site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शरद्काे रङ : शरद्काे सौन्दर्य
Tiktok banner adTiktok banner ad

शरद्काे रङ सौन्दर्यको रङ हो । शरद्को रङ जीवनको रङ हो । शरद्को रङ संस्कृति र संस्कारको रङ हो ।

शरद् ऋतुमा प्रकृतिको सुन्दरता खुल्छ । शरद् ऋतुमा घर–मन्दिर सबै सिँगारिन्छ । सजावटको पर्व यो । महान् चाड बडादसैँको आगमनको सूचक र संकेत यो ।

यही शरद्ले भेटघाट आफन्तबीच र मित्र–मिलन पनि गराउने रहेछ । वर्षौंपछिको भेटाइ मिठाईजत्तिकै उस्तै स्वाद गुलियो, मिठो, रमाइलो हुनेरहेछ ।

कति कुरा बिछोडका हुन्छन् । कतिपय कुरा दुःख र सुखका पनि हुन्छन् । नभेटिँदाका सारा बिलौनाहरू क्रमशः पोखिन्छन् । र, पुनः हर्षका दिनहरू प्रारम्भ हुन थाल्छन् ।

वास्तवमा शरद्को रङ समुन्नत जीवनको कामनामा आधारित हुन्छ । धरती र आकाश प्राकृतिक सौन्दर्यले चुमिरहेको हुन्छ । सुन्दरताले सुशोभित कति मादक, कति आल्हादमय हुन्छ ।

फुर्सद हुन्छ कार्यालयका कामहरूबाट । तर, व्यस्तता त्यत्तिकै फुर्सद कहाँ हुनु र घरायसी कामका चाङ धेरै । कति कामधाम हुन्छ नदेखिने । कति किनमेल र खर्च हुन्छ नसोचिएका । हर्ष जति खर्च पनि त्यति । काम जति माम पनि त्यति ।

तथापि, खुसीका रङहरूको बेग्लै तामझामले हर्षबढाइँ गरिरहेको हुन्छ । दुःखका दिनहरू बिर्सेर खुसीमा रमाउन उद्यत रहन्छ । पर्वमा पराई हुँदैन रहेछ मन ।

पर्वमा विपन्न सोचाइ र सम्पन्न बुझाइले विश्राम लिने रहेछ सायद । समान भाव लिएर शरद्को उत्सवमा सबै उपस्थित हुँदा रहेछन् ।

अन्ततोगत्वा शरद्को रङ शरद्को सौन्दर्य हो । शरद् चाडपर्वको रङ हो । प्रकृतिको रङ हो । धरती र आकाश खुलेको सफा मौसमको रङ हो । खुसीको रङ हो । उमंग र उत्साहको रङ हो ।

अरू त अरू चंगाचेट, जुवातास र चचहुइ पिङको रङ हो शरद् । फूलमाला, टीका र सौन्दर्यको रङले लिपिबद्ध नेपालीको ठूलो पर्व बडादसैँको रङ घोलिएको रूप हो शरद् ।

शरद्को अर्को मुख्य रङ भन्नु पहेँलो जमरा, रातो टीका र आशीर्वाद थाप्ने र माग्ने रङ हुन् । श्रद्धापूर्वक ढोगभेटको मौसम हो शरद् । मामाघर जाने, मावली, माइती, चेलीबेटीको चाड पनि हो शरद् ।

दान–दक्षिणा लिने चाडको रङ हो शरद् । केटाकेटीहरूका लागि अघाउँजी खानेपिउने, राम्रो र नयाँ लाउने खास उत्सवको पर्व हो शरद् ।

मगमगाउँदो सुवास जिन्दगीको त्यहाँ फैलिन्छ चारैतिर । जिन्दगीको खुसी बनेर सयपत्री फूल फुलिरहेको हुन्छ गाउँघरतिर । बारीका पाटा, आली, कान्ला र भीर–भित्ताहरूमा समेत पहँेलपुर फुलेका मुस्कानको मिठास पस्किँदै क्रमशः !

यी हरियाली छवि, यी पहेंँलपुर सयपत्री अनि हर्ष, उमंगको दिव्य आलोक बनेर जीवन आल्हादित बनाउन उत्सुक भइरहेछ । शारदीय दिव्यालोक बोकेर सांस्कृतिक बैभवमा सरिक भइरहेछ ।

यथार्थमा यही हो जीवनको उत्सव । शरद्को उल्लास र सौन्दर्यको प्रकाश । त्यसैले चाडबाडको खुसीले सबै, सर्वत्र । जहाँ चञ्चल चरित्र मुस्कानभरि अनुहारमा व्याप्त ।

शारदीय दीपले प्रज्ज्वलित । शारदीय उत्सवले प्रफुल्लित । शारदीय दसैँले हर्षित ।

यौटा पृथक रङहरूको छटा । यौटा विराट सांस्कृतिक अनुष्ठानको धरोहर । आफूभन्दा अग्रज र अनुजप्रति हार्दिक आस्था जगाउने शरद् । मिल्ने–मिलाउने, भेट्ने–भेटाउने शरद् । अपूर्व मिलनोत्सवको अवसर जुटाउने ।

भगवान् भक्तिको अर्को पाटो रहेछ यो । यसमा आराधनाको शुभागमन, श्रद्धाको समागमन हुँदो रहेछ ।

काँडाको आँखामा पनि फूलैको संसार ! फूलको आँखामा सुमधुर सौन्दर्यको दिव्यालोक । दसैँलाई स्वागत–सत्कार गरी घरभित्र निम्त्याइ सकिएको छ । जमरा, कलशसहित घटस्थापना गरी शरद्को संस्कृतिलाई सुस्वागतम् गरिएको छ ।

शरद्को रङ न हो सुन्दरताले आफैँ सिँगारिएको चिरिच्याट्ट । माथि आकाश हेरौँ, नीलिमापूर्ण पूरा फैलिएको । धरती हरियाली र बालीनालीले भरिपूर्ण ।

अरू ऋतुमा सफा मौसम देख्दा हामी भन्छौँ, ‘ओहो, शरद् ऋतुको जस्तो कस्तो सफा मौसम ! दसैँ आउन लागेजस्तै । धुलोमैलो, हिलो कतै छैन । कति सफा सिनित्त बढारिएको वातावरण !’

वास्तवमा शारदीय सुन्दरता त्यत्तिकै आउँदैन रहेछ । सफा मौसम त्यसै हुँदैन रहेछ । महान् पर्वको शुभागमनको स्वागतमा उत्सव मनाउन सबैलाई खुसीको अनुभूति बाँड्न आउने रहेछ ।

घरटोल, मन्दिर, सडक, गल्लीका फोहोरमैला र दागधब्बाहरू सबै सर्वत्र बढारेर हर्षका पलहरू भित्रिने रहेछ ।

अभावले रोइरहेका, भोकले पेट मिचिरहेका भेटिन्न मानिसहरू यस बेला । हुन त ‘हुनेखानेलाई दसैँ छ, नहुनेलाई दशा छ’ भनिन्छ । तर, हिजोआज यस्तो अवस्था विरलै देखिन्छ, भेटिन्छ । किनभने, शरद्को रङमा आँसुको वेदना मिसिन आउँदैन ।

कष्ट सहेरै पनि, ऋणपान गरेरै भए पनि शारदीय नवरात्रलाई घरभित्र आमन्त्रण गर्न लाग्छन् ।  हाँसीखुसीले बडादसैँलाई धुमधामले मनाउन मरिमेट्छन् ।

सनातन दसैँ–संस्कृति यो शरद्को सुन्दर याममा को, किन, कतिसम्म आँसुमा डुबिरहनु ? सबैको उत्तिकै महत्त्वको पर्वमा हाँसीखुसीकै चेहरा देखिनु मौसम सफा भएजस्तै कस्तो सुन्दर संयोजन !

साँच्चै समृद्ध छ, शाश्वत छ शारदीय दसैँको रूपरङ र चेहरा–चरित्र ।

शरद्को अर्को पक्ष भन्नु बिछोडको चोटमा मिलनको आगमन हुनु । त्यसैले धिपिक्कधिपिक्क मधुरो, धमिलो, निभ्नै लागेको बत्तीमा आशाको दीप बालिदिने शरद् । वृद्धावस्थाका धूमिल आँखा आफन्त फर्किएर प्रियजन आऊलान् भनी बाटो हेरी बसाउने पनि यही शरद् ।

पिँढी, दलानमा बुढ्यौली आँखा बिछ्याएर आफन्त आउने बाटो हेरिबस्ने, पर्खाइमा मिठो आशाको दियो बाल्दै । सम्झिँदै बालापन र वर्तमानका आशा र निराशाहरू ।

शरद्ले ल्याउने खुसीसँग हातेमालो गर्दै आँगनमा नाच्ने रहरहरू । कैयौँ बातचितका बाँकी कुराहरू सुनाउने र सुन्ने चाहनाहरू ।

अनि, बल्ल वृद्धवयका चाउरी–चेहरामा तरुण लावन्य झल्किन थाल्छन् । रोएर थाकेका आँखाबाट हर्षाश्रु बग्न थाल्छन् । एउटा पृथक् परिवेश, खुसीको मिठासले ओतप्रोत परिवार र समाज । जति ठूलो र सम्पन्न सहरमा बसे तापनि आफ्नो जन्मभूमि, घरदैलोमा आएपछि हर्षले सीमा नाघ्ने रहेछ ।

शरद्को याममा यहाँभन्दा आनन्द कहाँ मिल्नु बिरानो ठाउँमा ! आहा, कति प्रिय यो शरद् ! कति मनमोहक शरद्को सौन्दर्य !

शारदीय सौन्दर्यको मनमोहक परिवेश । प्रकृति शोभायमान अनि जीवन–स्वरूप पनि त्यस्तै । उत्सवमा घर, कोठा, ढोकाझ्याल, बाटो, चोक सर्वत्र साजसज्जा ।

अनि, देवीदेवतादेखि अन्य पूजाआजामा हार्दिक स्वभाव र संस्कारको संगम । धर्मकर्मप्रेमी नेपालीहरूको पहिचान आध्यात्मिक अनुराग अभिव्यक्त हुन्छ ।

आहा, कति खुसीको दिन आज ! कि मौसम रमाइलो ? प्रकृति पनि मुस्कुराउँदै जिन्दगी छाम्न नजिक आइरहेछ । प्रकृतिको प्रेमिल सुगन्धले लट्ठिँदै म कल्पना मनोविम्बको उडानमा उडिरहेछु माथिमाथि !

मुख मात्रै होइन, आँखा समेत हन्तकाले भइदिँदा मृगतृष्णा मन झनै शारदीय सयरमा चञ्चल हुँदै छ ।

कतिन्जेल आँखाले आकाशभरिको विशालता हेर्नु ! कतिसम्म चंगा आकाशिएको मनोरम दृश्य नियाल्नु ! कतिन्जेल देवीदेवता, पूजापाठ र धर्मकर्मका आध्यात्मिक अनुरागहरूमा ध्यानस्थ हुनु ! रमाउनु कति बल्लबल्ल आफन्त भेटेको प्रेमिल मृदु मुस्कानहरूको सुस्वागतमा !

अन्ततः शारदीय आकाशमा खुसीका रङहरू चंगा बनेर उडिरहन्छन् आकाशभरि, धरतीभरि । शक्तिपीठ र दसैँघरहरूमा विधिपूर्वक पूजापाठ भइरहन्छन् ।

तर, त्यहाँ निर्दाेष पशुपक्षीको बलि दिनु अनुचित हो । अरूको ज्यान अचानोमा छिनाएर रगतको थोपाले देवता पुज्दै मंगल कामनाको अपेक्षा गर्नु कत्ति पनि मानवीय धर्म होइन । पर्वको मर्म र महत्त्व पनि यो होइन ।

हिंसा, काटमारको बलिदानले मानिसको मनोकामना पूरा हुनु हुँदैन । देवताको चाहना यस्तो कदापि हुन सक्दैन ।

यसका विरुद्ध बरु प्रेमको बलिदान नै कति प्रिय हुन्छ । स्नेहमय व्यवहार प्रिय हुन्छ । मौसमको सौन्दर्यमा वशीभूत जीवनधामले ममताकै यात्रा हिँड्नुपर्छ । विवेककै पदचाप पछ्याउनुपर्छ ।

यति पवित्र र आत्मीय पल, यति अनुरागमय परिवेशमा किन अरूको अहितमा काम गर्नु ! किन अरूको खुसी खोसेर आफूले मात्रै दुःख दिनु !

हुँदैन कदापि यो शरद्मा अरूलाई व्यथित र पीडित पार्नु । सुहाउँदैन अरूको जीवनमा पीडा दिनु । शरद्को अर्थ र अभिप्राय यो होइन । शरद्को रङ र सौन्दर्यमाथि हस्तक्षेप गर्न सुहाउँदैन । हुँदैन हामी कसैले कहिल्यै त्यसो गर्न ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro