site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घोषणापत्रमा प्रमुख दलका रेल सपना

काठमाडौं । नेपाली भूमीमा अहिले रेल गुडेको छैन । जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग लगबग तयारी अवस्थामा रहे पनि रेल अभावमा रेल चलाउन सक्ने अवस्था नरहेको रेल विभागले जनाउँदै आएको छ । सरकारले भारत सरकारले बनाइदिएको रेल्वेमा रेल बनाएर गुडाउन सकेको छैन । तर, राजनीतिक दलहरुले भने रेलसँग जोडेर जनतासामू ठूलाठूला सपना बाँड्न छोडेका छैनन् । सबै ठूला दलले रेलको सपना बाँडेका छन् । कांग्रेस देखि एमाले–माओवादीको बाम गठबन्द्धन तथा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसम्मले आफ्नो घोषणापत्रमा रेल कुदाएका छन् । 

कांग्रेसले दुई वर्षभित्र २ सय किलोमिटर रेलमार्ग निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । 

नेपाली कांग्रेसले यातायातको विस्तार शिर्षकामा आफ्नो घोषणापत्रमा– आन्तरिक व्यापारको लागत कम गर्ने, नेपाललाई चीन र भारतको पारवाहन पुलको रुपमा विकास गर्ने र बढी मानवीय आवगमन हुने भौगोलिक क्षेत्र तथा शहरमा द्रत गतीको बृहद सार्वजनिक यातायातको व्यवस्था गर्ने सोचबाट रेलमार्ग विकास कार्यक्रम निर्देशित हुनेछ’ उल्लेख  । यस्तै कांग्रेसले अर्को बुँदामा तराईका सबै भागहरु रेलमार्गबाट जोडिने सम्भावनालाई मुर्तरुप दिने रणनीति कार्यान्वयन गरिनेछ । आगामी ५ वर्ष भित्रमा पूर्व–पश्चिम रेलमार्गको २ सय किलोमिटर खण्ड निर्माण गरिनेछ । 

रेल सञ्चालनका सम्बन्धमा एमाले–माओवादी गठबन्धन कांग्रेसभन्दा एककदम अगाडि देखिएको छ । उसको घोषणापत्रमा ५ वर्षमा रेलमार्ग सञ्चालन गर्ने उल्लेख गरेको छ । ५ वर्षमा काठमाडौंको चक्रपथमा आवश्यक गतिका रेल सञ्चालन गरिने जनाएको छ । 

यातायात पूर्वाधारः आर्थिक रुपान्तरणको आधार शीर्षकमा एमाले–माओवादीले आफ्नो घोषणा पत्रमा भनेका छन्, –

आगामी ५ वर्षमा पूर्व–पश्चिम राजमार्ग, पूर्वपश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गहरुका समानान्तर तीब्र गतिका विद्युतीय रेलमार्ग संचालन गरिने छ । त्यसैगरी यसै अवधिमा रसुवागढी–काठमाण्डौ–बीरगंजमा तिब्रगतिको विद्युतीय रेलमार्ग संचालन गरिने छ । 

आगामी ५  वर्षमा राजधानी उपत्यकाका चक्रपथहरुमा आवश्यक गतिका रेल सञ्चालन गरिने छ । काठमाडौँ लगायत अन्य मुख्य सहरहरुमा संभाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने छ । स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिने छ ।

राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरुसँग द्रूतमार्गहरुद्वारा जोडिने छ । प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश केन्द्रहरुलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालद्वारा जोडिने छ । 

जनतालाई रेलको आश्वासन दिने अर्को दल नयाँ शक्ति पार्टी नेपाल पनि हो । उसले एकै दिनमा रेलबाट मेची–कालीको सपना देखाएको छ । 

३९ पेज लामो आफ्नो घोषणापत्रको ११ नम्बर पेजमा रेलमार्गः शीर्षकमा नयाँ शक्तिले पूर्व–पश्चिम र मध्यपहाडी लोकमार्गको समानन्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने २ रेल मार्गहरु निर्माण गरिनेछ । 

पूर्व पश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर छ । चालु आर्थिक वर्षमा सरकारले जम्मा ४ अर्ब बजेट छुट्याएको छ । यही बजेटमा  मोनो रेल र मेट्रो रेलको पनि समावेश छ । रेल विभागका अनुसार यही बजेटको अनुपातमा पूर्वपश्चिम रेलमार्ग बनाउन ८६ वर्ष लाग्छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०७४  १५:५१
प्रतिक्रिया दिनुहोस्