
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार संसदीय दलको बैठकमा उनले तरमाराहरूको खुसीका लागि शान्ति प्रकिया टुंग्याएको मान्न नसकिने बताए ।
“शान्ति प्रक्रियाका सन्दर्भमा पीडितलाई न्याय दिने गरी पीडित केन्द्रित हुनुपर्छ । कानुन पनि पीडित केन्द्रित हुनुपर्छ । पीडितलाई पेलपाल गर्ने, त्यत्रो पीडा भोगेर आए अब पनि उनीहरूलाई नै थिचोमिचो गर्ने ?,” ओलीले भने, “तरमाराहरूको, जो छुट्टी मनाएर उत्सव मनाइरहेका छन् । तिनीहरूको खुसीयालीका लागि लागि शान्ति प्रक्रिया टुंग्याएको बाहनाबाजी गर्न सकिँदैन ।”
ओलीले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताए । साथै संयुक्त राष्ट्रसंघका महासचिवले संसद्मा पीडित केन्द्रित हुनुपर्ने, अन्तर्राष्ट्रिय सुझावलाई ध्यान दिनपर्ने भन्ने सुझावप्रति प्रतिबद्ध रहेको पनि बताए ।