site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जनै हराएको बाहुन’को इन्डक्ल्याप, ‘शिवांश’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न गरेको हो । 

यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको थियो । सिनेमालाई हिमाल न्यौपानेको निर्देशन गरेका छन् । 

‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्ने निर्माणपक्षको प्रेस नोटमा उल्लेख छ । 

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । 

चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । 

यसैबीच, चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले जनाएको छ । 

निर्माता अञ्जान केसी रहेको चलचित्रलाई सन्तोष कुमार आत्रेयले निर्देशन गरिरहेका छन् । 

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा छ । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । 

केही समयअगाडि निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए । उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो ।

असोज २४ गते रिलिज हुने चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।

सरद महतोको डीओपी रहने चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्