसले बिपनामा त के सपनामा पनि जिन्दगीमा कहिल्यै देखेको थिएन । हवेली पूर्ण रूपमा फोहरै फोहरले भरिएको थियो । जताततै माकुराको जालोले जेलिएको थियो ।
ऊ डरले थर्थर काँपिरहेको थियो । ऊ शनैःशनै बिरालोको चालमा जालोलाई चिर्दै कोठाकोठामा प्रवेश गरिरहेको थियो । उसको शरीरभरि जालो टाँसियो । मानौँ, धुनियाँले कपास फड्किँदा शरीरभरि कपासैकपास भएझैँ जालोले ऊ सेताम्मै भयो ।
हवेलीको दोस्रो कोठापछि ऊ तेस्रो कोठामा प्रवेश गर्न भनेर ढोकानिर पुग्दै थियो । अचानक कटकट कट्किँदै बन्द ढोका आफै शनैःशनै खुल्दै गयो । मानौँ, कोठाभित्र कोही पहिले नै आगन्तुक पाहुनालाई स्वागत गर्न बसेको जस्तो ।
यो दृश्य देखेर ऊ झन् डरायो । उसले दायाँ हेर्यो, बायाँ हेर्यो । आफ्नो पछि पनि केही आइरहेको छ कि भनेर पछि फर्की हेर्यो । तर अहँ, कहीँकतै चरोमुसोसम्म पनि थिएन । ऊ शनैः कोठाभित्र प्रवेश गर्यो ।
“ढ्याम्म... ।”
अकस्मात् ढोका ढ्याम्म भई बन्द गरेको आवाज आयो ।
उसले पछि फर्की ढोकातिर हेर्यो तर ढोका खुल्लै थियो ।
ऊ झन्झन् डरायो र आतिँदै गयो । उसको शरीर ढक्क भई फुलेर आयो । उसको होसहवासै उड्यो । उसका शरीरभरिका रौँहरू एक्कासि जिङ्ग्रिङ्ङ भई ठाठाडा भए ।
ऊ हवेलीको अर्को ठुलो हलभित्र प्रवेश गर्यो ।
त्यो हल झन् मानव अस्थिपञ्जरै अस्थिपञ्जरले टनाटन भरिएको थियो । उसले कहीँकतै खुट्टा राख्नेसम्म ठाउँ पाएन ।
ऊ आफ्नो खुट्टाले त्यही कङ्कालहरूमाथि टेक्दैटेक्दै हलको उत्तरपूर्वको कुनामा रहेको पुरानो कुर्सी र टेबुलनिर पुग्यो । ऊ त्यही कुर्सीमा थचक्क बस्यो ।
“ढ्याम्म... ।”
निमिषमै हलभित्रका सबै झ्यालढोकाहरू “ढ्याम्म” आवाज गर्दै एकैसाथ बन्द भए । हल उत्तिखेरै अन्धकारमय भयो ।
फेरि निमिषमै निलो प्रकाशले हल प्रकाशमान भयो ।
हलभित्रका कङ्कालहरू आआफ्ना अस्थिहरू एकेक गर्दै जोडिँदै गएका निलो प्रकाशमा स्पष्ट देखिइरहेका थिए । कङ्कालहरूमा आआफ्ना अस्थिहरू जोडिइसकेपछि कङ्कालहरू सबै आआफै नृत्य गर्न थाले ।
कङ्कालहरूले नृत्य गर्दैगर्दै रमणलाई चारैतिरबाट घेरे र सबै जोडजोडले एकैसाथ हाँस्न थाले ।
फेरि निमिषमै निलो प्रकाश एकाएक अँध्यारोले कुपुक्कै निल्यो र चारैतिर अँध्यारोको कालो समुद्र फैलियो ।
उत्तिखेरै हलको पश्चिमदक्षिण कुनामा कुनै स्त्री रोएको आवाज सुनियो । त्यही आवाज निमिषमै अर्को कुनामा सुनियो । फेरि त्यही आवाज अर्को कुनामा सर्यो । हुँदाहुँदै उक्त आवाज निमिषमै उसकै छेउ आई रोयो ।
उसको सातोपुत्लो उड्नुसम्म उड्यो । ऊ आत्तिएर कहालिनुसम्म कहालियो । तर म्युट गरिएको टिभीझैँ उसको मुखबाट कुनै आवाज निस्केन । कुनै लाटालाटी इसाराले आफ्नो मनको भावना अरूलाई बुभाउन खोज्दा बोली नफुटेझैँ ऊ शब्दविहीन भयो । उसले अविरल प्रयास जारी राख्यो चिच्याउन र कराउन तर मुखबाट कुनै शब्द, ध्वनि उच्चारित भएन ।
तर उसलाई भने यो रुवाइ धेरै पल्ट कहीँ सुनेसुनेजस्तो लाग्यो ।
अकस्मात् रुवाइ बन्द भयो ।
निमिषमै प्रोजेक्टरबाट आउने फोकसजस्तो यल्इडी फोकस सेतो भित्तामा आयाताकार भएर फैलियो । एउटा कुनै छप्पन्न इन्चको टिभीजस्तै पूर्ण स्क्रिन बन्यो । त्यही आयाताकार यल्इडी स्क्रिनमा कुनै जिउँदो महिलाको सुुरुवालकुर्ता लगाएकी तर टाउको नभएकी अर्ध शरीर भ्यात्ल्याकभ्यात्ल्याक गर्दै हिँड्दै गरेको दृश्य स्क्रिनमा जुम हुँदै गरेको स्पष्ट देखियो ।
त्यो शरीरको दृश्य योभन्दा पहिले पनि उसलाई कहीँकतै देखेदेखेजस्तो लाग्यो ।
उसले मनमनै बरबरायो, “यो शरीरको आधा भागको हिँडाइ र पहिरन मैले कहीँकतै देखेको हुनुपर्छ ।”
उसले कन्चटमा चोरऔँला राख्दै दिमागमा जोड दिँदै खुब सम्झने कोसिस गर्यो तर अहँ सम्झिन सकेन ।
शनैः स्क्रिनमा अर्ध शरीर जुम हुँदै आयो । स्क्रिनभरि बडेमानको शरीर देखियो । अब भने उसलाई झट्ट याद आयो ।
“अहो ! यो त जेठा नेवारकी छोरी लठ्यौरीे हो ।” अनायासै उसको मुखबाट फुत्त निस्कियो ।
फेरि निमेषमै स्क्रिनबाट शरीर हरायो ।
उत्तिखेरै स्क्रिनमा टाउको मात्रै तुर्लुङ्ङ लट्कियो र त्यो अर्ध शरीर हिँड्दै आई टाउकोमा ठ्याक्क जोडियो ।
“अहो ! यो त जेठा नेवारकी छोरीे हो ।” रमणले भन्यो ।
“हो, म त्यही जेठा नेवारकी छोरी लाटी हुँ । हो, म त्यही जेठा नेवारकी छोरी लठ्यौरी हुँ ।” स्क्रिनमा देखिएकी लाटीले भनी ।
“तिमी त लाटी थ्यौ त, मात्र इसाराले कुरा गथ्र्यौ । फेरि तिमी आज कसरी बोल्ने भयौ ?”
“हो, म जिउँदो हुँदा बोल्न सक्दिनँ थेँ । ऐले म त्यो लाटी हुइनँ । म त लाटीको केवल आत्मा हुँ । आत्माको कुनै जिब्रो हुँदैन । आत्माको कुनै शरीर हुँदैन । आत्माको कुनै उमेर हुँदैन । त्यसैले आत्माको कैल्यै मृत्यु हुँदैन ।”
“ऐले देखिइरहेको तिम्रो यो शरीर के तिम्रो शरीर होइन ?”
“हो, तिम्रो आँखामा मेरो यो शरीर नै हो तर म ऐले शरीरमा छुइनँ । यो तिम्रो नितान्त भ्रम हो, भ्रम । मैले त तिम्लाई केवल आफूलाई चिनाउनका खातिर लाटीको शरीर धारण गरेकी मात्र हुँ ।”
“भन, तिमी मबाट के चाहन्छ्यौ ?”
“हो, बल्ल तिम्ले मतलबको कुरा गर्यौ ।”
“तिमी पनि मतलबकै कुरा गर ।”
“पैले तिमी यो भन, लाटालाटी मान्छे हुन् कि होइनन् ?”
“हुन्, कसले भन्यो तिम्लाई होइनन् भनेर ?”
“तेसो हो भने, लाटालाटीभित्र माया, प्रेम, यौवन, बैँस र यौनका चाह हुन्छन् कि हुँदैनन् ?”
“हुन्छन्, कसले भन्यो तिम्लाई हुँदैनन् भनेर ?”
“उसो भए, मैले तिम्लाई प्रेम गर्न मिल्थ्यो कि मिल्दैनथ्यो ?”
“...”
यो पटक भने रमण निःशब्द भयो । उसले लाटीको प्रश्नको जबाफ तुरुन्तै दिन सकेन ।
यत्तिकैमा स्क्रिन ब्ल्याकआउट भयो ।
फेरि अचानक स्क्रिनमा लाटी रिसले रातोपिरो भएकी देखिई ।
“यत्ति भन, मिल्थ्यो कि मिल्दैनथ्यो ?”
“मिल्थ्यो, तर त्यस्तो प्रेमलाई एकतर्फी प्रेम भन्छन् ।”
“मैले तिमीसँग प्रेमप्रस्ताव राखेकी भए के तिमी मसँग प्रेम गथ्र्यौ ?”
“गर्दिनँ थेँ ?”
“किन ?”
“बारीमा फुल्ने फूल बारीमै फुल्नुपर्छ, आकाशमा तारा बनेर फुल्ने चाहा गर्ने होइन ।”
“लाटालाई चिन्छौ ?”
“को लाटा ?”
“माथि नेवारटोलको लाटा ।”
“ए, चिन्छु ।”
“मैले बुझेकी थेँ, पित्तल र सुन कैल्यै एउटै हुनै सक्दैन । त्यसैले, ऊ लठ्यौरो भएको कारण मैले ऊसँग प्रेम गरेकी थेँ । मलाई लाग्यो, ऊ मजस्तै भएको कारण मेरो भावना बुझ्न सक्छ ।
त्यसैले, मैले उसलाई प्रेम गर्न थालेँ । उसलाई मेरो आफ्नो सम्पूर्ण यौवन सुम्पिदिएँ । उसलाई अँगालोमा पाउँदा म धेरै खुसी हुन्थेँ र ऊ पनि । हामीबिच धेरैचोटि यौनसम्बन्ध भयो । म ऊसँग बिहे गर्न चाहन्थेँ । तर ऊ महाको धोकेबाज निक्ल्यो ।” लाटीले रमणलाई रुँदै सुनाई ।
“कस्तो धोकेबाज ?”
“मैले उसलाई हामीबिचको सम्बन्ध कसैलाई नसुनाउनू भनेकी थेँ । तर उसले गाउँगाउँ सबैलाई सुनाई हिँड्न थाल्यो । अन्ततः मेरो बालेसम्म थाहा पाउनुभो । बाले मलाई बेस्मारी मर्ने गरी कुट्नुभो ।”
यति भनिसकेपछि लाटी एक्कासि ह्वाँह्वाँ रोई ।
लाटीको रुवाइले रमणको अनुहार एकाएक बादलले छोपेको घामजस्तै अँध्यारो भएर आयो ।
“यो सब कहानी तिमी किन सुनाउँदै छ्यौ मलाई ?”
“तिमी एउटा लेखक हौ । मलाई थाहा छ तिमी सहरमा बसेर उपन्यास र कथाहरू लेख्ने गर्छौ । त्यसैले म चाहन्छु, मैले भोगेका मेरा अलिखित बीभत्स कथाहरू लेखिनुपर्छ, छापिनुपर्छ, पढिनुपर्छ र सारा दुनियाँले थाहा पाउनुपर्छ । त्यसैले, मैले यस कामका लागि तिम्लाई चुनेको हुँ ।”
लाटीले रोदनयुक्त स्वरमा दुई हात जोड्दै आफ्ना सम्पूर्ण बीभत्स कथाहरू रमणलाई आँसुले मुछ्दै सुनाई ।
एकाएक स्क्रिन कालो भयो ।
लाटीको कुरामा दम थियो । पीडा थियो । ताप थियो । सन्ताप थियो । ऊ वेदनाको आगोमा पलपल डढिरहेकी थिई । अँध्यारोमा हुर्किन नपाएको सत्यजस्तै र भुङ्ग्रोभित्रको लुकेको फिलिङ्गोजस्तै उसको कथामा एक महापहेली लुकेको थियो ।
त्यसैले, रमण लाटीको सन्तापमा पग्लियो । ऊ बरफ पग्लेझैँ पानीपानी भयो । उसका आँखाबाट आँसुका रूपमा लाटीका कथाहरू तप्पतप्प बग्न थाले । उसले आफूलाई दरिलो बनाउने कोसिस गर्यो । अन्ततः ऊ लाटीको कथा लेख्ने निक्र्योलमा पुग्यो ।
“यदि यस्तो हो भने म अवश्य तिम्रो कथा लेख्नेछु ।” रमणले यति भन्दै पिठ्युँमा भिरिराखेको झोलाबाट एउटा नोटबुक र पेन निकाल्यो ।
कालो स्क्रिन निमिषमै उज्यालो भएर आयो । स्क्रिनमा लाटी उज्याली देखिई ।
“अनि ?”
रमणले यति प्रश्न गर्दै कथा लेख्नलाई नोटबुक पल्टायो । पेनको कभर फुत्त थुत्यो र लेख्नलाई तयार भयो ।
पूर्वघटना नं. १
“मनमा बदनामीको आगो दन्किनुसम्म दन्क्यो । उज्यालोमा लोभिएर मर्नै गएको पुतलीझैँ म त्यही आगोमा पटकपटक जलेँ र पटकपटक छट्पटिएँ ।
त्यहीबेला गाउँमा बच्चाबच्ची पुगेका महिलाहरूका लागि भनेर निःशुल्क अपरेसन गराउने सरकारी शिविर टोली खटिएको थियो । त्यही शिविर टोलीमा बाले मलाई जबरजस्ती अपरेसन गराई मेरो पाठेघर नै फाल्दिन लाइदिनुभो । मलाई पूर्ण रूपमा ठिक हुनलाई पूरा एक महिना लाग्यो ।”
“तेसपछि त झन् म बलात्कारको सिकार बन्न थालेँ ।” यत्ति भनिसकेपछि लाटी ह्वाँह्वाँ रोई ।
एक्कासि स्क्रिन झ्याप्पै निभी हल अन्धकारमय भयो ।
“अनि ?”
“...”
फेरि एकछिनपछि स्क्रिनमा लाटी देखिई ।
पूर्वघटना नं. २
“एकदिन सुब्बाको मकैबारीमा म घाँस काटिरहेकी थेँ । पछाडिबाट कसैले मलाई उत्तानो पारी लडाई एक्कासि ममाथि घोडा चढ्यो । बल्ल थाहा पाएँ मैले, आफैले घाँस काट्दै गरेको मकैबारीको छिमेकी साहु सुब्बा रहेछ ऊ ।
मैले सकीनसकी बल्लबल्ल उसलाई लात्तीले हिर्काउन सफल भएँ र ऊबाट फुत्किएर भागेँ तर ऊ मेरो पछिपछि दौडिँदै आयो । म भ्यात्ती लाटी यसै नि काँ कुद्न सक्थेँ र ? उसले उत्तिखेरै मलाई भेटिहाल्यो र मेरो चुल्ठो समाती पछार्यो ।
म पछाडि दुई हात टेकी अगाडि दुई खुट्टा चलाउँदै पछिपछि सर्दै गएँ । उसले मेरो अघिबाट दाहिने खुट्टाको सुरुवाल फुत्त थुत्यो अनि देब्रे खुट्टाको सुरुवाल पनि थुत्यो ।
म भित्री कट्टु कैल्यै लाउँदिन थेँ । सुरुवाल थुतिएपछि म नाङ्गी भएँ । मैले उत्तिखेरै देब्रे हातमाथि दाहिने हात खाप पारी आफ्नो लाज छोप्ने कोसिस गरेँ । त्यसपछि त म पछि सर्नै सकिनँ । आफू भाग्नुभन्दा पनि आफ्नो लाज बचाउनु मलाई ठुलो कुरा हो जस्तो लाग्यो । उसले आफ्नो कट्टुको इँजार स्वार्र पारी तान्यो र फुत्त तल झार्यो ।
उसको लिङ्ग पैलेदेखि नै उत्तेजित भएर बसेको रहेछ । ममाथि बिजुलीको चालमा घ्याप्पै घोडा चढिहाल्यो । मेरो कुर्ता ध्यार्र पारी च्याती मेरो मुखमा कोचिदियो र दुई हातले जोडले थिचेर हलचल गर्नै नसकिने गरी थिची राख्यो ।
म भुतुक्क भई दुख्नुसम्म दुखेँ । उसले अघाउन्जेल बारम्बार बलात्कार गरिसकेपछि मलाई लास बनाई छोडिदियो ।”
अकस्मात् स्क्रिन कालो भयो ।
एकछिनपछि दिगम्बर अवस्थामै टुक्रुक्क बसी घुँडालाई दुई हातले कसी घुँक्कघुँक्क गर्दै रुँदै गरेकी लाटीको पिठ्युँपट्टिको बीभत्स दृश्य स्क्रिनमा देखियो ।
रमण निस्तब्ध भयो ।
“रुन छाड्देऊ, जे भोभो । अब मलाई तिम्रो अरू घटनाको बारेमा बताऊ ।” उसले भन्यो ।
“मसँग के नै थ्यो र जो मैले साँच्नुपर्ने । मसँग बचेकै के थ्यो र जो मैले बचाउनुपर्ने । एकाएक मलाई आफैंदेखि घृणा लागेर आयो र आत्महत्या गरी मरूँ जस्तो लाग्यो तर पनि म मर्न सकिनँ ।”
यत्ति भन्दै ऊ विक्षिप्त भई ह्वाँह्वाँ रुनसम्म रोई ।
लाटीको कथाको सन्तापले पग्लिएछ क्यारे रमण । ऊ पनि उसको आँसुसँगै बग्न थाल्यो ।
“तिम्रो कथामा साँच्चै दम छ । तिम्रो कथा सुनेर म स्वयं भावविह्वल भएँ । तिम्रो कथा सकियो कि अझै बाँकी छ ?” उसले भावुक हुँदै भन्यो ।
“तिम्ले लेख्नुपर्ने वास्तविक कथा अझै बाँकी छ कथाकारज्यू ।”
“कस्तो कथा ?”
“यो यस्तो कथा हो जो तिम्ले सोचेभन्दा फरक कथा छ ।”
“कस्तो फरक कथा ?”
“रक्षक नै भक्षक भएको कथा ।”
“कस्तो भक्षक भएको कथा ? म तिम्रो पहेली सुन्न बसेको होइन । मलाई सिधा कथा सुनाऊ ।”
“अबको कथा तिम्ले मुटु दह्रो पारी सुन्नुपर्ने छ ।”
पूर्वघटना नं. ३
“म चार वर्षकी हुँदा मेरी आमा मर्नुभयो । आमा मरेको नै बिस वर्ष भयो । बाले मलाई पालनपोषण त गर्नुभो । जब म तरुनी भएँ, बाकै गिद्घे नजर ममाथि परिरहेको रहेछ । तर म भने बेखबर थेँ ।
बा सोमबार र बिहिबार हाटमा मासु काट्ने काम गर्नुहुन्थ्यो । त्यसैले बा राति घर आउँदा पूरै मातेर आउनुहुन्थ्यो । राति सुत्ने बेला बाले मलाई “ला लाटी खा यो दबाई । यो दबाई खाइस् भने तेरो छिटै बोली फुट्छ” भनेर खोइ कुन्नि के दबाई दिनुहुन्थ्यो । म होला त भनेर विश्वास मानीमानी खाइदिन्थेँ ।”
लाटीका यी सबै दृश्यहरू एकेक गर्दै स्क्रिनमा देखिए ।
“त्यो दबाई खाइसकेपछि मलाई झपझप निद्रा लागेर आउँथ्यो । म निदाइहाल्थेँ । एकैचोटि म बिहान ब्युँझिन्थेँ । तर ब्युँझेपछि भने मलाई खोइ कस्तोकस्तो असहज अनुभूति भएर आउँथ्यो । मेरो कपडामा पनि माड लागेजस्तो कक्रक्क सेतोसेतो पदार्थ लागेको हुन्थ्यो । तर म भने कहिल्यै वास्तै गर्दिनथेँ ।
पछि गएर मलाई बादेखि बिस्तारै शङ्का लाग्न थाल्यो । एकदिन बा त्यसरी नै हाटबाट घर राति मातेर आउनुभो । मलाई सुत्ने बेला त्यसरी नै “ला लाटी खा यो दबाई । यो दबाई खाइस् भने तेरो छिटै बोली फुट्छ” भन्दै सदाको झैँ हातमा दबाई थमाउनुभो । तर मैले बाको सामुन्ने खाएजस्तो मात्रै गरेर दबाई थाहा नपाउने गरी फाल्दिएँ ।
अहँ, मलाई पहिलेझैँ निद्रा लाग्दै लागेन तर पनि म निदाएजस्तो नाटक गरी सुतिरहेँ ।
मेरो कोठामा डिबिया बलिरहेको थ्यो । करिब यस्तै आधा घण्टापछि बा मेरो बिछ्यौनामाथि चढ्नुभो । मैले आफ्नो आँखा बन्द गरी सुतिरहेकी थेँ । बाले मेरो बिस्तारै सुरुवाल तान्न थाल्नुभो । मैले बिस्तारै चिम्से आँखा पार्दै बालाई हेर्ने कोसिस गरेँ । बाले पूरै नग्नावस्थामा लिङ्ग उत्तेजित पारी मलाई बलात्कार गर्ने कोसिस गरिरहेको थाहा पाएँ ।
म एक्कासि छटपटाएँ । बाले हल्ला भो भने लाजमर्दो हुन्छ भन्ठानेछन् क्यारे, उत्तिखेरै बिजुलीको चालमा मेरो छातीमाथि चढ्दै दुई हातले मेरो घाँटी कसेर दाबेको दाब्यै गर्नुभो । मेरो सासै ठ्याक्कै रोकियो । अन्ततः मेरो मृत्यु भो ।”
स्क्रिनमा लाटीलाई घाँटी दाबी मारिएको बीभत्स दृश्य देखिँदै थियो । अचानक स्क्रिनको लाइट अफ भयो ।
हल एकछिन सुनसान भयो । रमणका आँखा उत्तिखेरै रसिएर आए । उसलाई लाटीका यी दयनीय दृश्यहरूले मनमा आरनमा तातिएर रातो फलामले झैँ नराम्रो गरी डाम्यो ।
“अनि के तिम्रो कथा सकियो ?” उसले भावुक हुँदै भन्यो ।
अकस्मात् स्क्रिनमा लाटी ह्वाँह्वाँ रोइरहेको दृश्य देखियो । एकछिनसम्म ऊ रोइरही ।
“छैन ।”
“अनि भन न त ।”
“तेसपछि मैले सबैसँग बदला लिएँ ।” उसले मन दह्रो बनाई भनी ।
“ह्वाट ? तिम्ले मरेर कसरी बदला लियौ ?”
“मान्छे मरेपछि जब आत्मा निस्किन्छ शरीरबाट तब त्यो आत्मा प्रेतात्मा बनी निकै शक्तिशाली बन्दोरहेछ । ऊ उत्तिखेरै दृश्यमा पनि देखिन सक्छ र उत्तिखेरै अदृश्य पनि हुन सक्छ । ऊ उत्तिखेरै मान्छेको रगत, नसा र दिमागभित्र पनि प्रवेश गरी असर पार्न सक्ने क्षमता प्राप्त गर्छ । हो, म पनि प्रेतात्मा बनेँ र त्यसरी नै मैले एक अद्भुत शक्ति प्राप्त गरेँ ।” लाटीले यत्ति भनी ।
“वाहियात ! यस्तो नि कैँ हुन्छ ?”
“के तिम्लाई विश्वास लागेन ?”
“अहँ ।”
“ऐले तिमी काँ छौ ?”
“म पुरानो हवेलीभित्र ।”
“याद गर त तिमी, एउटा बादलको टुक्रा आई तिम्रो छातीवरिपरि घुमी हराउँदा तिम्लाई कुनै अनौठो अनुभूति भा’थ्यो कि थे’न ?”
रमणले एकेक गर्दै पूर्वदृश्य सम्झ्यो र भन्यो, “थ्योथ्यो ।”
“हो, त्यो एक टुक्रा बादल मैँ थेँ । त्यो छायाजस्तो घोडाको प्रेतात्मा पनि मैँ थेँ, बुझ्यौ ?” उसले अथ्र्याउँदै भनी ।
“अँ, बुभेmँ बुभेmँ । भन तिम्ले कसरी बदला लियौ ?”
“म मेरो तेह्रौँ तिथि सकेपछि पनि मलाई आफ्नो घर छाडी कैँ जान मनै लागेन । मेरो सामुन्ने म आफ्नै बालाई देख्दा औडाहा भई आउँथ्यो र बालाई कसरी मार्ने भनी छटपटिन्थेँ ।
मलाई घाँटी दाबी मार्ने आफ्नै बलात्कारी बा, मलाई विश्वासघात गर्ने आफ्नै प्रेमी लाटा र मलाई बलात्कार गर्ने सुब्बालाई कसरी मार्ने भनेर म जुक्ति सोचिरहन्थेँ ।
अनायासै मभित्रको मनले भन्यो, ‘ऐ लाटी, तँ ऐले मान्छे होइनस्, मान्छे । तँ त मरेकी प्रेतात्मा होस्, प्रेतात्मा । तँसँग अपार शक्ति छ । किन तँ आफ्नो शक्तिको प्रयोग गर्दिनस् ?’
अनि पैले मैले आफ्नै बालाई मार्ने निर्णय गरेँ । बा त्यो दिन पनि हाटबाट रक्सी पिएर आउनुभाथ्यो । बा सुत्न भनी माथि टाँडमा उक्लिनुभो र लुङ्गी खोलेर उत्तानो परी सुत्नुभो ।”
बदला घटना नं. १
“मध्यरातमा बालाई निद्रामा पारी म आफ्नो प्रेतात्मा शक्तिद्वारा उनको शरीरभित्र छिरेँ ।”
एक्कासि स्क्रिनमा लाटी त लाटीको रूपबाट जेठा नेवारको शरीरमा सेतो धुवाँजस्तो भई प्रवेश गरेको दृश्य देखियो । ऊ एक्कासि जुरुक्क उठ्यो । अनि उसले आङ जिरिङ्ङ गर्यो । उसको बडी ल्याङ्ग्वेजमा तुरुन्तै परिवर्तन भएको देखियो । उसले दुवै आँखा ठुल्ठुला बनाई पिर्लिक्क पारी हेर्यो ।
“मैले बाको शरीरमा खुब कामोत्तेजना ल्याइदिएँ ।”
उसको शिश्न हनुमानकट्टुुभित्रबाटै ठाडो ४५ डिग्रीको कोणमा तेर्सिएको देखियो स्क्रिनमा ।
“अनि बाको मनभित्र कट्टु खोल्ने इच्छा जगाउँदै मेरो अर्को नाङ्गो रूप बाको अघि ठिङ्ग उभिएको देखाइदिएँ र उनको शरीरबाट बाहिर निस्केँ ।”
अकस्मात् स्क्रिनमा जेठा नेवारले हनुमानकट्टु खोल्दै गरेको दृश्य देखियो । ऊ पूर्ण रूपमा दिगम्बर भयो । उसको अघि लाटी दिगम्बर अवस्थामै ठिङ्ग उभिइरहेकी थिई । ऊ लाटीनजिक शनैः अघि बढ्दै गयो । नजिक पुगेपछि उसले लाटीलाई गम्लङ्ङ अँगाल्यो ।
हेर्दादेर्दै लाटीको अनुहार बदलिँदै गयो र ऊ एक डरलाग्दो प्रेतको रूपमा प्रस्तुत भयो । उसका लामालामा फिँजिएका कपाल भुइँसम्मै लत्रिएका थिए । हात र खुट्टाका नङहरू बिरालोका नङ्ग्राजस्ता लामालामा भएर आए । फेरि अकस्मात् उसको अँगालोबाट निमिषमै हरायो प्रेत ।
जेठा नेवार अतिशय आत्तियो र उसको सातोपुत्लो उड्यो ।
फेरि अचानक उसको पछाडि देखिई स्क्रिनमा त्यही प्रेत । उसले जोडजोडले हाँस्दै भनी, “आऊ बा, मलाई बलात्कार गर, बलात्कार । म तिम्रै छोरी लाटी हुँ, लाटी ।”
जेठा नेवारले पछि फर्की हेर्यो । निमिषमै उसको रक्सीको नसा दिमागबाट उत्रियो ।
ऊ भाग्न खोज्यो तर मिलिक्क बिजुली चम्केझैँ ऊ भाग्ने दिशातिर फेरि त्यही प्रेत ठिङ्ग उभियो ।
फेरि ऊ अर्को दिशामा भाग्न खोज्यो । फेरि त्यसै गरी प्रेत मिलिक्क भाग्ने दिशामा ठिङ्ग उभियो ।
ऊ कतै पनि भाग्न सकेन ।
ऊ थचक्कै टाँडको भुुइँमा बस्यो र दुई हात जोड्दै माफी माग्दै भन्यो, “लाटी मलाई माफ गर्दे । छोरी मलाई माफ गर्दे, म अपराधी हुँ ।”
लाटी सैतानी शैलीमा जोडजोडले हाँसी र उसले भनी, “हा...हा..., म तेरी लाटी हुइनँ । म तेरी छोरी हुइनँ । म त लाटीकी मरेकी प्रेतात्मा हुँ, केवल प्रेतात्मा ।”
प्रेतले रिसाउँदै यत्ति भनी र मिलिक्क स्क्रिनबाट हराई ।
फेरि सेतो धुवाँजस्तो उसको शरीरमा एक टुक्रा धुवाँ प्रवेश गरेको स्क्रिनमा देखियो ।
उसले फेरि आङ जिरिङ्ङ गर्यो । उसले अघिझैँ दुवै आँखा सेतोसेतो पारी पिर्लिक्क पल्टायो ।
ऊ बसिरहेको ठाउँबाट जुरुक्क उठ्यो र सिरानीतिर बढ्यो । उसले सिरानी पल्टायो । सिरानीतल एउटा धारिलो छुरी देखियो । उसले दायाँ हातले त्यही छुरी च्याप्प समायो र बिछ्यौनामाथि चढ्यो ।
माछा तार्नुअघि माछालाई चिराचिरा पारेजस्तै गरी छुरीले उसले आफ्नै राइफल ठाउँ ठाउँमा चिराचिरा पार्यो । अन्ततः उसले आफ्नै राइफल च्वाट्टै पारी जरै भिराई काट्यो । काटिएको राइफलको टुक्रा बिछ्यौनामा तल फ्यात्त झर्यो । अकस्मात् राइफल काटिएको ठाउँबाट ह्वालह्वाल रगत बग्न थाल्यो । ऊ अतिशय तड्पियो र छट्पटायो ।
फेरि अकस्मात् आफ्नै दुई हातले घाँटी दाब्दै ऊ माथितिर हावामा लट्किँदै गरेको स्क्रिनमा देखियो । ऊ पासो लागेजस्तै गरी छट्पटायो र अकस्मात् हावामा झुन्डियो । मानौँ, उसलाई कसैले पासो लगाई मारेको हुँदो हो ।
एकछिनसम्म उसको टाउको लत्रक्क परी हावामा चचहुई ...चचहुई खेलिरहेको स्क्रिनमा देखियो ।
निमिषमै स्क्रिन ब्ल्याकआउट भयो ।
हलमा अकस्मात् घामको उज्यालो पोखियो ।
रमणले पूर्व फर्की हेर्यो । उसले देख्यो एउटा रातोपहेँलो नाङ्लोजत्रै घाम आकासिँदै थियो ।
“अहो ! उज्यालो नि भैसकेछ । अनि, तिम्रो कथा सकियो त ? लाटी, ए लाटी । तिम्रा कथाहरू सकिए कि बाँकी छन् ?” उसले लाटीलाई फेरि थप प्रश्न गर्यो ।
“...”
तर लाटी स्क्रिनमा आइन ।
“तिम्ले कथा नसुनाउने हो भने मलाई जाँबाट ल्याथ्यौ त्यैँ लगेर छोड्देऊ । लाटी, ए लाटी, सुन्दै छ्यौ तिमी ?” उसले पुनः लाटीलाई स्क्रिनमा ल्याउने कोसिस गर्दै भन्यो ।
लाटी निमिषमै स्क्रिनमा फेरि देखिई तर ऊ ह्वाँह्वाँ अविरल रोइरहेकी थिई ।
“तिम्रा कथा सकिए कि बाँकी छन् ?” उसले फेरि प्रश्न गर्यो ।
“कथा त अझै बाँकी छन् । तर भो अब मलाई सुनाउनु छैन ।” उसले आँसु पुछ्दै यत्ति भनी ।
“अनि, बाँकी बलात्कारीहरूलाई कसरी मार्यौ नि ?” उसले अझै थप प्रश्न गर्यो ।
“म जसरी बाको शरीरमा पसँे र बा स्वयंले आफ्नै लिङ्ग काटीकाटी मरे, हो, त्यसै गरी मैले सबैलाई मारेँ ।”
“अनि, त्यसपछि ?”
“लाटालाई ।”
“उसलाई किन मार्यौ ?”
“किनकि, लाटा मेरो पहिलो मायालु थ्यो । तर उसले पनि मसँग विश्वातघात गर्यो र मसँग सुती हिँडेको खबर गाउँगाउँ सुनाई हिँड्यो ।”
एकछिन रोकिँदै छाती फुलाउँदै लाटीले लामो सास तानी र फेरि त्यसै गरी हावामा लामो सास छोडी र भनी, “हेर रमण, आमा मरेको घरमा एक युवती छोरी कैल्यै सुरक्षित रहन्न । यदि रही भने नि बाका कामुक नजरले बारम्बार बलात्कार गरिरहेका हुनेछन् ।
बाले आफ्ना कामुक आँखाद्वारा छोरीको स्तनमा बलात्कार गर्नेछन् । छोरीका नाइटोमा, कम्मर, नितम्ब र तिघ्रामा बारम्बार बलात्कार गर्नेछन् । आँखाविना पनि मनका हातले छोरीका सारा शरीरभरि सलबलाई बारम्बार बलात्कार गरिरहनेछन् ।
ती बा के बा, जसले आफ्नै छोरीलाई बलात्कार गर्छन् ? त्यो समाज के समाज, जुन समाजमा सुब्बाहरूजस्ता हिंसक बलात्कारीहरू मान्छेका रूपमा ब्वाँसाझैँ लुकेर बस्छन् ?
हेर रमण, म यत्ति भन्छु, यो संसारमा कुनै आमाका गर्भमा कुनै छोरीका भ्रूणहरू आइन्दा बस्दै नबसोस् र संसार छोरैछोराले भरियोस् । अनि हेर्नु छ मलाई, संसारमा चारैतिर घुमीघुमी जहाँ पुरुषले नै पुरुषहरूमाथि बीभत्स बलात्कार गरिरहेका दृश्य ।
बस, यत्ति हेर्नु छ मलाई रमण । के तिमी साँच्चै ! मेरा यी ‘अलिखित कथाहरू’ लेखिदिन्छौ ?”
०००
“बुडा, ए बुडा । होइन, उठ्ने बेला भएन ? घाम त टाउकैमा उभिइसक्यो त ?” रमाले चर्को स्वरमा झकझक्याउँदै उठाइन् रमणलाई ।
“हँ” गर्दै रमण निमिषमै सपनाबाट तर्सिंदै उठ्यो र उसले बिछ्यौना छाम्यो । उसले आफूलाई ठिमीको आफ्नै घरको बिछ्यौनामा पायो । ऊ डरले असिनपसिन भयो ।
तुरुन्तै उसले केही सोच्नै सकेन । उसलाई यति थाहा भयो कि ऊ आफू गहिरो एउटा डरलाग्दो सपनाबाट ब्युँझिँदै थियो । ऊ केही सम्झिन खोजेजस्तै गरी एकछिन टोलाइरह्यो ।
“हैन, के टोलाइरा’ ? उठ्नुस् न छिटो र फ्रेस हुनुस् । कफी राखिदे’की छु टेबुलमा ।” यत्ति भनी रमा कोठाबाट बाहिरिई ।
रमणले सपनामा देखिएका एकेक घटनाहरू सम्झ्यो । उसले कथा सार्दै गरेको नोटबुक सम्झ्यो । उसले झट्टै पेन सम्झ्यो । अनि फेरि उसले झोला सम्झ्यो । यतैकतै छ कि भनेर छामछामछुुमछुम पनि गर्यो । तर उसले केही भेटेन । अझै पनि बिपना हो कि सपना छुट्याउन उसलाई अतिशय कठिन भएर आयो ।
उसले फेरि स्क्रिनकी लाटी सम्झ्यो । उसले जेठा नेवारको राइफल चिराचिरा पारी काटिएको दृश्य सम्झ्यो ।
उसले फेरि एक वर्षअघिका जेठा नेवार, लाटा र सुब्बाका गाउँमा घटेका आफ्नै कानले सुनेका मृत्युका सबै पहेलीपूर्ण घटनाहरू एकेक गर्दै सम्झ्यो ।
अन्त्यमा, उसले आफू र लाटीका बिच दुवै जनाका सहमतिमा भएको यौनसम्बन्ध पनि सम्झ्यो ।
यति सम्झिसकेपछि ऊ एक्कासि ह्वाँह्वाँ पश्चात्तापको रुवाइ रुनसम्म रोयो । निमिषमै उसलाई आङ जिरिङ्ङ भइआयो र ऊ लगलग काँप्यो । अन्ततः उसलाई नराम्ररी जरो आयो ।
“रमा, ए रमा । लौ न ! मलाई त हनहनी जरो पो आयो त । मर्छु पो क्या हौ म त ?” यति भन्दै लुगलुग काम्दै फाइबरसिरक तान्दै पुषमाघमा कुकुर गुडिल्किएर सुतेझैँ ऊ सुत्यो ।
रमा आत्तिँदै आई र उसको छेउमा बसी । एकछिन जिउहातमा पानीपट्टी गरिदिई ।
जरो अलि ओर्लेको जस्तो भयो र ऊ निमिषमै निदायो ।
०००
आकाशबाट एउटा चिल उड्दैउड्दै आयो र झ्यालबाट रमणको कोठाभित्र स्वाट्ट छिर्यो अनि खुट्टानिर पलङछेउ गई भुइँमा बस्यो ।
त्यो चिल हेर्दाहेर्दै सेतो वस्त्र पहिरेकी त्यही लाटी बनी र उसले ओढिरहेको सिरक शनैः तान्दै भनी, “रमण, ए मेरो रमण !”
ऊ अकस्मात् आत्तिएर “हैट् ! हैट् !” भन्दै ब्युँझियो ।
रमा पनि ऊ चिच्याएको सुनेर दौडिँदै आई । उसको छेउमा बसी र अँगाली रमणलाई ।
त्यहाँ कुनै लाटी थिइन न त त्यहाँ कुनै चिल नै थियो । रमाको तातो साथ पाएपछि रमण फेरि निदायो ।
“रमण, तिमी नडराऊ । त्यो सम्भोग त तिमी र मेरोबिचको सहमतिको सम्भोग थियो ।” उसलाई कानैनजिक आएर सासेस्वरमा कसैले फुस्फुसाएजस्तो लाग्यो ।
उसले अनायासै आँखा पिर्लिक्क खोल्यो । उसले दायाँबायाँ हेर्यो तर केही देखेन । केवल आफूलाई अँगालिरहेकी आफ्नै पत्नी रमालाई देख्यो । ऊ ढुक्क भयो र फेरि निदायो ।
०००
रमणले लाटीको सत्य घटनामा आधारित कहीँकतै नलेखिएको “अलिखित कथा” लेखेर आफ्नो “फिर्दोसको साँचो” शीर्षकको कथासङ्ग्रहमा छाप्यो । यो कथासङ्ग्रह देशव्यापी रूपमा नै चर्चामा आयो ।
०००
“फिर्दोसको साँचो” कथासङ्ग्रह छापिएको एक वर्ष कटिसकेको थियो । घरगाउँ र सहर त के पूरै देश नै शान्तिका सिरानीमा निदाएका थिए । कहीँकतैबाट पनि बलात्कारका कुनै घटनाहरूका समाचारहरू सुनिँदैनथे । पूरै देशमा सम्पूर्ण महिलाहरू आफूलाई सुरक्षित रहेको महसुस गरिरहेका थिए ।
एकदिन थिङ टोलमा रामसिस तेलीका छोरा रामबिलास एकाएक हराएको नराम्रो खबर सुनियो ।
सबै जना मिली उसलाई धुइँपत्ताल खोज्ने कार्य गरे । गाउँघर सबैतिर खोजिसक्दा पनि अहँ उसलाई कहीँकतै पनि पत्ता लगाउन सकेनन् । खोज्दाखोज्दै सात दिन बितिसकेका थिए ।
फार्लेन जङ्गलछेउमा रहेको बानटोलमा आएर एभरेस्ट सुगरमिल बसेपछि महोत्तरी जिल्लामा व्यापक रूपमा उखुखेती गर्न थालिएको थियो । जताततै उखुका नै खेतैखेत देखिन्थे । रामनगर घोडवाल ठाइँलाको सय बिघा खेतदेखि लिएर पश्चिम थिङटोल गरी दुई सय बिघा उखु खेतैखेत आँखाले नभ्याउने गरी आकाश फैलिएझैँ फैलिएको थियो ।
सात दिनपछि रामसिसको घरदेखि पूर्वमा रहेको एक बिघा आफ्नै उखुखेतबाट सिनो गन्हाएको हरकले उसलाई अतिशय बेचैनी गरायो । ऊ दुविधामा पर्यो ।
उसको मनमा अकस्मात् छोरो हराएको शङ्का भुलुक्क उम्लियो र मनमनै भन्यो, “कतै यो सिनोको हरक मेरै छोरो रामबिलासको त होइन ?”
यही सिनोको हरकले उसलाई पूर्वतिर तान्दै लग्यो र ऊ तानिँदै गयो । जतिजति नजिक पुग्न थाल्यो उतिउति नाकमा सिनोको हरकले उसलाई खपी नसक्नुको अवस्थामा पार्यो । उसले घाँटीमा बेरेको गम्छाले नाक थुन्यो र सिनोको हरक पछ्याउँदै उखुखेतभित्र छिर्यो । महिलाले कपालको सिउँदो फारेजस्तै उसले दुई हातले उखुलाई फार्दैफार्दै सिनोनिर पुग्ने कोसिस गर्यो ।
जब उसले देख्यो त्यो सिनोलाई तब उसको होसहवास नै उड्यो । त्यो सिनो कुनै जनाबरको सिनो थिएन । त्यो सिनो कुनै कुकुर र बिरालोको सिनो थिएन । थियो त त्यो केवल सात दिनअघि हराएको उसैको आफ्नै छोरो रामबिलासको सडेको लासको थियो । लास कुहिएर औँसैऔँसा परेको थियो ।
उसले लासवरिपरि हेर्दै चारैतिर आँखा दौडायो । एकदुई धुरजति जमिनमा उखु सोत्तर परेर लडेका थिए । त्यहाँ देख्यो उसले, छसात पाँजाको एक अँगालो पहेँलिएको घाँसको एउटा थुप्रो थियो । अर्को छेउतिर एक पाँजा छरिएको घाँस ओइलिएर पनि सुकेर पराल भइसकेको थियो । अलि परतिर नाम्लो र डोको छरिएको देखियो । डोकोछेउमै थियो शीतले गर्दा खिया लागेर पहेँलिएको एउटा आँसी ।
फेरि उसले लासको शिरदेखि उँधो निकै गहिरो दृष्टि गाड्यो । तब देख्यो उसले नाइटोदेखि उँधोका दुईवटा अण्डकोष बाँकी राखी जरै भिराएर काटिएको थियो लासकोे राइफल । उसका आँखाले एकाएक राइफलको खोजी गर्यो । अलि परतिर औँसैऔँसा परेको काटिएको राइफललाई आहारका लागि कमिलाहरूले लग्दै गरेको बीभत्स दृश्य देखियो ।
उसलाई अकस्मात् भाउन्न भएर आयो । ऊ निस्तब्ध भयो र ठाउँको ठाउँमै थुचुक्कै बस्यो । उसको मगजमा अहँ केही फुर्दै फुरेन । ऊ निर्बोधझैँ माखेसाङ्लो अवस्थामा पुग्यो । रामबिलासलाई कसले मार्यो र किन मार्यो ? उसका लागि यो सबै पहेलीकै विषय बन्यो । अझै पनि उसका शङ्काका बाहुलीले कसैलाई पनि समाउन सकेनन् ।
उसले फेरि एकपल्ट लासमा तिखो नजर गाड्यो र कमिलाले लग्दै गरेको औँसैऔँसा परेको राइफललाई हेर्यो । थुचुक्कै भुइँमा बस्यो र लामो सुस्केरा हाल्यो ।
ऊ फेरि पनि निर्बोध अवस्थामा पुग्यो । रामबिलासको मृत्युको घटना एक महापहेलीको पहेली नै रह्यो ।
(हालै लोकार्पित राजबाबुको कथाकृति ‘फिर्दोसको साँचो’को पुस्तक अंश)