-1746856930.jpg)
पछिल्लो समय नेपाली बालबालिकामा ग्याजेट मोह तीव्र बन्दै गएको छ । बालबालिका स्मार्टफोनको कुलतमा फसेका छन् । अभिभावकीय बेवास्ताले अधिकांश घरमा बालबालिका डिजिटल लतमा फस्नेक्रम बढ्दो छ ।
यसले बालबालिकामा पारेको प्रभाव र पारिवारिक विखण्डनलाई केन्द्रीय कथानक बनाएर चलचित्र ‘झिल्को’ निर्माणको तरखरमा यादव भट्टराई थिए । सिनेमालाई गीत चाहिएपछि यादव ठोक्किए गीतकार आनन्द अधिकारीसँग ।
यादवले विषयवस्तु सुनाए । विषय थियो, जल्दोबल्दो एन्ड्रोइड सिनेमाको कुलत । आमनेपाली समुदायलाई जकेडिरहेको विषय, अधिकारीलाई चित्त बुझ्यो । उनले लेख्ने भए ‘झिल्को’का निम्ति गीत ।
समय, जीवन, दर्शन र समाजभित्र बसेर गीतमा शब्द खिप्न खप्पिस अधिकारीले ‘हुन्छ’ भनिदिए । र, उनले लेखे दुई गीत । एउटा गीत सिनेमाको कथावाचनमा चलचित्रभरि आवश्यकताअनुसार प्रयोग हुन्छ । अर्को गीत आफ्नो लेन्थमा एकैपटक प्ले हुन्छ ।
समाज परिवर्तननिम्ति चलचित्र र आफ्ना गीतले होस्टेमा हैँसे गर्न मद्दत गर्ने गीतकार अधिकारी बताउँछन् । ग्याजेटको राम्रोभन्दा पनि नराम्रो पक्षमा लत लागेको उनको भनाइ छ ।
ग्याजेटले कसरी आममानिसको आनीबानी रूपान्तरण गरिरहेको छ, त्यसलाई विम्बका रूपमा सिनेमामा झिल्को शब्द प्रयोग गरिएको छ । “आगोको झिल्को यज्ञमा प्रयोग गर्दा त्यसले ठूलो पोजेटिभिटी ल्याउँछ । वातावरणलाई सकारात्मक प्रभाव पार्छ । विभिन्न भाइरसहरूलाई मार्ने प्रयत्न गर्छ,” उनी भन्छन्, “त्यही झिल्को चुलोमा प्रयोग गर्दा आगो बल्छ । खाना पाक्छ । त्यही झिल्को अनियन्त्रित भयो भने डढेलो लाग्छ, आगलागी हुन्छ । ठूलो क्षति पुर्याउँछ ।”
हो, ग्याजेटको प्रयोग पनि सही रूपमा नगरिए यसको झिल्कोले डढेलो लगाएजस्तो भयानक नकारात्मक असर पुर्याउने उनी बताउँछन् । यही कुरा उनले गीतमा समेटे ।
बालबालिकालाई कसरी एन्ड्रोइड फोनले असर गरेको छ, परिवारलाई कसरी छिन्नभिन्न पारिरहेको छ, बाबुआमा अलग हुँदा बालबालिकाको भविष्यमा कस्तो प्रभाव परिरहेको छ भन्ने उनले गीतमा समेटेका छन् ।
अहिले बालबालिकामा ‘इमोसनल इन्टेलिजेन्स’को कमी छ । पाँच मिनेट कुनै पनि बालबालिका थिर भएर बस्न सक्दैनन् । यसको कारण गीतकार अधिकारी सोसल मिडियाको लतलाई मान्छन् । सोसल मिडियाको एडिक्सन ड्रग्सको लतभन्दा खतरनाक भएको उनले गीतमा म्यासेज दिएका छन् ।
बालबालिकालाई कसरी सुधार गर्न सकिन्छ ? बालबालिकालाई सुधार गर्न प्रकृतिमै पुर्याउनुपर्छ, बन्द कोठामा राखेर बालबालिका सुध्रिँदैनन् भन्ने सन्देशसहित उनले दोस्रो गीत लेखे ।
न तिमीलाई सह्यो न मलाई सह्यो
कसैलाई सहेन
झिल्को यो लतको संसारै खाने
दुनियाँ रहेन
जिन्दगी जिन्दगी रहेन
पिरती पिरती रहेन
झिल्को बल्यो डढेलो निभेन ।
हरेक परिवारमा एन्ड्रोइड मोबाइलले लगाएको झिल्को फैलिएर डढेलो लागेको यथार्थ गीतका यी शब्दले बोलेका छन् । “सोसल मिडियाको नकारात्मक प्रभावले हाम्रो नातासम्बन्ध तोड्दै गएको छ । डिभोर्सको दर बढेको छ । साइबर क्राइम बढेको छ,” अधिकारी भन्छन्, “हत्या, हिंसा र आत्महत्यामा सोसल मिडिया जोडिएको छ । परिवारबीच विग्रह ल्याउन भूमिका खेलिरहेको छ ।”
भाँचियो मन भाँचियो मुटु नाता नै भाँचियो
मर्यादाको एकएक गर्दै सीमा नै नासियो
कोपिलामै फूलहरू झरे आधारै मासियो
जिन्दगीलाई जिताउन सक्ने संस्कार नै मासियो ।
ग्याजेटमै भुलेर मानवीय संस्कार हराउँदै गएपछि जिन्दगी फूल्नै नपाई मासिन थालेको यथार्थ यी शब्दले बोलेका छन् । सम्बन्धमा मर्यादा नरहेपछि जिन्दगी नै कोपिलामै निमोठिरहेको तितो सत्यलाई गीतका हरफमार्फत उल्लेख गरिएको छ ।
बुझेर उपयोग गर्दा सामाजिक सञ्जालले निश्चय नै जीवनलाई सहज बनाएको छ । तर, यसलाई जसले बुझ्दैन उसका लागि यो सञ्जाल होइन जाल हो । यो प्रश्न अधिकारीले गीतमार्फत उठाएका छन् ।
ग्याजेटभित्र चल्ने/चलाउने सामाजिक सञ्जाल कति निठुर छ, जसले परिवारको सामीप्य हर्यो । कति टाठो रहेछ, जसको खल्तीभित्र छ उसैलाई सताइरहेको छ । यो सत्यलाई अधिकारीले गीतमा यसरी उतारेका छन्–
यो कालभन्दा निठुर रै’छ लाछीझैँ बनायो
खल्तीखल्ती पटुकीभित्रै बसेर रुवायो
सञ्जाल होइन जाल पो रहेछ समाज हरायो
सुस्तसुस्त विवेक गयो मानवता हरायो ।
सामाजिक सञ्जालले मानिसलाई एक्लो बनाइसकेको छ । परिवारभित्रै एकार्कासँग मान्छे बोल्न छोडिसकेका छन् । परिवारका चार सदस्य आ–आफ्नो हातमा रहेको मोबाइलमा घोप्टिन्छन् । सामाजिक कुरा हुन नछोडेपछि समाज नै रहेन । समाज नै नरहेपछि कसरी समाजिक सञ्जाल भयो ? त्यसैले उनले यसलाई ‘जाल’ भनेका छन् ।
आर्टिफिसयल इन्टिलिजेन्सलाई विवेक दिँदै जाने हो भने यसले मानवता नै छिन्ने उनको चिन्ता छ । त्यसैले उनले यो गीत लेखे । यो गीत ब्याकग्राउन्ड म्युजिकका रूपमा चलचित्रभरि टुक्राटुक्रा भएर बजिरहन्छ ।
अनि अर्को,
सामाजिक सञ्जालको सदुपयोग नहुँदा यो ‘जाल’ बन्यो । यसको लतमा बालबालिका फसे । ड्रग्सको भन्दा कडा लत बसेपछि के होला ? हरेक बालबालिकाको भविष्य नै संकटमा पारिरहेको यो हालको चासो र सरोकारको विषय हो ।
यो लतबाट बालबालिकालाई कसरी बाहिर निकाल्ने ? यसनिम्ति बालबालिकालाई कोठाबाट बाहिरको संसारमा निकाल्नुपर्नेमा गीतकार अधिकारी जोड दिन्छन् ।
“पञ्चमहाभूत तत्त्वको संसर्गमा रहनुपर्छ भनेर त्यसै भनिएको होइन । पृथ्वी, जल, तेज, वायु र आकाशको संसर्गमा रहनुपर्छ । माटोसँग देख्नुपर्छ । स्वच्छ हावा, पानीसँग खेल्नुपर्छ,” उनी भन्छन्, “बच्चालाई माटोमा खेलाउनुपर्छ । बगैँचामा लैजानुुपर्छ । खुला आकाशमुनि हिँडाउनुपर्छ ।”
अभिभावकले यो नबुझेर आफ्ना बालबालिकालाई खेलाउने र भुलाउने माध्यम नै ग्याजेट र सामाजिक सञ्जाललाई बनाएपछि यसको लत बस्नु स्वाभाविक रहेको उनको बुझाइ छ ।
त्यसैले अहिले बालबालिकालाई खाना र औषधि खान मोबाइल चाहिन्छ । सुत्ने बेलामा माबोइल चाहिन्छ । कसैसँग नबोल्ने र कतै जान समेत नखोज्ने भए । जे गर्दा पनि मोबाइल । लाग्छ, मोबाइल बालबालिकाको प्राण हो । सास हो ।
सन्दर्भ जोड्दै गीतकार अधिकारी भन्छन्, “न उसको पुतली नाच्छ न ऊ नाच्छ । किन नाच्दैन ? किनकि, त्यहाँ मोबाइल छैन । मोबाइमा गीत छैन ।
अनि, अधिकारी गीत कोर्छन्–
नाचनाच छमछमी नाच्दिन पुतली
नक्कल धेरै कम्मर भाँच्दिन पुतली
तेलकासा सिन्के धुुलो खेल्दिन पुतली
गाजल टिकी कोरीबाटी गर्दिन पुतली
एनी हौ बनाउन फोनमा गीत
नाच्छे क्यारे पुतली झ्याउरे भाकैमा
छिने छिनोस् पाउको पाउजु
मार्देउ ठुम्का मिलेर दाइभाउजू
अहिले बालबालिका न तेलकासा खेल्छन् न गट्टा र चुंगी नै । उनीहरूको संसार नै मोबाइल बन्यो । त्यसमै झुत्तिन्छन् । न धुलोमा हातपाउ पर्छन् न आफ्ना आफन्तसँग सामीप्य सम्पर्क हुन्छ । अनि कसरी हुन्छन् बालबालिका सामाजिक ? कसरी हुन्छन् व्यावहारिक ?
भुरुङ घुम्न छोडिगो हत्केलाको माझ
औँलाहरूले गुमाएसके गट्टाहरूको साथ
बज्न छाड्यो घण्टी टिङटिङ इन्टुमिन्टुमा
चुंगी, ढ्याकी, फिरफिरे खेल्दैन आँगनमा
आफैँ ग्याजेटको लतमा परेपछि बालबालिकाको के मतलब ! कठै भनेर मात्र हुँदैन । त्यो व्यवहारमा पनि देखिनुपर्छ । अभिभावक आफैँ अव्यावहारिक भएपपछि बालबालिका कसरी हुन्छन् व्यावहारिक ?
“हामी एकछिन बच्चालाई समय दिएर पार्कमा लिएर जान सक्दैनौँ । एउटा मोबाइल बच्चालाई दिएर आफू अर्को मोबाइलमा बस्छौँ,” उनी भन्छन्, “अनि कसरी बच्चा ग्याजेटको तलमा फस्दैनन् ?”
टाढै बसी नमस्ते दर्शन दूरबाट
भावनाका रङदेखि माया फोनबाट
को खाई को खाई गर्दैमा अचेल कसले खान्छ र ?
आमाले लोरी गाउँदैमा कुन पुतली सुत्छ र ?
“बच्चामा ग्याजेटको लत बस्न हामी अभिभावक जिम्मेवार छौँ । बच्चालाई मात्रै दोष दिएर हुँदैन, त्यसको ठूलो हिस्सा हामी आफैँ हौँ,” अधिकारी भन्छन्, “यही भाव यो गीतमार्फत मैले दिन खोजेको सन्देश हो ।”
बालबालिकालाई ग्याजेटको लतमा फस्न नदिन आफूले ‘झिल्को’को गीत लेखेको उनले सुनाए ।