site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभा २४४ घण्टा ५० मिनेट चल्यो, कार्यप्रगतिमा सन्तुष्ट छैनन् सांसद
फाइल तस्बिर।

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । २०८० वैशाख २४ गते आइतबार प्रारम्भ भई आजसम्म जम्मा १८० दिन प्रतिनिधिसभा बैठक सञ्चालन भयो । प्रतिनिधिसभाको यो बजेट अधिवेशन हो ।

संघीय संसद् सचिवालयका अनुसार चालु अधिवेशन १८० दिन चल्यो । जसमध्ये ६१ दिनमा सदनको ६५ वटा बैठक बस्यो । सदनले २४४ घण्टा ५० मिनेट ससंदीय काम कारबाहीमा व्यतित गर्‍यो ।

यति लामो समय अधिवेशन चले पनि बजेटसम्बन्धी तीनबाहेक जम्माजम्मी एउटा विधेयक पास गरेको देखिन्छ । संसद्ले मिटरब्याजसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पास गरेको हो ।

“सभाबाट आर्थिक विधेयक, २०८०, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० गरी कूल चारवटा विधेयक पारित भएका छन्,” अधिवेशन अन्त्य गर्ने क्रममा सदनलाई भए गरेका कामको विवरण सुनाउँदै सभामुख देवराज घिमिरेले भने ।

सांसदहरूकै गुनासो : अधिवेशन प्रभावकारी भएन

सात महिना लामो चलेको यो अधिवेशन नीति–निर्माण र कानुन तर्जुमाको पक्षबाट उपलब्धिमूलक नभएको स्वयं सांसदहरूको गुनासो छ । सदन अधिवेशन अन्त्य गर्नुअघि विशेष समयमा बोलेका सत्ता र प्रतिपक्षी दुवै दलका सांसदले सदन प्रभावकारी हुन नसकेको स्वीकार गरे ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका मुख्यसचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन प्रणालीको केन्द्र संसद् भएकाले प्रणाली दीर्घजीवी बनाउने हो भने संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले सदनको चारवटा काम भए पनि आफँैले बनाएको कानुन कार्यान्वयनको मूल्यांकन गर्ने प्रचलन भएको धारणा राखे ।

लेखकले यसलाई सदनको पाँचौँ जिम्मेवारीको रूपमा व्याख्या गरे । “सदनको पाँचौँ काम नयाँ ढंगले आएको छ । सदनले बनाएको कानुनको अनुगमन र कार्यान्वयन प्रभावकारी भयो या भएन भनी मूल्यांकन गर्ने प्रचलन अघि बढेको छ,” उनले भने ।

नीति तर्जुमा गर्ने, कानुन बनाउने, बजेटमार्फत राज्य व्यवस्था अघि बढाउने थलो हो, संसद् । राज्य संयन्त्रमाथि निगरानी गर्ने थलो पनि संसद् नै हो । जनप्रतिनिधि भएपछि पाँच वर्ष संसदीय राजनीतिमा जम्ने र रम्ने अधिकार सांसदमा हुन्छ ।

उनीहरूको काम राज्य सञ्चालनमा कानुन निर्माता बन्नु मात्र हैन, जनताको आवाज बुलन्द पार्दै सरकारलाई जनउत्तरदायी बनाउनु पनि हो । जनमतद्वारा स्वीकृत भइसकेपछि सांसदहरुले बहस, छलफल गर्न पाउने थलो संसद् हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले संसद्को चालु अधिवेशन प्रभवकारी बन्न नदिन सरकार स्वयं लागेको आरोप लगाए । उनले सांसदहरूले उठाएको आवाज पूर्ण रुपले नसुन्ने, विपक्षीलाई दबाउन खोज्ने, विषय सुन्न नचाहेपछि वेल घेर्नुपर्ने बाध्यता नै सरकारको चरित्र स्पष्ट पार्ने धारणा राखे ।

“ऐन कानुन निर्माण र बनाउने महत्वपूर्ण अभिभाराबाहेक अन्य कानुन निर्माण हुन सकेन । विधेयकहरु प्रस्तुत नहुँदै विवादमा ल्याउने काम भयो,” उनले भने, “किन नयाँ विधेयक आउँदैन ? यसको पछाडि को जिम्मेवार छ ? सरकार जिम्मेवार छ । यसले सरकारको नियत स्पष्ट पार्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले सदनको आवाज सरकारले नसुनेको उल्लेख गरे । ‘‘संसद्ले जनप्रतिनिधिको आवाज सुनेको छैन भने नागरिकको आवाज कसरी सुन्छ ?,’’ उनको प्रश्न रह्यो ।

उनले आफ्नो पार्टीले पटक–पटक दर्ता गराएको संकल्प प्रस्तावलगायत विषय सरकारले छलफलमा नल्याएकामा असन्तुष्टि व्यक्त गरे । “मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रश्न सोध्छौँ, ताकि उहाँहरुबाट जवाफ आउन सकोस्, र नागरिकलाई आश्वस्त पार्न सकियोस् । तर, दुःखका साथ भन्छु, यो संसद्ले हामी जनप्रतिनिधिका आवाज सुनेको छैन भने नागरिकको आवाज कसरी सुन्छ ?,” उनले भने, “योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथे । नागरिकको समस्याहरू सुल्झाउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।”

विधेयकको अवस्था

यो अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये तीनवटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएका छन् । तीनवटा विधेयक समितिमा विचाराधीन रहेको र दुईवटा विधेयक सभामा प्रस्तुत मात्र भएको सभामुख घिमिरले जानकारी दिए । घिमिरेले एउटा विधेयक दर्ता मात्रको स्थितिमा रहेको जानकारी दिए ।

वैशाख अन्तिम सातादेखि सुरु भएको दोस्रो अधिवेशनमा पनि पाँच विधेयक दर्ता गराइएको छ । भन्सार विधेयक, २०८०, बैंकिङ कसुर तथा सजाय विधेयक, २०८०, औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८०, विद्युत् विधेयक, २०८० र विद्यालय शिक्षा विधेयक, २०८० चालु अधिवेशनमा दर्ता गराइएको हो । औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८० गैरसरकारी विधेयक हो ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा चार विधेयक दर्ता गराइयो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सो अधिवेशनमा दर्ता गराइएको थियो । यो विधेयक ७९ कानुन संशोधन गर्ने गरी दर्ता गराइएको हो ।

सदनको पहिलो अधिवेशनमा दर्ता भएका बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक कानुन समितिले प्रतिवेदन तयार गरे पनि पारित भएको छैन ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ पनि पहिलो अधिवेशनमा दर्ता भएका थिए ।

यस्तै, प्रतिनिधिसभामा राष्ट्रियसभाबाट पठाइएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छन् ।

सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ पनि राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको छ । ती विधेयकहरु समितिमा पठाइएका छन् ।

१६८ प्रश्नमा १३२ वटाको उत्तर

संघीय संसद् सचिवालयका अनुसार यो अधिवेशनमा सांसदबाट १६८ प्रश्न दर्ता भएका छन् । जसमा १३२ प्रश्नको उत्तर मन्त्रायलहरुबाट दिइएको छ ।

विभिन्न मन्त्रालयसँग सम्बन्धित १६२ वटा मौखिक र ६ वटा लिखित प्रश्नहरु दर्ता भएका छन् । जसमध्ये १२९ वटा मौखिक र तीनवटा लिखित प्रश्नहरुको उत्तर प्राप्त भएको छ । सभाको विभिन्न बैठकमा १५ वटा मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भएको र बाँकी प्रश्नहरूको उत्तर सदनको अधिवेशनको अन्तिम बैठकमा टेबल गरिएको छ ।

एमालेले साउनभरि चल्न दिएन सदन

एक सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन महिनाभर सदन अवरोध गर्‍यो । साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्धको सुरुआत गर्‍यो । सरकार भने सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरीय छानबिन समिति गठन गर्न नसक्ने अडानमा रह्यो ।

साउन १० गतेपश्चात् बोलाइएको संसद् बैठक कार्यसूचीमा प्रवेश नगरी कहिले सूचना टाँसेर त कहिले एमालेमात्र बोलेर स्थगन भएको छ । साउन १५, १६ र २२ गतेको बैठक सूचना टाँसेर स्थगन भए ।

साउन २३ गतेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दिएको जवाफ पनि एमालेले चित्त बुझाएन । साउन २४, २६ र २९ गते बैठक चले पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भयो ।  यस्तै, भदौ ३ र ५ गतेको बैठक पनि सूचना टाँस गरेर स्थगन गरिएका थिए ।

७१ घण्टा चलेको राष्ट्रियसभामा भएका उपलब्धि

बिहीबार राति १२ बजेदेखि राष्ट्रियसभाको १४औँ अधिवेशनको अधिवेशन पनि अन्त्य हुँदै छ । २०८० वैशाख २४ गते आइतबार अपराह्न ४ः ०० बजेदेखि  प्रारम्भ भई कात्तिक १६ गतेसम्म १८० दिनमा ३९ दिन राष्ट्रियसभा बैठक चलेको छ । जसमध्ये ४८ वटा बैठक बसेको छ । राष्ट्रियसभा ७१ घण्टा ११ मिनेट सभाको काममा व्यतित भएको संघीय सचिवालयले जानकारी दियो ।

सचिवालयका अनुसार यस अधिवेशन अवधिमा ११ वटा बैठकमा शून्य समय चलेको थियो । उक्त शून्य समयमा ३९ जना सभा सदस्यहरू एक घण्टा २६ मिनेट बोलेका थिए । यस अधिवेशनका ६ वटा बैठकमा विशेष समय रहेको थियो । विशेष समयमा ३७ जना सदस्यहरुले आठ घण्टा ०९ मिनेट समय धारणा राखेका छन् ।

राष्ट्रियसभामा हाल विधायनसम्बन्धी विधेयक, २०८० र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

यस्तै, राष्ट्रियसभामा उत्पति भएका नेपाल विश्वविद्यालय विधेयक, २०८०, र गैरसरकारी विधेयकको रुपमा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको छ । सभाले बिहीबार मात्र सभाबाट पारित भएको विद्युतीय व्यापार विधेयक, २०८० को सन्देश समेत प्रतिनिधिसभामा पठाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro