site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई छोरीकी आमा म
Tiktok banner adTiktok banner ad

भगवान्को आशीर्वादले धेरै कष्टपछि छोरी जन्मिई । जसको आगमनले जिन्दगी रंगीन भयो । आमा बन्न आफूले चाहेर नहुने रहेछ । धेरै उपचार र केही गर्भपातपछि जन्मेकी छोरीका कारण हाम्रो जिन्दगी धेरै रमाइलो भयो ।

खाली बगैँचामा गुलाफ फुलेजस्तो, कालो तस्बिरमा रङ भरेजस्तो, उराठ मरुभूमिमा झरी परेजस्तै भयो जीवन ।

पहिले नै फ्यलोपियन ट्युबमा बच्चा बसेको हुँदा ट्युब निकाल्न शल्यक्रिया गरेपछि डाक्टरले अब बच्चा हुन गाह्रो पर्ला भन्नुभएको थियो । यो छोरी हाम्रो लागि आशीर्वाद नै हो ।

संघर्ष चल्दै थियो, दुवैजना जागिरे हामी छोरीलाई बुवाआमाको हातमा छाड्दै आफ्नो कामना जान्थ्यौँ । छोरी हुर्किंदै थिई, सबैले हामीलाई अर्को बच्चा जमाउने हैन भन्ने प्रश्न गर्थे, ‘दुई सन्तान भए एकार्कालाई साथी !’

भोलि हामी मरेर गए पनि उनीहरू एकार्काका लागि सुखदुःख साट्ने साथी हुन्छन् भन्नेचाहिँ मनमा लागेको थियो । पहिले नै दुइटा शल्यक्रिया भइसकेको हुँदा अब जोखिम हुन्छ होला भनेर डाक्टरको सल्लाह लिन गयौँ ।

डाक्टरले पनि त्यस्तो जोखिम हुँदैन भन्ने सल्लाह दिनुभयो । एक वर्षजति बच्चा बसेन । त्यसपछि हामीले होस्, अब हामीलाई चाहिँदैन, एउटी छोरी छँदै छ भनी चित्त बुझायौँ ।

छोरी सात वर्षकी भइसक्दा अर्को गर्भ बसेको थाहा भयो । खुसी र डर दुवै थियो मनमा । नसाको समस्या भएर केही औषधिको सेवनमा थिएँ म ।

यसैबीच, डाक्टरको सल्लाह लिन गयौँ । डाक्टर पनि डराउनुभएको थियो, नसासम्बन्धी औषधि सेवन गर्दा बसेको बच्चा भएर केही समस्या देखिने हो कि !

डाक्टरले हामीलाई जोखिम लिने कि नलिने भनी सोध्नुभयो । हामीले ‘कन्टिन्यु’ नै गर्ने निर्णय गर्यौं ।

पाँच महिनाको ‘स्क्यान’मा छोरी नै छ भन्ने थाहा भयो । हामी झन् खुसी भयौँ । सबैलाई सुनायौँ, ‘छोरी छ रे !’ अनुहार सबैका उज्याला थिएनन् । तर, हाम्रो खुसीको सीमा थिएन ।

डाक्टरले हुँदैन भन्दाभन्दै पनि दुइटी हुने भए । योभन्दा बढी जिन्दगीमा के चाहियो र ! अब जिन्दगीमा कुनै कुराको चाहना नभएजस्तो भयो ।

दुइटी छोरी जन्मिए । अझ भनौँ, सकुशल जन्मिए । अब उनीहरूलाई राम्रो शिक्षादीक्षा दिन पाए जिन्दगी सफल हुने थियो भन्ने लागेको छ ।

छोरीहरूलाई दाजुभाइ हुनु र दिदीबहिनी हुनु उस्तै हो भन्ने सिकाएको छु । अनि, भाइ हुनु या बहिनी हुनु एउटै हो भन्दै आएको छु ।

सानैदेखि रक्षाबन्धन अनि तिहारमा एकार्कालाई राखी बाँध्न, टीका लगाउन सिकाएको छु । भोलिका दिनमा उनीहरू जहाँ भए पनि यी दुई दिन जसरी पनि भेट्न, भेट्न नसके पनि एकार्कालाई उपहार पठाउन सिकाउँदै छु । मैले सिकाउन खोजेको कुरा उनीहरूले नबुझे पनि पछि बुझ्नेछन् जस्तो लाग्छ ।

प्रश्न मलाई अझै पनि आउँछ, ‘अब एउटा छोरा पाउने होइन ? वंश अगाडि कसरी बढ्छ ?’

हामीलाई कहिले पनि छोराको चाह भएन । छोरा नै जन्मिएको भए हामी तिरस्कार गर्थ्यौं भन्न खोजिएको होइन । सन्तान जे जन्मिए पनि हामी दुवैले त्यो हाम्रो वंश, हाम्रो अंश, हाम्रो सर्वस्व नै ठानेका छौँ ।

हामी २१औँ शताब्दीमा आएर पनि अझै ‘छोराले मात्र पाल्छ, वंश अघि बढाउँछ’ भन्ने सुन्दा मलाई खिन्न लाग्छ ।

अझ मै हुँ भन्ने, पढेलेखेका भनाउँदाहरूले यसो भनेको सुन्दा अवाक् लाग्छ । म आफैँ पनि छोरी हुँ । मेरो बुझाइमा मैले जन्माएको बच्चा छोरा होस् या छोरी उसमा हामी दुवैको रगत हुन्छ र भोलि मेरो बच्चाले जन्माउने बच्चामा पनि मेरो केही अंश हुन्छ ।

अनि, के त्यो सन्तान हाम्रो वंश होइन त ? यही हाम्रो सरल बुझाइ हो । अनि, यही सरलतामा हाम्रो जीवन बितोस् ।

यही सहरमा पढेलेखेका भनिएका केही महिलाले नै अझै पनि छोरा नै चाहिन्छ भनेको सुन्दा मन चिसो हुन्छ । कम से कम यिनीहरूले त नछुट्ट्याए हुनेजस्तो महसुस हुन्छ ।

आफैँले सुनेको छु, ‘मेरो छोरा छँदै छ, अर्को किन पाउनु ? छोरी हुनेले पाउने हो ।’

यस्तो सुन्दा लाग्छ, छोरा या छोरी कसैको चाहनाले हुने भए हाम्रो समाजमा छोरी नै जन्मिने थिएनन् होला !

उठ छोरी हो, अब सबैलाई देखाओ । छोरामानिसले गर्ने हरेक काम गरेर देखाओ । बुवाआमाको सेवादेखि दागबत्ती र क्रियाकर्म सबै गर । कुनै काममा पछि नहट । अनि मात्र यो समाजले स्वीकार्नेछ । यति नगरेसम्म जति छोरी गर्भमा आउँछन्, त्यहीँ मारिनेछन् ।

नवरात्रमा हरेक दिन दुर्गामाताको अवतारलाई अनि दीपावलीमा लक्ष्मीलाई पूजा गर्ने हामीले महिलाको अस्तित्वलाई कहिले स्वीकार्ने ? यसो हेर्दा र सुन्दा अवस्था सहरमा नै दयनीय छ । समानताका कुरा गर्ने हामी अझै पनि सहरभित्र नै समान रूपले महिलालाई हेर्दैनौँ ।

सहरमै अझै पनि छोरा र छोरीमा भेदभाव छ । अझै पनि थुप्रै छोरीहरू जन्मिन नपाई कोखमै मारिन्छन्, यही सहरमा । अझ धेरै लड्नु छ, धेरै संघर्ष गर्नु छ समानताका लागि । अनि, लडेरै पार गर्नु छ विभेदको यो महासागर ।

म देशको राजधानीमा समानताको लडाइँ लड्दै गरेकी महिलाले त छोरा चाहिन्छ भन्ने बारम्बार सुन्नुपर्छ भने सोचौँ, दुर्गमको अवस्था कस्तो होला ?

कामको सिलसिलामा म धेरै जिल्ला पुगेकी छु । त्यहाँको रहनसहन र महिलाको अवस्था हेर्दा लाग्छ, देशमा अझै पनि महिला स्वास्थ्य, महिला शिक्षा र महिला उत्थानमा धेरै लगानी र समय खर्चिनुपर्छ । समानताका आँखाले महिलालाई हेर्न अझै दशकौँ लाग्ने देखिन्छ ।

अझ भनौँ, समानता बुझ्नै दशकौँ लाग्छ । छोराछोरी बराबर हुनु मात्र समानता होइन, समानता हाम्रो सोच हो । यो सोच, दृष्टिकोणमा परिवर्तन नआईकन समानताको लडाइँ अपुरो हुन्छ ।

छोरालाई जस्तै शिक्षा र सबै अवसर दिने हो भने भोलि छोराले दिने खुसी छोरीले पनि दिनेछन् । कसले सम्झाइदिने ! बाँचुन्जेल खुसी नै हो जिन्दगीलाई चाहिने । मरेपछि दागबत्ती जसले दिए पनि हुने त खरानी नै हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro