काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेका सञ्जय भण्डारीलाई सुन्धारा कारागार प्रशासनले गोलघरभित्र राखेको छ । उनीमाथि काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा काम गर्ने दोलखाका कुमार भुजेलसहित चारजनाको हत्या गरेको अभियोग छ । गएको भदौ ३० गते सामूहिक हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
गएको शुक्रबार (असोज २६) काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका निम्ति जेल चलान गर्ने आदेश दिएको हो । शुक्रबारै सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यही दिन अदालतले उनलाई सुन्धारा कारागार चलान गर्ने आदेश दियो ।
मुद्दा अभियोजन र आदेश एकैदिन विरलै हुने गर्छ । भण्डारीको हकमा भने यी दुवै कार्य एकैदिनमा गरियो । भण्डारीले चारजनाको क्रूरतापूर्वक ज्यान लिएको भन्दै सरकारी वकिल कार्यालयले जीवित रहेसम्म कैद हुने गरी सजाय मागदाबी गरेको छ ।
क्रूर र अमानवीय तवरबाट मानिसको हत्या गर्नेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ (क) मा जीवित रहेसम्म कैद सजाय हुने व्यवस्था छ । सरकारी वकिल कार्यालयले भण्डारीका हकमा उक्त दफा आकर्षित हुने जिकिर गरेको हो ।
जेलमा समेत उनका कारण अरू कैदीमाथि सुरक्षा खतरा देखिएपछि गोलघरभित्र राखिएको केन्द्रीय कारागार सुन्धाराका जेलर ललितकुमार बस्नेतले बताए ।
जन्मजात बोल्न नसक्ने भण्डारीले खुकुरी प्रहार गरेर दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका, आमा शुभद्रा र नवीन भनिने विशाल राईको निर्ममतापूर्वक हत्या गरेको अभियोग छ । चारजनाको सामूहिक हत्या गरेको भण्डारीले स्वीकार गरिसकेको जनाइएको छ ।
आजीवन जेल सजाय पाएका यी हुन् सात अपराधी
भण्डारीमाथिको सजाय मागदाबी न्यायिक सुनुवाइ प्रक्रियामा छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यसअघि गोंगुब हत्या प्रकरणका एक महिलामाथि समेत आजीवन जेल सजायको मागदाबी गरेको थियो । कल्पना मुडभरी पौडेलले दाङका कृष्णबहादुर बोहराको क्रूर एवं निर्ममतापूर्वक हत्या गरेको भन्दै उक्त मागदाबी गरेको थियो ।
सरकारी वकिल कार्यालयको मागदाबीअनुसार नै काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई आजीवन जेल सजायको फैसला सुनायो ।
चितवनको शक्तिखोरकी ३७ वर्षीया पौडेलले ०७७ साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा ‘प्याक’ गरेर फालेको प्रहरीको अनुसन्धानमा देखिएको थियो ।
उक्त घटनामा उनकी १५ वर्षीया छोरी समेत पक्राउ परेकी थिइन् । अदालतले उनकी छोरीलाई भने सफाइ दिएको थियो । कल्पनासहित सुन्धारा कारागारभित्र आजीवन कैद सजाय भोगिरहेका सातजना रहेका जेलर बस्नेतले जानकारी दिए ।
सुन्धारा कारागारमा आजीवन कैद सजाय भोगिरहेकाहरूमा कल्पनासहित दिनेश भट्टराई, अशोककुमार झा, उज्जल महत, महेन्द्र एसके, सोमबहादुर जिम्बा र जयबहादुर वाइवा छन् । उनीहरूलाई विभिन्न जिल्ला अदालतले फैसला सुनाएको हो ।
झा बलात्कार र हत्या अभियोगमा दोषी ठहर भएका हुन् । दिनेश र र उज्वल पनि हत्या अभियोगमा दोषी ठहर हुँदै आजीवन जेल सजाय पाएका अपराधी हुन् । जिम्बा र वाइवा डाँका र हत्या अभियोगमा दोषी ठहर भएका थिए ।
जेलर बस्नेतका अनुसार, झाबाहेक तीनजनालाई जिल्ला अदालतले आजीवन जेल सजायको फैसला गरेको हो । झाको हकमा उच्च अदालतले समेत जिल्लाको आदेशलाई सदर गरिसकेको छ ।
आजीवन जेलबाट सजाय घटाउन माग गर्दै झा हाल सर्वोेच्च अदालत पुगेका छन् । अरू तीनजना पनि कैद सजाय घटाउन माग गर्दै उच्च अदालत पुगेका छन् ।
अरू कैदीमाथि खतरा
यसरी आजीवन कैद सजाय पाएका मध्ये कारागार प्रशासनले कल्पनालाई गोलघरभित्र राखेको छ । उनको मानसिक अवस्था बिग्रिएपछि गोलघरभित्र राखिएको जेलर बस्नेतको भनाइ छ ।
उनीबाहेक दिनेश, अशोककुमार, उज्वलको समेत मानसिक अवस्था ठिक छैन । आजीवन जेल सजाय भनेको उनीहरू जीवित रहेसम्म कारागारमै राखिनु हो ।
“आजीवन जेल सजाय पाएकाहरूसँग अन्य कैदी समेत बोल्न डराउँछन् । हामीलाई पनि उनीहरूले कहिले के गर्छन् भन्ने त्रास हुन्छ । तर, अझै सर्वोच्च अदालतले तपाईंहरूको कैद सजाय घटाउन सक्छ भनेर हामीले सम्झाइ गरिराखेका हुन्छौँ,” बस्नेतले भने ।
आजीवन जेल सजाय पाएकालाई अरू कैदीसँग राख्दा जोखिम हुने उनको भनाइ छ ।
सुन्धारा कारागारभित्र पाँच गोलघर छन् । तीमध्ये दुई गोलघरभित्र तेस्रोलिंगी, एउटामा भण्डारी र एउटामा एक मानसिक सन्तुलन गुमाएका अपराधी रहेका जेलर बस्नेतले बताए ।