site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी विवादमा शशांक : देउवा र कार्की दुवैले व्यक्तिगत निर्णय गरे
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कोसी प्रदेशका विषयमा व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद देखिएको बताएका छन् । कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक भए पनि व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद देखिएको उनले उल्लेख गरे ।

“नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टी लोकतान्त्रिक हुन पार्टीभित्रको लोकतन्त्र बलियो हुन आवश्यक छ । यसका लागि हरेक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने अभ्यास गर्नुपर्छ,” डा. शशांकले बाह्रखरीसँग भने, “कोसी प्रदेशका विषयमा केन्द्रमा सभापति शेरबहादुर देउवाले पनि व्यक्तिगत निर्णय गरे । कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे ।”

Argakhachi Cement Island Ad

दुवै पक्षबाट व्यक्तिगत निर्णय गरिँदा पार्टी अराजकतातर्फ जाने चिन्ता बढेको उनले बताए । “केदार कार्की नेपाली कांग्रेसका प्रदेश सांसद हुन् । उनले सरकारको नेतृत्व गर्नु नेपाली कांग्रेसले नै गर्नु हो । यसमा विवाद गर्नुपर्ने कारण म देख्दिनँ,” उनले भने, “तर, निर्णय संस्थागत हुन सकेन । केन्द्रबाट सभापति शेरबहादुर देउवाले पार्टीसँग होइन, अरू नै पार्टीका नेतासँग बसेर माओवादीलाई नेतृत्व दिने निर्णय गर्नुभयो । कोसीमा केदार कार्कीले व्यक्तिगत निर्णय गरे । यसमा अब विवाद गर्नेभन्दा भएका गल्ती सच्याउने र भविष्यमा विवाद आउने निर्णय नगर्ने प्रतिबद्धता आवश्यक छ ।”

कोसीमा कार्की नेतृत्वको सरकारलाई कांग्रेसले आफ्नै भनेर विश्वासको मत दिँदै त्यसको अपनत्व समेत लिइसकेको अवस्थामा नेताहरू विवादमा उत्रनुको औचित्य नभएको उनको भनाइ छ ।

कोसी सरकार गठनमा नेकपा (एमाले)सँगको सहकार्यलाई लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले टिप्पणी गर्दै आएका छन् । त्योसँगै डा. शेखर कोइराला र गगनको टिम एउटै छ/छैन भनेर प्रश्न उठाइँदै छ ।

केही कमजोरी भए पनि कांग्रेसको सरकारलाई सफल बनाउनुपर्ने भन्दै शशांकले भविष्यमा कमजोरी आउन नदिनेतर्फ बहस गरिनुपर्नेमा जोड दिए ।

“कि पार्टीको वैधानिक तहबाट निर्णय हुनुपर्छ, हतारमा कुनै निर्णय भइहालेमा पार्टीले अनुमोदन गर्ने अवस्था बन्नुपर्छ,” उनले भने, “पार्टीका नेताले एउटा कुरा गर्ने अनि बाँकी पार्टी त्यसैको विवादमा अल्झिने कुराले पार्टीलाई फाइदा गर्दैन ।” 

कोसीको मुख्यमन्त्री बनेपछि काठमाडौं आएका कार्कीले डा. शशांकलाई निवासमै पुगेर भेटेका थिए । भेटमा शशांकले विद्रोहीका रूपमा मुख्यमन्त्री बने पनि राम्रो काम गरेर आफ्नो र कांग्रेसको इज्जत राख्न कार्कीलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्