site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कहिले आइपुग्छ बाल क्यान्सरको उपचारका लागि ३५ प्रकारका निःशुल्क औषधि ?

काठमाडौं । सरकारले निःशुल्क दिन लागेको बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि आइपुग्न केही ढिलाइ हुने भएको छ ।

यसअघि सेप्टेम्बर २०२३ बाट उपलब्ध गराउने गरी औषधि ल्याउने भनिएको यिथो । तर, पर्याप्त प्राविधिक तयारी नपुगेकाले केही महिना ढिलाइ हुने भएको हो ।

दाता जीआईसीसीको तयारी हेर्दा २०२४ को जनवरीसम्म मात्रै औषधि नेपाल आइपुग्ने सम्भावना रहेको कान्ति बाल अस्पतालका वरिष्ठ वरिष्ठ बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट डा. सुधिर सापकोटाले बताए । डा. सापकोटा कान्ति अस्पतालको तर्फबाट निःशुल्क औषधिको प्राविधिक टोलीमा रहेर काम गरिरहेका छन् ।

उनका अनुसार नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि दाता जीआईसीसीले प्राविधिक तयारी अझै बाँकी रहेको जनाएको छ । औषधि ल्याउने मिति टुंगो लागेसँगै औषधि व्यवस्था विभागले विशेष सिफारिस प्रदान गर्ने र आयात प्रक्रिया अघि बढ्ने विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

कसले दिँदै छ निःशुल्क औषधि ?
विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीआईसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउन लागेको हो ।

अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स् रिसर्च हस्पिटलको सहयोगमा नेपालसँगै मंगोलिया, जिम्बाबे, युगाण्डा र उज्बेकिस्तानलाई ६ वटा क्यान्सरको उपचारमा प्रयोग हुने औषधि प्रदान गरिँदै छ ।

निःशुल्क प्रदान गर्न लागिएका औषधिहरू रक्त क्यान्सरका विभिन्न प्रकारसहित, आँखामा हुने (रेटिनोब्लास्टोमा), मस्तिष्कसम्बन्धी (न्यूरोब्लाष्टोमा) लगायतका ६ वटा क्यान्सरको केमोथेरापीमा प्रयोग अत्यावश्यक औषधि हुन् ।

जीआईसीसीले उपलब्ध गराएको औषधि नेपाल ल्याउने जिम्मा युनिसेफले लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रंमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जीआईसीसीले विभिन्न चरणमा ती औषधि नेपाललाई उपलब्ध गराउनेछ । त्यसका लागि गत अप्रिल १४ मा अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स् रिसर्च हस्पिटल पुगी स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईं नेतृत्वको टोलीले जीआईसीसीसँग सम्झौता गरेको थियो ।   

बिरामीले कसरी पाउँछन् निःशुल्क औषधि ?
३५ प्रकारका औषधि कान्ति बाल अस्पताल, भरतपुर र भक्तपुर क्यान्सर अस्पतालबाट निःशुल्क औषधि प्रदान गरिनेछ ।

विमानस्थलमा आइपुगेको औषधि कहाँ कति र कसरी पठाउने तथा भण्डारण गर्ने भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको डा. सापकोटाले बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रायलय र जीआईसीसी टेक्निकल वर्किङ ग्रुपको कात्तिक २९ गते बस्ने बैठकले यसबारे टुंगो लगाउनेछ ।

ती औषधि आवश्यकताअनुसार अस्पतालमा वितरण गरिनेछ । निःशुल्क औषधि लिनका लागि चिकित्सकको बाहेक थप कुनै सिफारिस आवश्यक पर्दैन ।

बाल क्यान्सरको उपचारमा राहतको अपेक्षा
नेपालमा बर्सेनि एक हजारदेखि एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने अनुमान छ । तर तीमध्ये झन्डै पाँच सयजनामा मात्रै पहिचान हुने गरेको छ । 

कान्ति बाल अस्पतालमा बर्सेनि तीन सयजना नयाँ बिरामी थपिने गरेको तथ्यांक छ । उपचारमा आएकामध्ये पनि २५ देखि ३० प्रतिशत बालबालिकाले बीचमै उपचार छोड्ने गरेको डा.सापकोटा बताउँछन् ।

कान्ति बाल अस्पतालमा क्यान्सरको उपचार गराएका बालबालिकाको निको हुने दर ७० प्रतिशत छ । तर उपचार गराउँदै जाँदा आर्थिक अवस्थाले नभ्याउने भएपछि बीचमै उपचार छोडेर जाने कारणले नेपालमा बाल क्यान्सर चुनौती बनेको उनी बताउँछन् ।

“समग्र उपचारको झन्डै २५ प्रतिशत खर्च औषधिमा हुने गरेको छ, यसबाहेक परीक्षण र परिवारको बस्नेखाने लगायतमा पनि ठूलो खर्च हुन्छ, औषधि मात्रैपनि निःशुल्क भए पूरा उपचार गराउनेकोको संख्या बढ्छ भन्ने हाम्रो अपेक्षा हो”, डा. सापकोटा भन्छन् ।

सरकारले सबै प्रकारका क्यान्सरमा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म उपचार खर्च छुट गरेको छ । यसबाहेक प्रदेश सरकारले ५० हजारदेखि दुई लाखसम्म थप राहत दिँदै आएका छन् । तर, यो रकम क्यान्सरका बिरामीको उपचारका लागि पर्याप्त नहुने कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. युवनिधी बसौला बताउँछन् ।  

६० प्रतिशतभन्दा बढी बालबालिका बचाउने प्रयास
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा बाल क्यान्सरबाट बाँच्नेदर ६० प्रतिशतभन्दा बढी पुर्‍याउने उल्लेख छ । अहिले कान्ति बाल अस्पतालमा मात्रै यो दर ६० प्रतिशत छ ।

तर समग्र नेपालको अवस्था हेर्दा ढिलो उपचारमा आइपुग्ने, उपचार नै नगराउने, तथा बीचमा उपचार छोड्नेजस्ता कारणले यो दर औषत ४० प्रतिशत मात्रै भएको डा. बसौला बताउँछन् ।

अस्पतालको तथ्यांकअनुसार सन् २०२१ मा क्यान्सर पहिचान भएकामध्ये १३.१४ प्रतिशत बालबालिकालाई कुनै उपचार नै नगरी फर्काइएको छ । यसमा आर्थिक अभाव नै मुख्य कारण रहेको उनको अनुभव छ ।

निःशुल्क औषधिको व्यवस्थाले बढीभन्दा बढी बालबालिकालाई उपचारको दायरामा ल्याउन सहयोग पुग्ने र अर्थिक अभावकै कारण बीचमा उपचार छोड्नुपर्ने बाध्यता हटेर जाने उनको अपेक्षा छ ।

यी हुन् निःशुल्क प्रदान गर्न लागिएका औषधि

Medicine-1697327032.jpg

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro