site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विदेशी फिल्म फेस्टिभलमा नेपाली सिनेमाको पहुँच बढ्यो ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दी रेड सुटकेस’ यही वर्ष भेनिस फिल्म फेस्टिभलमा पुग्यो । फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको चलचित्र भेनिस फिल्म फेस्टिभलमा छनोट भएको थियो ।

यो चलचित्र भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको थियो । विदेशी निर्माता र छायांकारबिना विश्वको प्रतिष्ठित फेस्टिभलमा छनोट हुने ‘दी रेड सुटकेस’ पहिलो नेपाली चलचित्र हो । यो सिनेमाले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा उठान गरेको थियो । 

यही वर्ष चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट भयो । यही फेस्टिभलमा यो चलचित्रको वर्ल्ड प्रिमियर गरिएको थियो ।

Dabur Nepal
NIC Asia

नवीन सुब्बाले निर्देशन गरेको यही चलचित्र एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा पनि छनोट भयो । यो चलचित्रमा गाउँमा गाडीको बाटो पुगेपछि बाउ र छोराको सम्बन्धमा पार्ने प्रभावको कथा समेटिएको छ ।

यही चलचित्र ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा पनि छनोट भयो । यो महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’मा सहभागी भयो । 

मामीमा ‘गाउँ आएको बाटो’ मात्र होइन, अरू नेपाली चलचित्र पनि छनोट भएका छन् । गएको शुक्रबारदेखि भारतमा सुरु भएको सो फेस्टिभलमा त नेपाली चलचित्रको वर्चस्व देखियो । फिचर र सर्ट फिल्म विधामा नेपाली सिनेमा छनोट भएका हुन् । महोत्सवमा ‘गाउँ आएको बाटो’सँगै ‘दी रेड सुटकेस’ र ‘गुराँस’ पनि यो विधामा छनोट भए ।

महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण गरिएको ‘बहादुर : द ब्रेभ’ पनि छनोट भयो ।

सर्ट फिल्म विधामा ‘हेलेना’, ‘विन्डहर्स्’, ‘चिसो घर’ र ‘फोकस साउथ एसिया’ पनि छनोट भए ।

यसअघि, ‘कालोपोथी’, ‘सेतो सूर्य’, ‘हाइवे’, ‘डाइङ क्यान्डल’, ‘बुलबुल’ ‘हल्कारा’लगायत केही फिचर फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएका थिए । विशेष गरी ‘कालोपोथी’ र ‘सेतोसूर्य’ले विदेशी फिल्म फेस्टिभलमा पुगेर नेपालमा ठूलो ‘हाइप’ बनाएका थिए । त्यसअघि, ‘नुमाफुङ’ र ‘मुकुन्डो’ले नेपाली चलचित्रका निम्ति इन्टरनेसनल फिल्म फेस्टिभलको ढोका उघारेका थिए ।

मौलिक कथा छनोट गरेर बनाइएका कतिपय सिनेमा पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भइरहेका छन् ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली चलचित्र जानेक्रम उल्लेख्य नभए पनि विस्तारै यसको संख्या बढेको निर्देशक नरेशकुमार केसी बताउँछन् । सोही अनुपातमा मेकरको संख्या अपेक्षित वृद्धि हुन नसकेको उनको भनाइ छ । नवीन सुब्बालगायत मेकर मात्र सुरुदेखि अहिलेसम्म त्यस्तो वर्गमा पर्ने उनी बताउँछन् ।

“मामीमा नेपाली सिनेमाले एक्सपोजर पाउनु ठूलो कुरा हो । पश्चिमा ठूलठूला फेस्टिभल ब्रान्डका हिसाबले माथि होलान्, तर हाम्रो बजारको नजरले हेर्ने हो भने मामी फेस्टिभल हाम्रा लागि महत्त्वपूर्ण हो,” नरेश अगाडि थप्छन्, “अलिअलि भाषा पनि मिल्ने र संस्कार र संस्कृतिका हिसाबले पनि नेपाल र भारतबीच धेरै फरक नरहेकाले नेपाली सिनेमाको बजार भारतमा खोज्न हाम्रा लागि मामी ठूलो प्लेटफर्म हो ।”

मामीमा पाएको एक्सपोजरले भारतीय ओटीटी र टेलिभिजनमा मात्र नेपाली फिल्म गए अहिलेको अवस्थामा ठूलो उपलब्धि हुने उनको भनाइ छ ।

तर, नेपालमा कतिपय मेकरमा फेस्टिभलमा जाने सिनेमा भन्नेबित्तिकै फरक धारणा रहेको उनको अनुभव छ । इन्टरनेसनल फेस्टिभलमा जाने सिनेमा भन्नेबित्तिकै कमर्सियसल हुँदैन भन्ने गलत धारणा रहेको नरेश बताउँछन् ।

“आर्टहाउस मुभी भन्नेबित्तिकै स्लो हुन्छ, बोरिङ हुन्छ, हेर्न सकिँदैन, कमर्सियल हुँदैन भन्ने हाम्रोमा गलत धारणा छ,” उनी भन्छन्, “तर, त्यस्तो हुँदैन । फेस्टिभलमा जाने चलचित्र पनि कमर्सियल हुन्छन् । मात्रै विषय र प्रस्तुतिमा फरक हो । यसलाई बुझ्ने हो भने पनि इन्टरनेसनल फेस्टिभलमा जाने सिनेमाको संख्या धेरै हुन्थ्यो ।”

नेपाली परिवेश र कथा उठान गर्ने चलचित्र अक्सर इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट हुने गरेका छन् ।

अहिले नेपालमा व्यक्तिको पहलमा जति पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जाने सिनेमा बनिरहेका छन्, त्यो ठूलो उपलब्धि भएको निर्देशक छिरिङरितार शेर्पा बताउँछन् । “आर्ट मुभी वास्तवमा हेरिटेज हो । जसरी पाटन, भक्तपुर दरबार स्क्वायर, स्वम्भूनाथ, पशुपतिनाथ हेरिटेजका रूपमा छन्, राम्रा सिनेमा पनि त्यस्तै हेरिटेजका रूपमा जुगजुगसम्म रहन्छन्,” छिरिङ भन्छन्, “यस्ता सिनेमा त राज्यले बनाउनुपर्छ । व्यक्तिले मुस्किलले एउटासम्म सिनेमा बनाउन सक्छ । सधैँ घाटा व्यहोरेर कहाँ व्यक्तिले सिनेमा बनाउन सक्छ र ?”

यद्यपि, पछिल्लो समय नयाँ पुस्ताले राम्रो काम गरिरहेको उनी बताउँछन् । वर्ल्ड सिनेमामा सहज पहुँच र फिल्म स्कुलका कारण नयाँ पुस्ताले राम्रा चलचित्र बनाउन थालेको उनको भनाइ छ । राज्यको सहयोग पाए अहिलेको पुस्ताले ‘क्लास’को सिनेमा बनाउन सक्ने उनको विश्वास छ ।

“सुरुका वर्षदेखि आजसम्म आउँदा केही प्रगति पक्कै पनि भएको छ । मेकरको संख्या बढ्यो/बढेन त्यो म भन्न सक्तिनँ । तर, अहिले वर्ल्ड सिनेमा हेरेर विश्वको सिनेमा कता हिँडिरहेको भनेर सबैलाई थाहा छ,” निर्देशक छिरिङ भन्छन्, “तर, किन अपेक्षित भएन भनेर खोज्दा यसमा देशको परिस्थिति जोडिएर आउँछ । राज्यले आर्टहाउस मुभी निर्माणमा सहायोग नगरेपछि जे चल्छ त्यही नै मेकरले बनाउँछ । चुनौती सामना गर्ने मेकर कमै हुन्छन् ।”

देशको प्रतिनिधित्व गर्ने चलचित्रलाई राज्यले सहयोग गर्नुपर्नेमा नेपालमा त्यसो हुन नसकेको उनको गुनासो छ । विश्वका धेरै देशले ठूलो प्लेटफर्ममा आफ्नो देशका सिनेमा जाँदा पूरै राज्य नै लागेर सहयोग गर्ने गरेको छिरिङ बताउँछन् ।

“राज्यले फिल्म लिट्रेसी बढाउनुपर्छ । यसका लागि सिनेमामा लगानी गर्नुपर्छ । राम्रो चलचित्रका लागि मेकरले सधैँ रिस्क लिन सक्दैन,” उनी अगाडि थप्छन्, “राम्रो सिनेमाका लागि सरकारले फन्डिङ, सबसिटी तथा स्क्रिनिङ ग्यारेन्टी गर्नुपर्छ । ठूलो प्लेटफर्मममा छनोट भएका सिनेमालाई एक्सपोजरका लागि खर्च गर्नुपर्छ, जुन हाम्रोमा छैन ।”

नेपाली कला, संस्कृति र साहित्य झल्काउने सिनेमा बनाउन अन्तर्राष्ट्रियजगत्मा गएर ‘ग्रान्ट’ खोज्नुपर्ने अवस्था आफैँमा लाजमर्दो भएको उनको भनाइ छ । विदेशी फिल्म फेस्टिभलका निम्ति लक्षित गर्ने नवीन सुब्बा, मीन भाम, दीपक रौनियारलगायत मेकर नेपाली सिनेमा बनाउन सधैँ ‘ग्रान्ट’ खोजिरहेका हुन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro