काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अहिले १०/११ प्रतिशतले कर्जा लिने अवस्था रहेको र त्योभन्दा अगाडि बढ्न सक्ने वातावरण बन्दै गएको बताएका छन् ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस कार्यक्रममा उनले सीमितमा जाने कर्जा बढ्ने वातावरण बन्दै गएको बताएका हुन् ।
“अहिलेको अवस्थामा १०/११ प्रतिशतमा कर्जा प्राप्त हुने अवस्था रह्यो भने यो स्थितिलाई हामीले पनि बुझेका छौँ, व्यापारी समुदायले पनि बुझेको छ,” मिश्रले भने, “त्यो स्थितिलाई हामीले केही हदसम्म अगाडि बढाउन सक्छौँ भन्ने लागेको छ ।”
राष्ट्र बैंकले गरेको केही व्यवस्थाले अर्थतन्त्रमा सन्तुलन भएको उनले बताए । आयातमा कडाइ गरेर राष्ट्र बैंकले ‘रिजर्भ’ सन्तुलनमा ल्याउन सकेको उनको भनाइ छ ।
बजारमा प्रशस्त तरलता भए पनि केही समस्याले गर्दा चलायमान हुन नसकेको उनले उल्लेख गरे ।