
उद्धव देवकोटा
घरको संघारबाट
ढोका र झ्याल अनी खट्प्वाल हुँदै
समानतवरले
सूर्यका रश्मीहरूझैँ
हरेक घर,
मन–मस्तिष्कमा प्रवेश गर्दै छ दसैँ ।
हुनु र नहुनुको कुनै अर्थ
ठुला र सानामा कुनै फरक
स्वदेश या विदेशको कुनै भूगोल
स्वतन्त्र र परतन्त्रको कुनै खाडल
यावत् कुराको ख्यालै नराखी
हरेक घर,
मन–मस्तिष्कमा प्रवेश गर्दै छ दसैँ ।
फूलपाती,
कालरात्रीको अंक गणनासँगै
टीका र जमराको थाली लिएर
असुरमाथि सत्यको विजयोत्सव मनाउँदै
पिङ, चंगा र उत्सवमा रमाउँदै
नयाँ नोट र हँसिलो ओठसँगै
बुहार्तन्पछि बल्लबल्ल छुट्टी पाएकी दुहिताझैँ
क्षणिक छुट्टीको आनन्दभोगमा रम्न
हरेक घर,
मन–मस्तिष्कमा प्रवेश गर्दै छ दसैँ
कर्मचारीको बोनस बनेर
व्यापारीको डिस्काउन्ट र सेल्स अफर बनेर
नेताको बफे डिनर या टी–पार्टी बनेर
विद्यार्थीको भ्याकेसन एसाइन्मेन्ट बनेर
पत्रकारको न्यूज स्टोरी बनेर
होटेल र इनको रक्सी,
चिउरा र मासु बनेर
हरेक घर,
मन–मस्तिष्कमा प्रवेश गर्दै छ दसैँ ।
दुर्गाका प्रतिमाहरूले हरेक चोक सजाउँदै
भजन, शंख र घण्टको बेजोड संगीत बजाउँदै
खुसी र उत्साहले रम्दै रमाउँदै
काँधमा ट्रंक र निधारको पसिना पुछेर मुस्कुराउँदै
हरेक घर,
मन–मस्तिष्कमा प्रवेश गर्दैछ दसैँ ।
दूष्कर्म बली बनेर रेटिँदै
सत्कर्म फूलपाती बनेर भित्रिँदै
गाली होइन, आशीर्वचन बनेर
आर्तनाद होइन मालश्रीको संगीत गुञ्जेर
रोग, शोक र भोकको दशा होइन दसैँ बनेर
शंख र घण्टको मंगल ध्वनीसँगै
हरेक घर,
मन–मस्तिष्कमा प्रवेश गर्दै छ दसैँ ।
कपडा आफ्नै नापको काटेर
आकाङ्क्षा आफ्नै स्रोतसँग साटेर
सकारात्मक बन्दै खुसीहरू बाँडेर
आत्मवोधको परीक्षामा सामेल गराउन
हरेक घर,
मन–मस्तिष्कमा प्रवेश गर्दै छ दसैँ ।
(तिलोत्तमा, रुपन्देही)