site stats
बाह्रखरी :: Baahrakhari
विदेश
के भारत र रुसको सम्बन्धमा दरार आएको हो ?

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमी देशहरूले भारत र चीनलाई एकअर्काविरुद्ध खडा गरेर तनाव बढाउन खोजिरहेको बताएका छन् । 

गत हप्ता उनले भनेका थिए, “पश्चिमी देशहरूले एसिया–प्रशान्त क्षेत्रलाई इन्डोप्यासिफिक भन्न थालेका छन् । यो स्पष्ट छ कि पश्चिमले चीनविरोधी नीतिलाई बढावा दिइरहेको छ, यसले हाम्रो असल मित्र भारत र छिमेकी चीनबीचको द्वन्द्व बढाउँछ ।”

पश्चिमा देशहरूले यस क्षेत्रमा आफ्नो प्रभुत्व स्थापित गर्न चाहेको उनको दाबी छ । यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ उद्धृत गर्दै उनले भने, “पश्चिमको यो नीति ‘फुटाउ र शासन गर’को नीति हो । 

रुसी विदेशमन्त्रीले भारत–चीन सम्बन्धमा पश्चिमा देशहरूको भूमिकाबारे आलोचना गरेको यो पहिलोपटक भने होइन ।

यसअघि डिसेम्बर २०२० मा पनि लाभरोभले भनेका थिए,“पश्चिम एकध्रुवीय संसार पुनर्स्थापित गर्न चाहन्छ । तर रुस र चीन यसको अधीनमा रहने छैनन् । क्वाडजस्ता पश्चिमी देशको संगठनका कारण भारत हाल एसिया–प्रशान्त क्षेत्रमा चीनविरोधी नीतिको मोहरा बनेको छ । पश्चिमा देशहरू पनि रुस र भारतबीचको सम्बन्ध कमजोर बनाउन चाहन्छन् ।”

क्वाडमा अमेरिका, अस्ट्रेलिया, जापान र भारत समावेश छन् । रुसले यसलाई चीनविरोधी समूह मान्दछ । चीनले पनि यसलाई रुसकै जस्तो नजरले हेर्छ ।

गत महिना, जब भारत र पाकिस्तानले एकअर्काको भूभागमा आक्रमण गरिरहेका थिए, क्वाड सदस्य देशहरूले भारतलाई समर्थन गर्ने अपेक्षा गरिएको थियो तर त्यस्तो भएन । यसपछि तर्क गरिएको छ, क्वाड सुरक्षा गठबन्धन होइन ।

पूर्वभारतीय कूटनीतिज्ञ राजीव डोगरा भन्छन्, “लाभरोभको टिप्पणीलाई उनले भारतलाई चेतावनी दिइरहेको अर्थ लगाउन सकिन्छ, तर एसिया प्रशान्तलाई इन्डो प्यासिफिक भन्नु त्यति ठूलो कुरा होइन ।”

राजीव डोगरा भन्छन्, “फेब्रुअरी २०२२ मा युक्रेनसँग युद्ध सुरु भएपछि, रुस पश्चिमाहरूप्रति बढी आक्रामक भएको छ । यस्तो अवस्थामा, रुसले अन्य देशहरूसँगको आफ्नो सम्बन्धलाई पनि यही दृष्टिकोणबाट हेर्छ ।”

दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको रुसी तथा मध्य एसियाली अध्ययन केन्द्रका सहप्राध्यापक डा‍. राजन कुमार भन्छन्, “लाभरोभले एकातिर भारतलाई चेतावनी दिइरहेका छन् भने अर्कोतिर रुसलाई पनि भारतको आफूप्रति निर्भरता समाप्त हुन सक्ने डर छ ।” 

सैन्य आपूर्तिका निम्ति भारतको रुसमाथिको निर्भरता घटेको उनको भनाइ छ । उनले थपे, “सैन्य आपूर्तिको सन्दर्भमा भारत पनि पश्चिमा देशहरूतर्फ सर्दै छ । आगामी समयमा यो प्रवृत्ति अझ बढ्नेछ ।”

२००९ देखि २०१३ सम्म भारतको हतियार आयातको ७६ प्रतिशत रुसबाट भएको थियो तर २०१९ देखि २०२३ सम्ममा यो ३६ प्रतिशतले घटेको छ ।

युक्रेनसँगको युद्धको समयमा भारतको रुससँगको व्यापार बढेको छ, तर यो वृद्धि भारतको ऊर्जा आयातका कारण भएको हो । गत वर्ष दुई देशबीचको व्यापार ६६ अर्ब डलरको थियो, तर त्यसको ४० प्रतिशत रुसी तेल र ३६ प्रतिशत रुसी हतियार थियो ।

डा. राजन कुमार भन्छन्, “पश्चिमलाई लाग्छ, चीनलाई नियन्त्रण गर्नु छ भने भारत एक महत्त्वपूर्ण देश हो । अर्कोतर्फ, भारतलाई लाग्छ यदि सीमामा चीनको आक्रमणको जवाफ दिनु छ भने पश्चिमबाट सहयोग आवश्यक छ । त्यहीकारण रुसी पश्चिमले भारत र चीनबीच तनाव सिर्जना गर्न खोजिरहेको विदेशमन्त्रीलाई लागेको हो ।”

डा कुमार भन्छन्, “यदि हामीले चीनको सामना गर्नुपर्‍यो भने रुस सहयोगी हुनेछैन । १९६२ को युद्धमा रुसले भारतलाई सहयोग गरेन । अब रुस आफैँ चीनको ‘जुनियर पार्टनर’ बनेको छ । चीनमाथि रुसको निर्भरता उच्च छ । यस्तो अवस्थामा, भारतले रुसको आदेशमा पश्चिमाहरूसँगको आफ्नो सम्बन्ध सीमित गर्नु सम्भव छैन ।

रुस सोभियत संघ हुँदा पनि इन्डो–प्यासिफिकलाई एसिया प्यासिफिक भनिन्थ्यो भने अमेरिकाले इन्डो–प्यासिफिक भनिरहेको छ । 

१९६२ मा चीनले भारतमाथि आक्रमण गर्दा सोभियत संघ भारतको धेरै नजिक थियो । त्यसपछि तेस्रो विश्वलाई नियन्त्रण गर्न चीन र सोभियत संघबीच प्रतिस्पर्धा हुँदै आएको छ । बीबीसी

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्