site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गीतलाई कमजोर बनाइरहेका म्युजिक भिडियो

काठमाडौं । गीत सामान्यतया कति लामो हुन्छ ? तीनदेखि साढे चार मिनेटसम्म । सुरुसुरुमा रेकर्ड भएका नेपाली गीतको लम्बाइ तीन मिनेट हुन्थ्यो । ग्रामोफोनमा गीत रेकर्ड हुँदा पनि गीत तीन मिनेटकै हुन्थे ।

तर, जतिजति नेपाली गीतसंगीतको इतिहास लामो हुँदै छ, त्यति नै नेपाली गीतको ‘लेन्थ’ पनि तन्किँदै गएको छ । क्यासेट आएपछि चार मिनेटभन्दा गीत लामा हुन थालेको पाइन्छ । लोकदोहोरी सामान्यतया लामो हुन्छ, त्यसलाई सामान्य मानिन्छ ।

तर, पछिल्लो समय आधुनिक गीत नै लामा हुन थालेका छन् । सिंगल ट्रयाक रेकर्ड भएर युट्युबमा भिडियोसहित गीत आउन थालेपछि यसको लम्बाइ बढ्दै गएको छ । 

गीत लामो हुनुको कारण गीतमा शब्द होइन, भिडियो बनिरहेको छ । भिडियोले गीतले भन्दा धेरै समय लिने गरेको छ । भिडियोमा संवाद राख्न थालिएसँगै यसको लम्बाइ बढ्दै गएको देखिन्छ ।

गायकको गायनभन्दा पनि भिडियोमा अभिनय गर्ने कलाकारको संवाद धेरै हुने गरेको छ । जसका कारण गीत निकै लामो हुने गरेका छन् । केहीले भिडियोमा संवाद राखेर लामो बनाएर ‘म्युजिकल फिल्म’ भन्ने गरेका छन् । 

तर, जसले जे भनेर क्रेडिट दिए पनि गीत नै हो । यसको पछिल्लो उदाहरणको रूपमा शिव हमालको गीत ‘त्यो कथा’लाई लिन सकिन्छ । 

उनको गीत ३० मिनेट लामो छ । साढे दुई मिनेटमा गायन बल्ल सुरु हुन्छ, बीचबीचमा पनि थुप्रै संवाद छन् । यस्ता थुप्रै गीत छन्, जसलाई ‘म्युजिकल फिल्म’ नाम दिइएको छ । ‘म्युजिकल फिल्म’ भनेर दश मिनेटभन्दा माथि १५/१६ मिनेटका भिडियो बनाउने प्रचलन बढेको छ । 

म्युजिक भिडियो निर्देशक शान थापा नेपालमा गतल अभ्यास भइरहेको बताउँछन् । अमेरिका, भारतलगायत देशमा पनि नेपालमा जस्तो स्टोरी राखेर गीतको भिडियो बनाउन खासै चलन नरहेको उनी सुनाउँछन् । 

“संवाद राखेर र कथा भनेर प्रस्टीकरण दिइरहनुपर्छजस्तो मलाई लाग्दैन । लामो भिडियो हेर्ने हो भने त मान्छेले फिल्म नै हेर्छ होला । अलि छोटो हेर्न मन लागे सर्ट मुभी हेर्छ होला,” उनी अगाडि थप्छन्, “गीत सुन्न वा हेर्न बसेको मान्छेले त पक्कै पनि यस गीतको भिडियोले के कथा भन्छ भनेर हेर्छजस्तो मलाई लाग्दैन ।” 

‘गीत हेर्ने होइन, सुन्ने नै हो’ भन्ने वास्तविकता भुल्न नहुनेमा शानको जोड छ । गाडीमा चलाउँदा गीत कसरी हेर्ने उनको प्रश्न छ ।

“गाडी चलाउने मान्छेले पनि त गीत सुन्छ, भिडियोमार्फत बुझाउने प्रयास भएको छ भने उसले कसरी हर्ने ?,” उनको जिज्ञासा छ ।

गीत सुन्ने नै हो र युट्युबमा अपलोड गर्न भिडियो चाहिने भएकाले भिडियो बनाउने गरिएको हो भन्ने यथार्थलाई स्वीकार गर्नसक्नुपर्नेमा उनको जोड छ । त्यसैले चार/पाँच मिनेटमा भिडियो सक्नुपर्ने उनको धारणा छ । 

“धेरैले आठ मिनेट कट्यो भने युट्युबमा विज्ञापन आउँछ भनेर लामो भिडियो बनाएकोजस्तो देखिन्छ,” निर्देशक शान भन्छन्, “वाच आवर बढ्छ भनेर लामो भिडियो बनाएको हो भने लामो भिडियो हुँदैमा वाच आवर बढ्छ भन्ने हुँदैन । झन् कम हुन्छ ।” 

जति छोटो भयो त्यति धेरै हेरिने उनको दाबी छ । पछिल्लो समय लामो कन्टेन्ट हेर्ने धैर्यता अधिकांशमा नरहेको तथ्यलाई मनन् गर्नुपर्ने उनी बताउँछन् । 

“कसैलाई म स्टोरी भन्छु भन्ने लागेर यसको गरेको देखिन्छ, आफूलाई मन लागेको काम गर्न पनि पाइयो,” शान प्रस्ट पार्छन्, “तर, त्यो कति प्रभावकारी छ, त्यसलाई भने भुल्न हुँदैन ।” 

चार मिनेटको लेन्थमा निर्देशकले गीतको थिम देखाउन सक्नुपर्नेमा उनको जोड छ । 

गीतकार आनन्द अधिकारी गीत आफैँमा पूर्ण हुने भएकाले त्यसको भिडियोमा संवाद आवश्यक नपर्ने बताउँछन् । गीत आफैँले प्रस्टसँग संवाद दिनुपर्नेमा उनको जोड छ । 

“गीत आफैँमा पूर्ण हुन्छ । त्यसैले यसको भिडियो पनि गीत जति लामो छ, त्योभन्दा लामो चाहिन्छ भन्ने छैन,” गीतकार अधिकारी भन्छन्, “गीतको भिडियोमा संवाद राख्ने चलन अरू देशमा छैन ।”

भिडियोको संवादले गीतलाई ‘डिस्टर्ब’ गर्ने उनको धारणा छ । गीतभित्रै संवाद हुन सक्ने तर भिडियोमा संवाद आवश्यक नपर्ने उनको भनाइ छ । 

युट्युबमा भ्युजको लोभले अनावश्यकरूपमा भिडियो लामो बनाउने गरेको उनले बताए । “सायद युट्युबमा भ्युज धेरै आउँछ भनेर होला, साढे चार मिनेटको गीतको भिडियो आठ/दश मिनेटको बनाउने गरिएको,” गीतकार अधिकारी भन्छन्, “अहिले कसरी पैसा कमाउने, कसरी धेरै भ्युज बटुल्नेभन्दा अरूमा ध्यान दिएको देखिँदैन ।” 

गीतको उद्देश्य र जनराअनुसार लम्बाइ हुने गरेको उनी प्रस्ट पार्छन् । दोहोरी र निश्चित उद्देश्यका लागि लेखिने गीत केही लामो हुने तर अधिकांश गीत औसतमा साढे चार मिनेटको हुने गरेको उनी बताउँछन् ।

“गीतभन्दा जति हो, त्यति नै लम्बाइमा भिडियो बनाउन सक्ने क्षमता म्युजिक भिडियो निर्देशकमा हुनुपर्छ ।”

भ्युजको पछि लाग्दा पछिल्लो समय गीतको स्तर खस्किएको उनको अनुभव छ । हजारमा एकाध गीतमात्रै गीतजस्ता रहेको उनको टिप्पणी छ ।

“भ्युजका पछि लाग्दा गीतमा काव्यात्मकता, सौन्दर्य, जीवन, दर्शन, मौलिकता सबै मरिसक्यो,” उनी भन्छन्, “यसले समग्र हाम्रा गीतको विधालाई नै कमजोर बनाइरहेको छ ।” त्यसैले अहिले गीत कालजयी हुन छाडेको उनको अनुभव छ । 

गीतकार राजेन्द्र थापा पछिल्लो समय गीतमा भिडियो बनिरहेको भन्दा पनि डकुमेन्ट्रीमा गीत प्रयोग भइरहेको टिप्पणी गर्छन् । यसमा नयाँ पुस्ता हाबी रहेको उनको आरोप छ । 

साढे चार मिनेटको गीतमा १२/१५ मिनेटको भिडियो बनेपछि त्यसलाई म्युजिक भिडियो भन्न नसकिने उनको धारणा छ । गीतको कथा अडियन्सले आफूमा ‘रिलेट’ गर्ने उनी बताउँछन् । तर, यो बुझाइ नै अहिले धेरैमा नरहेको उनको टिप्पणी छ ।

“गीतभित्रै पूर्ण कथा हुन्छ, त्यो कथा स्रोताले आफूसँग जोड्ने हो । यदि, भिडियो बनाउने हो भने गीतको कथाले जे भन्छ, त्यही कुरा भिडियोमा देखाउने हो,” गीतकार थापा प्रस्ट पार्छन् । 

पछिल्लो समय गीत एकातिर भिडियो अर्कैतिर बन्ने गरेको उनी सुनाउँछन् । गीतभित्र अर्कै कथा हुने तर भिडियो गीतको कथा कतै नजोडिने गरी बनाउने गरिएको उनको अनुभव छ ।

 

“गीतले प्रेमको कुरा हुन्छ, तर भिडियोमा माओवादी जनयुद्धको कुरा हुन्छ । गीतमा सहयोगको कुरा हुन्छ, तर भिडियोमा देहव्यापारको कुरा देखाइएको हुन्छ,” गीतकार थापा भन्छन्, “गीत एकातिर, भिडियो अर्कैतिर भएपछि गीतको भ्यालु घट्छ, जुन अहिले भइरहेको छ ।”

पचास वर्ष पुराना गीत अझै पनि अजरामर रहेको तर पाँच वर्षअगाडि हिट भएको गीत अहिले कसैले पनि नसम्झनुको कारण नै यही भएको उनको दाबी छ । नयाँ पुस्ता पुरानाभन्दा क्रिएटिभ भएर आउला भन्ने आशा रहेकामा यही पुस्ताले झन् बिगारिरहेको उनको आरोप छ । सोचमै गल्ती रहेको उनी बताउँछन् । 

केही दिनका लागि हल्ला गर्नलाई भए पनि गीतसंगीतको विकास र विस्तारका लागि भने यसले सहयोग नगर्ने गीतकार थापाको भनाइ छ । 

“आधुनिकमा लोक हालेर आधुनिक र लोकमा आधुनिक हालेर गीत नै बिगारिरहेको अवस्थामा भिडियोले पनि गीत थप बिगार्ने काम गरिरहेका छन्,” उनी अगाडि थप्छन्, “गीतमा कथा हुने भएकाले त्यसमा संवाद आवश्यक पर्दैन । यो गलत अभ्यास भयो । यसले हाम्रो गीतसंगीतलाई उकास्दैन, खस्काउने काम गर्छ ।” 

गीतसंगीतलाई उकास्ने हो भने भिडियोका नाममा भइरहेको गलत अभ्यास तत्काल बन्द गरिनुपर्नेमा उनको जोड छ । 

चलचित्रमा त्यसको कथासँग जोडिने भएकाले त्यहीअनुसारको भिडियो हुने तर आधुनिक गीतमा आफैँ कथा हुने सत्यलाई बुझ्न आवश्यक रहेको उनी बताउँछन् । 

“म पटकपटक यो कुरा उठाउँदै आएको छु, म्युजिक भिडियोका नाममा गलत अभ्यास रोक्नुपर्छ । डकुमेन्ट्रीमा गीत राखेर म्युजिक भिडियो भन्ने काम बन्द गरौँ,” गीतकार थापा भन्छन् ।

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro