site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement
तिथिपर्वले विभाजित अमेरिकाका नेपाली

विश्वविद्यालयमा अध्ययनरत मेरी छोरीले भनिन्–‘बाबा, दसैँको लागि कुन दिन छुट्टी लिनुपर्ने हो ? एक साता पहिल्यै युनिभर्सिटीलाई जानकारी दिनुपर्छ ।’

मैले भनेँ – ‘२३ तारिक टीकाको दिन हो । त्यसै दिनलाई छुट्टी माग है ।’

मेरी पत्नीले भनिन् – ‘हाम्रो घरमा त २३ तारिक टीका लगाउने । टीका लगाउनका लागि जाने गरेका ठाउँहरूमध्ये धेरैजसोले २४ तारिकमा लगाउने भन्दैछन् । कहिलेलाई लिने हो ? कति अन्योल बनाएका ज्योतिषीहरूले ?'

Agni Group

यो त मेरो घरको अवस्था भयो । अमेरिकाका हरेक नेपाली परिवारमा दसैँको टीकाको अन्योल यतिखेर चरमोत्कर्षमा छ । अक्टोबर २३ (कार्तिक ६गते) टीका लगाउने कि अक्टोबर २४ (कार्तिक ७ गते) लगाउने भन्ने विषयमा धेरैतिर समाज विभक्त छ । 

प्रवासको नेपाली समुदाय अनेक हिसाबले विभाजित छ । प्रवासमा पनि अझै अमेरिकाको नेपाली समुदाय अनेक तरहले विभक्त छ । नेपालका राजनीतिक दल, धार्मिक सम्प्रदाय, जातजाति, भूगोलका हिसाबले प्रवासको नेपाली समुदाय बाँडिएको छ । जतिजति नेपालीको संख्या प्रवासमा बढ्दै जान्छ त्यहीअनुरूप समुदाय पनि माथि भनिएका हिसाबले विभक्त हुँदैगएको महसुस सबैले गरिरहेकै छन् । 

Global Ime bank

यो विभाजनको पछिल्लो कारक अमेरिकामा हिन्दु धर्म संस्कृतिका चाडपर्व कुन दिन मनाउने भन्ने विषय बनेको छ । विगत चार वर्षदेखि अमेरिकाको नेपाली समुदाय नेपाली चाडपर्वको विषयलाई लिएर वर्षमा कम्तीमा ३/४ पटक विभाजित हुँदैआएको छ । निश्चित दिन विशेषमै हुने पर्वबाहेक तिथिका आधारमा मनाइने पर्वहरूमा केही वर्षयता चर्को विवादमात्र होइन समुदायनै विभाजित हुनपुगेको छ । जनैपूर्णिमा (रक्षाबन्धन), हरितालिका (तीज), बडादसैँ, तिहार, शिवरात्रीजस्ता पर्वहरू कहिले नेपालभन्दा अघिल्लै दिन पर्न थालेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाल र नेपाल बाहिरको तिथिको सुरु एकै समयमा नहुने तथ्य सार्वजनिक गरेर विगत चार वर्षदेखि छुट्टै पात्रो निकालेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको तर्क छ – ‘संसारभरि तिथिको सुरुआत एउटै समयमा हुन्छ । त्यो समय कुनै ठाउँमा रातको समय परेको हुन्छ, कतै बिहान । त्यस्तै कुनै देशमा त्यो समय साँझ परेको हुनसक्छ भने कतै मध्य दिन पनि परेको हुनसक्छ । तर, हिन्दु धर्म संस्कृतिअनुसारका कतिपय पर्व बिहान सूर्योदय हुँदा जुन तिथि हुन्छ त्यहीबमोजिम मनाउनुपर्ने हुन्छ ।’

साँझमा मनाइने कतिपय पर्वहरू जस्तै, कृष्ण अष्टमी, महाष्टमीको कालरात्री, लक्ष्मीपूजा, शिवरात्री भने साँझको तिथिको आधारमा तय हुने ज्योतिषीहरूको तर्क छ । त्यसो हुँदा पर्वहरू कहिलेकाँही नेपाल र अन्य देशमा फरक दिनमा पर्नु स्वाभाविक रहेको उनीहरुको भनाइ छ ।

यो टिप्पणीकार अमेरिकामा रहेका कारण यस आलेखमा अमेरिका र नेपाललाई केन्द्रमा राखेर वर्तमान विवादको साङ्गोपाङ्गोमा केन्द्रित रहेर लेखिएको छ । 

अमेरिकामा रहेका भारतीय र भुटानी समुदायका हिन्दुहरूले केही वर्ष अघिदेखिनै कतिपय पर्वहरू नेपाल र भारतभन्दा अघिल्लै दिन मनाउन थालेका थिए । भारतीय समुदायद्वारा सञ्चालित ठूला हिन्दु मन्दिरका वेभसाइटहरूमा पनि अमेरिकामा कुन पर्व कुन दिनमा पर्छ भनेर खुलाउने गरेको पाइन्छ । भुटानी हिन्दु समुदायले विगत केही वर्षदेखि प्रकाशित गर्दै आएको मारुतीनन्दन पात्रोमा पनि कहिलेकाँही केही पर्वहरू नेपालभन्दा अघिल्लै दिन उल्लेख गरिएको पाइन्छ । भारतीय र भुटानी हिन्दु समुदायले सूर्योदय हुँदा जुन तिथि पर्छ त्यही दिन पर्व मनाउँदै आएका छन् । 

IMG_8968-1697608364.jpg

नेपाली समुदाय भने यो विषयमा निकै विभाजित छ । मूलतः तीन किसिमबाट अमेरिकामा रहेका नेपालीले पर्व मनाउने गरेका छन् । पहिलो, नेपालकै पात्रोलाई यथावत् आधार मानेर अमेरिकामा भोलिपल्ट मनाउने । दोस्रो, अमेरिकाको स्थानीय अक्षांश, देशान्तरलाई आधार मानेर ज्योतिषीहरूले निकालेको समयअनुसार मनाउने । तेस्रो, नेपालमा जतिखेर मनाइन्छ अमेरिकामा पनि त्यति नै खेर भर्चुअलरूपमा मनाउने । अर्थात, नेपालमा बिहान ११ बजे कुनै पर्वको साइत छ भने अमेरिकामा पनि नेपालकै ११ बजेको समयमा अनलाइन बसेर सँगै मनाउने केही व्यक्तिमा चलन रहेको भेटिन्छ । 

यद्यपि मूलतः विवाद नेपालकै पात्रोअनुसार निकालिएको समयमा अमेरिकामा पर्व मनाउने कि अमेरिकाकै लागि ज्योतिषीले तोकिदिएको समय र तिथिका आधारमा मान्ने भन्नेमै छ । दुवै पक्षका आआफ्ना तर्क छन् । आफ्नै अडान र मान्यता दूवै पक्ष राख्छन् । 

IMG_8967-1697608363.jpg

नेपालकै पञ्चाङ्गअनुसार अमेरिकामा पछिल्लो दिन चाडपर्व, तिथिश्राद्ध गर्ने अडान राख्ने वर्गको तर्क छ – ‘तिथिलाई मात्र आधार मानेर पर्व मनाउनु हुँदैन । कतिपय नेपाली पर्वहरू संस्कार र संस्कृतिसँग पनि जोडिएका हुन्छन् । तिथिलाई मात्र आधार मान्दा नेपालसँगको सम्बन्ध टुट्छ ।’ 

यही वर्गका केही व्यक्ति भने नेपालभन्दा अमेरिकामा तिथि अगाडि आउने ज्योतिषीहरूको तर्कलाई अस्वीकार गर्छन् । उनीहरूको प्रश्न छ – ‘यतिका वर्षसम्म नआएको यो तथ्य अहिले एकाएक कसरी आयो ?’ उनीहरू यस तर्कमा षड्यन्त्रसमेत देख्छन् । 

तिथिका आधारमा मनाउनुपर्ने चाडपर्वहरू तिथि बितिसकेपछि मनाउनुको कुनै अर्थ नरहने तर्क अमेरिकाकाकै स्थानीय समय, अक्षांश, देशान्तरका आधारमा पर्व मनाउनुपर्ने धारणा राख्नेहरूको छ । ‘सबै पर्व अमेरिकामा अघिल्लो दिनै पर्छन् भन्ने हुँदैन । कहिलेकाँही यस्तो पर्न आउँछ । तिथिका आधारमा मान्ने हो भने यस्तोमा विवाद ल्याउनुको अर्थ छैन’ उनीहरूको भनाइ छ । 

अमेरिकामा मात्र नभएर तिथिका आधारमा मनाउने पर्वहरू सूर्योदय हुँदा जुन तिथि हुन्छ त्यही दिन मनाउनुपर्ने धारणा यो वर्गको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले संसारभरि अलग्गै अक्षांश र देशान्तर हुने कारणले गर्दा त्यसका आधारमा तयार पारिएको पञ्चाङ्ग अर्को ठाउँमा नमिल्ने उल्लेख गरेको छ । पछिल्लो समयमा समितिले प्रेषित गरेको पत्रमा अझै स्पष्ट पार्दै उल्लेख छ – ‘कुनै एक स्थान विशेषलाई आधार मानेर तयार पारिएको पञ्चाङ्ग अन्य देशमा प्रयोग गर्न मिल्दैन ।’ यसको सिधा अर्थ हो, पञ्चाङ्ग निर्णायक समितिले तयार पारेको पञ्चाङ्ग नेपालका लागि हो । त्यसलाई नेपालबाहेक अन्य देशमा प्रयोग गर्नु उपयुक्त हुँदैन । 

पञ्चाङ्ग निर्णायक समिति नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको समिति हो । यो समितिले केही महिनाअघि लेखेको एउटा पत्रमा आफ्नो कार्यक्षेत्र नेपालभित्र मात्र भएको उल्लेख गर्दै नेपालको लागि स्वीकृत गरिएको पात्रो अन्य देशका लागि प्रयोग गर्न नमिल्ने जनाएको छ । नेपालको पञ्चाङ्ग निर्णायक समितिले हरेक वर्ष नेपालको पात्रो र विदेशको पात्रो फरक पर्ने भन्दै स्थानीय अक्षांश, देशान्तरका आधारमा तिथिको समय फरक पर्नेतर्फ सचेत गराउँदै आएको छ ।

IMG_8966-1697608363.jpg

अमेरिकामा सबैभन्दा बढी विवाद भने दसैँको टीकाको विषयमा हुनेगरेको छ । नेपालका मान्यजन, आफन्तहरूले टीकाटालो नगर्दै अमेरिकामा कसरी लगाउने भनेर तर्क गर्नेको संख्या पनि कम छैन । 

यस पटकको दसैँको टीका अमेरिकामा नेपालभन्दा पहिले रहेको तथ्यसहित ज्योतिषीहरूले साइत सार्वजनिक गरेका छन् । नेपालमा कार्तिक ७ गते (अक्टोबर २४ तारिक) बिहान ११:०२ मा निकालेका छन् । तर अमेरिकामा भने अक्टोबर २३ तारिक (कार्तिक ६ गते) का लागि निस्किएको छ । अमेरिकामा सक्रिय ६ वटा 'टाइमजोन'मध्ये न्यु योर्कका लागि १०:४७ बजे, डीसीका लागि १०:५३ बजे, टेक्ससका लागि ११:०३ बजे, क्यालिफोर्नियाका लागि १०:३१ बजेको साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । 

यसो हुनुमा नेपालमा दशमी परेको अक्टोबर २४ तारिक दिउँसो ३:२९ मा उक्त तिथि समाप्त हुन्छ । संसारभरि एकै समयमा तिथि सुरु र अन्त्य हुने नियमअनुसार अमेरिकाको टेक्ससमा २४ तारिक बिहान ४:४४ बजे दशमी तिथि समाप्त भएर एकादशी लागिसक्छ । टेक्ससमा अक्टोबर २३ तारिक बिहान ७:१५ बजे दशमी तिथि सुरु भएर अक्टोबर २४ तारिक बिहान ४:४४ मा सकिन्छ । त्यसो हुँदा अक्टोबर २३ मा अमेरिकामा दशमी तिथि परेकोले सोही दिन लगाउनुपर्ने भनाइ ज्योतिषीहरूको छ । 

देश र नगरअनुसार कुन तिथि स्थानीय समयमा कतिखेर सुरु हुन्छ भन्ने जानकारीका लागि यो लिङ्कमा गएर आफैँले पनि हेर्न सकिन्छ । 

https://www.astroica.com/vedic-astrology/tithi-calculator.php#resultTable

केही वर्ष अघिसम्म अमेरिकामा नेपाली समुदायले नेपालकै पञ्चाङ्ग पात्रोलाई यथावत् मानेर नेपालकै समयअनुसार पर्व मनाउने गरेका थिए । तर, जब नेपाली ज्योतिषहरूको आगमन बढ्यो भारतीयहरूले तिथिको गणना गरेर अमेरिकाको समयअनुसार साइत निकाल्न थाले । त्यसपछि नेपाली ज्योतिषीहरूले त्यसमा सत्यता रहेको भेउ पाए । तर, समाजले नयाँ तथ्यलाई विश्वास गरिहालेको र स्वीकार गरिसकेको छैन । उनीहरूको भनाइ छ – नेपालभन्दा १२/१३ घन्टा पछाडि समय रहेको अमेरिकामा तिथि चाँही कसरी अगाडि पर्छ ? 

यो विषयलाई बुझाउन धेरै ज्योतिषीले पहल पनि गरिरहेका छन् । किनभने कुनै बच्चा अमेरिकामा जन्मदा नेपालको समयअनुसार गणना गर्दा उसको राशि, नक्षत्रलगायत धेरै कुरामा ठूलो अन्तर आउँछ । यस तथ्यलाई बुझाउन गत वर्ष अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. माधवप्रसाद भट्टराईको सहभागितामा कार्यक्रम समेत आयोजना गरिएको थियो । 

अमेरिकामा रहेका नेपाली समुदायले अझै पनि ज्योतिषीले भनेको अमेरिकामा तिथि फरक हुन्छ, विश्वभरि एकै समयमा तिथि सुरु भएर एकैपटक अन्त्य हुन्छ भन्ने तथ्यलाई सर्वसम्मतरूपमा स्वीकार्न सकेका छैनन् ।

सर्वसाधारणमात्र नभएर नेपाली समुदायले सञ्चालन गरेका मन्दिरका पुजारीहरूसमेत अन्योलमा छन् । मन्दिरका पुजारीहरू जे भन्दा यजमान खुसी हुन्छन् त्यहीअनुसार बोल्दै आएका छन् । सत्य र यथार्थ होइन, यजमान नभड्किउन् अनि दान दक्षिणामा कमी नगरुन् भन्ने ध्येय राखेर पुजारी पण्डितहरूले हिँडेका छन् । यसले गर्दा विगत चार वर्षदेखि अमेरिकामा चाडपर्वको समयमा सधैँभरि अन्योल थपिँदो छ । 

यस समस्यालाई समाधान गर्न सकेसम्म छिटै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समिति, नेपाल पञ्चाङ्ग निर्णय विकास समिति, अमेरिकामा रहेका नेपाली मठमन्दिरका पुजारीहरू, अमेरिकाका नेपाली ज्योतिषीहरू र भारतीय ज्योतिषीहरूसहितको बृहद् भेला राखेर एउटा समाधानमा पुग्न जरुरी छ । अमेरिकामा आएको पहिलो पुस्ताको नेपालीको यो विवाद देखेका यहीँ हुर्किएका नयाँ पुस्तामा धर्म, संस्कार, संस्कृति प्रति नै वितृष्णा बढ्ने निश्चित छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu