काठमाडौं । राष्ट्रियसभाले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।
समितिमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा छन् । भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा छन् ।
मस्यौदा समितिले राष्ट्रियसभा र समितिमा व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रियसभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेका कठिनाइहरू पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरेर सभामा पेस गर्ने जनाइएको छ । समितिले सदस्यहरूमध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ ।
मस्यौदा समितिलाई पुस १४ गतेसम्मको कार्यावधि दिइएको छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेस गरेकी छन् ।