
काठमाडौं । मिर्गौलाको खराबी नेपालीको आम रोग बनिसकेको छ । मिर्गौलामा ९० प्रतिशभन्दा बढी खराबी भएपछि मात्रै लक्षण देखापर्ने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ९० प्रतिशतभन्दा बढी मिर्गौला खराब भएको अवस्थामा डायलाइसिस वा प्रत्यारोपणबाहेक अन्य विकल्प रहँदैन । त्यसैले मिर्गौला खराब हुन नदिन निम्न उपायहरू अपनाउन डा. श्रेष्ठको सुझाव छ ।
१. वर्षको एकपटक कुनै लक्षण नदेखिएपनि मिर्गौला जाँच गर्नुपर्दछ । पिसाबमा प्रोटिनको अवस्था र रगतमा क्रियाटिनको मात्रा, र भिडियो एक्सरेमा मिर्गौलाको आकार आदिबाट पनि मिर्गौला खराब भए नभएको थाहा पाउन सकिन्छ ।
२. आधुनिक जीवनशैली र खानपिनका कारण उच्च रक्तचाप मधुमेहजस्ता रोग बढिरहेको छ, जुन मिर्गौला खराब गराउने ८० प्रतिशत कारण हो । यी दुई रोग लाग्नै नदिने र लागिहाले पनि नियन्त्रणमा राख्नुपर्दछ ।
३. स्वस्थ जीवन र मिर्गौलासम्बन्धी रोगहरूबाट बच्न नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने गर्नुपर्छ
४. पेन किलर तथा एन्टिबायोटिक औषधि जथाभावी प्रयोग गर्नु हुँदैन, एन्टिबायोटिकले मिर्गौलाका लागि विषको काम गर्दछ ।
५. धुम्रपान मद्यपानबाट टाढै रहने, पानी पर्याप्त पिउने गर्नुपर्छ । साथै मिर्गौलासम्बन्धी समस्याबाट बच्न आधुनिक जीवनशैली र खानपानलाई परिवर्तन गर्नु आवश्यक देखिन्छ ।