site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि विश्वकप खेल्ने भएको छ ।

घरेलु मैदानमा जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने भएकाले नेपाल यो जितसँगै विश्वकपका लागि छनोट भएको हो । 

नेपालले यसअघि पछिल्लो पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण आयोजना भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

Dabur Nepal
NIC Asia

यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो । सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो ।

त्यसबेला नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो । र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

तर, शुक्रबार मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा उक्त हारको बदला लिएको छ । यूएईले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले अविजित ६३ रन बनाए । आसिफले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो चौथो अर्धशतक हो । 

कप्तान रोहितकुमार पौडेलले ३५ रन जोडे । गुल्सन झाले २२ र अर्का ओपनर कुशल भुर्तेलले ११ रन थपे ।

यूएईका निलान्स केशवानी र बसिल अमिदले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो ।

यूएईका भ्रित्या अरविन्दले ६४ रन बनाए । उनले ५१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । कप्तान मुहम्मद वसिमले १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । आलिसान सराफुले १६ र आसिफ खानले १३ रन थपे । 

नेपालका कुशल मल्लले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका मल्लले ११ रन खर्चिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी र कप्तान पौडेल समान एक विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनल आएका थिए । नेपालले अब छनोटको उपाधिका लागि ओमानसँग खेल्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro