काठमाडौं । रोजगारीका लागि बेलायत जान ७७१ जना नर्सले आवेदन दिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जुलाइ २१ देखि अक्टोबर २० सम्म आवेदन खुला गरेको थियो । सो अवधिमा सो संख्यामा आवेदन परेको हो ।
आवेदकमध्येबाट मापदण्ड पुगेका नर्सलाई सन् २०२४ को अप्रिल पहिलो साता बेलायत पठाउने मन्त्रालयको तयारी छ ।
अधिकांशको भाषामा समस्या
मन्त्रालयले पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्स बेलायत पठाउने लक्ष्य राखेको थियो । तर, आवेदन परेकामध्ये हालसम्म ७६ जनाको मात्रै स्वीकृत भएको छ ।
केही आवेदकको कागजपत्र नपुगेकाले पूरा गर्न नोभेम्बर १ सम्म म्याद दिइएको छ । यो अवधिमा कागजात पूरा भए केही संख्या थप हुनसक्ने मन्त्रालयका उपसचिव डम्बरबहादुर सुनुवार बताउँछन् ।
आवेदन स्वीकृत नहुनुमा अधिकांशको अंग्रेजी भाषा नै बाधक बनेको उनको भनाइ छ । अधिकांशको अंग्रेजी भाषामा तोकिएको मापदण्ड नपुगेको देखिएको छ ।
बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरले त्यहाँ लैजाने नर्सका लागि आईएलटीएस (इन्टरनेसनल इंगिस ल्याङग्वेज टेष्टिङ सिष्टम) वा ओईटी (अकुपेशनल इंगिस टेष्ट) कोर्ष अनिवार्य गरेको छ ।
आईएलटीएसको पढाइ, सुनाइ र बोलाइ (रिडिङ, लिस्निङ र स्पिकिङ)को अंक सात र लेखाइ (राइटिङ)मा ६.५ ल्याएको हुनुपर्ने मापदण्ड छ । ओईटीको हकमा पढाइ, सुनाइ र बोलाइमा कम्तीमा बी ग्रेड त्याएको हुनुपर्नेछ ।
हाल स्वीकृत भएकामध्ये ६६ जना आईटी र १० जना आईएलटीएसको अंक पूरा गरेका आवेदक छन् ।
त्यस्तै, नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको, नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, बीएस्सी नर्सिङ वा बीएन गरेको हुनुपर्ने छ ।
आवेदन दिने नर्स नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त हुनपर्ने, पछिल्लो दुई वर्षभित्र मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने मापदण्ड छ ।
अप्रिलमा पठाउने मन्त्रालयको तयारी
मन्त्रालयका उपसचिव सुनुवारका अनुसार आवेदन स्वीकृत भएका नर्सहरूको सूची बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टर र मन्त्रालयको तहबाट हुनेछ । छनोटमा परेका नर्सको अन्तर्वार्ता र स्वास्थ्य परीक्षण पनि गरिनेछ ।
छनोट भएकाहरूको भिसा प्रक्रिया मन्त्रालयबाट नै हुनेछ । यी सबै प्रक्रिया टुंग्याएर सन् २०२४ अप्रिलको पहिलो साता बेलायत पठाउने मन्त्रायलको तयारी छ ।
सेवा सुविधा र पारिश्रमिक कति ?
नेपालबाट गएका नर्सले बेलायत सरकारको मातहतमा पहिलो तीन महिना ‘असिस्टेन्ट हेल्थ केयरगिभर’ (ब्याण्ड ४)को रूपमा काम गर्नुपर्नेछ । सातामा ३७ घण्टा काम गरेबापत पहिलो तीन महिना उनीहरूले प्रतिमहिना दुई हजार २९९ पाउण्ड स्टर्लिङ डलर पारिश्रमिक पाउनेछन् ।
तीन महिनापछि भने बेलायतको नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस) दर्ता हुन परीक्षा दिनुपर्नेछ । सो परीक्षामा उत्तीर्ण भएपश्चात ब्याण्ड ५ को रूपमा प्रतिमहिना दुई हजार ३६७ पाउण्ड स्टर्लिङ डलर पारिश्रमिक पाउने सुनुवार बताउँछन् ।
पाइलट प्रोजेक्टको विश्लेषणका आधारमा अर्को चरणमा कति, कहिले र कसरी स्वास्थ्यकर्मी पठाउने भन्ने निर्धारण हुने मन्त्रालयले जनाएको छ ।