
काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशेष शान्ति कविता गोष्ठी आयोजना गरेको छ । २०६५ सालदेखि नेपाली साहित्य, कला, संस्कृतिका क्षेत्रमा यस संस्थाले काम गर्दै आएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि तुलसी दिवसले आफ्नो चर्चित कविता ‘हिँडदा हिँडदै...’ वाचन गर्दै कविता गोष्ठीको उद्घाटन गरे । कवि दिवसले मन्तव्यका क्रममा प्रतिष्ठानले निरन्तर गर्दै आएको कामको प्रशंसा गरे ।
दिवसले साहित्यकारले आफ्नो स्वतन्त्र व्यक्तित्व निर्माण गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रतिष्ठानले नगद राशि ११ हजार एकसय १ सहित कवि शकुन्तला जोशीलाई सम्मानित गर्यो । कवि दिवसलगायतका अतिथिहरूले कवि जोशीलाई सम्मानित गरे ।
उक्त अवसरमा प्रतिष्ठानको वार्षिक साहित्यिक पत्रिका ‘कलाश्री’को नयाँ अंक सार्वजनिक गर्नुका साथै कलाश्रीको ई–पत्रिका पनि लोकार्पित गरियो ।
शान्ति कवि गोष्ठीमा कविहरू विधान आचार्य, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, एसपी कोइराला, वसन्त श्रेष्ठ, प्रतीक ढकाल, डा. कृष्णराज डिसी, शकुन्तला जोशी, रामगोपाल आशुतोष, सोझो गाउँले, मोहित जोशी, कविता राई, रसिक राज, उमेश अकिञ्चन, मौन आवाज, प्रेमिला राईले आआफ्ना कविता वाचन गरे ।
प्रतिष्ठानका संरक्षक डा. विमल कोइरालाले साहित्यले मुलुकको सभ्यताको परिचय दिने बताए । त्यसको मापन गर्ने कला साहित्य र संगीत नै भएको उनको तर्क थियो ।
प्रा.डा. गोविन्दराज भट्टराईले प्रकाशित कृति कलाश्रीमाथि समीक्षात्मक टिप्पणी गरे ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोमिला र राजेश्वर कार्कीले पनि बोलेका थिए ।