site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
फ्रेन्च क्रान्ति, वामपन्थ र दक्षिणपन्थ

सन् १७७६ मा जर्ज वासिङ्टन र थोमस जेफरसनको नेतृत्वमा अमेरिकाले स्वतन्त्रताको घोषणा गर्दाताका नै स्कटल्यान्डका एडम स्मिथले ‘वेल्थ अफ नेसन्स’ नामक पुस्तक लेखेर शास्त्रीय अर्थशास्त्र तथा पुँजीवादको जग बसाल्दै थिए । तर, अमेरिकी स्वतन्त्रताको प्रभाव बाँकी विश्वमा धेरै परेन । किनभने अमेरिका त ब्रिटिसको औपनिवेशक शासनबाट मुक्त न भएको थियो । स्वतन्त्रता र समानताको लागि जनताले राजशाहीविरुद्ध गरेको फ्रान्सको क्रान्तिले भने राजतन्त्र भएका अरू देशका राजा पनि डराए । उता जनतालाई आफ्नो अधिकारको लागि लड्न प्रेरित गर्‍यो । 

फ्रान्समा लगातारको युद्ध तथा असमान एवं अव्यावहारिक कर नीतिले जनता पीडित थिए । त्यसमाथि समय समय पर्ने अनिकालले सताउँथ्यो । फ्रान्सको राज्य सत्ता पनि युद्धको कारण आन्तरिक तथा वाह्य ऋणमा डुबेको थियो । तैपनि राजा लुई सोह्रौ‌ं र रानी मेरी एन्टोनियट तथा भारदारहरूको विलासी जीवन शैली भने कम भएन । त्यसैबेला रानी मेरीले पेरिसबाट विस किलोमिटर पश्चिममा पर्ने भर्साइको राजमहलको पुननिर्माणमा लाखौं लिर्वे (तात्कालीन फ्रेन्च मुद्रा) खर्च गरिन् । यसले आगोमा घ्युको काम गर्‍यो । सन् १७८९ मा राजा लुई सोह्रौंले जनतामाथि थप कर थोपर्ने तयारी गरेपछि त्यसविरुद्ध फ्रेन्च जनताले स्वतन्त्रता, समानता र भातृत्वको नारा दिएर आन्दोलन सुरु गरे । फ्रेन्च महिलाहरूले पेरिसबाट भर्साई राजमहलसम्म पैदल मार्च गरेर साथ दिए ।

सन् १७९३ मा राजा लुई सोह्रौंलाई मृत्युदण्डको सजाय दिएपछि फ्रान्स गणतान्त्रिक राष्ट्र त भयो तर क्रान्तिकारी नेताहरूले देशको आन्तरिक व्यवस्थापन तथा छिमेकी देशहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न नसक्दा फ्रान्सको संक्रमण लम्मिदै गयो र देश दिशाहीन हुन पुग्यो । फलस्वरूप, सैनिक जनरल नेपोलियन बोनापार्टले सन् १७९९ मा आफूलाई फ्रान्सको सम्राट घोषणा गरे ।

KFC Island Ad
NIC Asia

क्रान्ति जनताले सामूहिकरूपमा गरेको विद्रोहको विस्फोट हो । क्रान्ति लागि तत्कालीन सामाजिक, आर्थिक र बौद्धिक चेतनाको स्तरबाट प्रभावित हुन्छ । फ्रेन्च क्रान्तिका पनि सामाजिक, आर्थिक र बौद्धिक कारण थिए । 

सामाजिक कारण - सन् १७८० को दशकमा फ्रान्सको जनसंख्या दुई करोड सत्तरी लाखको हाराहारी थियो । फ्रान्सको समाजलाई तीन वर्गमा विभाजन गरिएको थियो । पहिलो वर्गलाई ‘क्लर्जी’ अर्थात ‘फस्ट स्टेट’ भनिन्थ्यो । यसमा त्यतिबेलाको जनसंख्याको एक प्रतिशत जति पादरीहरू पर्थे । त्यतिबेला राज्य संचालनमा राजा र चर्चका पादरीको प्रत्यक्ष भूमिका हुन्थ्यो । 

Royal Enfield Island Ad

दैवी अधिकारको सिद्धान्तअनुसार राजालाई ईश्वरले राज्य संचालन गर्न र पादरीहरूलाई धर्मको सुरक्षार्थ पठाएको भन्ने मान्यता थियो । पादरीहरूले धार्मिक करको रूपमा जनताहरूसँग दश प्रतिशत कर असुल गर्थे । 

अर्को वर्गमा ‘नोबेलिटी’ अर्थात् कुलीन भारदारहरू पर्थे । उनीहरू राजपरिवारका नातेदार तथा जमिनदारहरू हुन्थे । त्यतिबेला उनीहरूको संख्या दुई प्रतिशत जति हुन आउँथ्यो । नोवेलिटीहरूले जनतासँग पच्चिस प्रतिशत कर असुल गर्थे । किनभने देशभरको जमिनको मालिक यिनै थिए । 

तेस्रो वर्गमा किसान, साना व्यापारी तथा कर्मचारीहरू लगायत सर्वसाधारण जनता थिए । यिनलाई पिजन्ट भनिन्थ्यो । पिजन्टहरूले सरकारलाई पनि कर तिर्नु पर्थ्यो । तर, पादरी तथा भारदारहरूले राजालाई नगन्य कर तिर्थे । यसरी राजा, पादरी, भारदारहरूले जनताको चरम शोषण गरिरहेका थिए ।

सन् १७८० को दशकमा फ्रान्स चरम ऋणमा डुबेको थियो । राजाले तेस्रो वर्गलाई करको भार बढाएर ऋण तिर्ने विचार गरे । त्यतिबेलाका अर्थमन्त्री जेकस नेकरले भने पादरी तथा भारदारहरूलाई पनि करको दायरामा ल्याउनुपर्ने प्रस्ताव राखे । यो प्रस्तावलाई पहिलो दुई वर्गले मान्ने कुरै भएन । फलस्वरूप राजा लुई सोह्रौंले एक सय पचहत्तर वर्षमा पहिलो पटक स्टेट जनरलको आह्वान गरे । स्टेट जनरलको पूर्ण संख्या बाह्र सय थियो । त्यससमा तीन सय पादरीहरू, तीन सय भारदारहरू तथा छ सय किसानका प्रतिनिधि थिए । भोट भने एउटा वर्गको एउटामात्र हुन्थ्यो । अर्थात् पादरी र भारदारहरू मिले भने तेस्रो वर्ग अर्थात् किसानहरूले बढी कर तिर्नुपर्ने हुन्थ्यो । राजाले पनि स्टेट जनरललाई रबर स्टाम्पको रूपमा प्रयोग गर्न चाहेका थिए । यसले जनतालाई आन्दोलित गरायो । 

आर्थिक कारण – सत्रौं, अठारौं शताब्दीतिर फ्रान्स र ब्रिटेन विश्वमा ठूला औपनिवेशक शक्ति थिए । आफ्नो देशको शक्ति विस्तार गर्न दुवै देश अनेकौंपटक युद्धमा होमिइसकेका थिए । एउटा ठुलो युद्ध सन् १७५६ देखि सन् १७६३ सम्म भएको थियो । यसलाई सातवर्षे युद्ध (सेभेन इअर्स अफ वार)को भनिन्छ । कतिपय इतिहासकारले त यसलाई प्रथम विश्वयुद्धको रूपमा चित्रण पनि गरेका छन् । किनभने त्यतिबेलाका औपनिवेशिक राष्ट्रहरूले एक अर्कासँग पाँचवटा महादेशमा युद्ध लडेका थिए । यो युद्धपछि गएर अमेरिकी स्वतन्त्रता संग्राम र फ्रेन्च क्रान्तिको कारण बन्न पुग्यो । फ्रान्स र ब्रिटेनबीच पेरिस सन्धि भयो । यो सन्धिअन्तर्गत फ्रान्सले धेरै भूभागहरू गुमायो । यो एउटा लज्जाजनक सन्धि थियो । नेपालको हकमा यसलाई सन् १८१६ मा भएको सुगौली सन्धिसँग तुलना गर्न सकिन्छ । अंग्रेजसँग भएको सुगौली सन्धिमा नेपालले पनि धेरै भूभाग गुमाउनु परेको थियो ।

त्यतिबेलाका फ्रान्सका राजा लुई पन्ध्रौं राजनीतिक तथा आर्थिक मामिलामा साह्रै कमजोर थिए । युद्धमा भएको पराजयले आर्थिकरूपमा शिथिल र कमजोर फ्रान्सका राजाले ब्रिटेनसँग बदला लिन उत्तरी अमेरिकाको स्वतन्त्रता आन्दोलनलाई आर्थिक मलजल गर्न थाले । सन् १७७४ मा लुई पन्ध्रौंको निधन भयो र अठार वर्षका लुई सोह्रौं नयाँ राजा भए । उनले पनि आफ्नो बाबुको नीतिको पालना गरे । 

सन् १७७६ मा अमेरिकाका तेह्र राज्यहरूले स्वतन्त्रताको घोषणा गरे । ब्रिटेन पराजित भएर अमेरिकाबाट बाहिरियो । फ्रान्सले ब्रिटेन पराजित भएकोमा रमाउनुबाहेक केही प्राप्त गरेन ।

राजा लुई सोह्रौंले सन् १७७४ मा रोबर्ट जेक टुर्गोलाई फ्रान्सको अर्थमन्त्री बनाए जो एडम स्मिथका प्रशंसक र साथी थिए । टुर्गोले एडम स्मिथको श्रमको विभाजन, स्वतन्त्र बजार र स्वतन्त्र अर्थतन्त्र (लेसेज फेयर)को सिद्धान्त फ्रान्समा अवलम्बन गरे । लेसेज फेयर सिद्धान्तअनुसार सरकारले बजारलाई स्वतन्त्र छोड्नुपर्छ । बजार आफैँले माग र पूर्तिमा सामञ्जस्य कायम गरेर सही मूल्य निर्धारण गर्छ भन्ने हो । तर, स्वतन्त्र बजार नीति कार्यान्वयन भएपछि फ्रान्समा उत्पादन भएको खाद्यान्नहरूलाई ठूला व्यापारीले संग्रह गरेर मूल्यवृद्धि गरिदिए । फ्रान्समा हाहाकार भयो । टुर्गोले यो नियम लगाउनुभन्दा पहिले  खाद्यान्न वितरणमा सरकारको प्रत्यक्ष भूमिका हुन्थ्यो । एक ठाउँमा उत्पादन कम भए देशको अर्को स्थानबाट ल्याएर समस्याको समाधान गरिन्थ्यो ।

टुर्गोको स्वतन्त्र बजार नीति असफल भयो । त्यसपछि राजालाई पादरीहरू र भारदारहरूलाई पनि करको दायरा ल्याउनुपर्छ भन्दा टुर्गोलाई अर्थमन्त्री पदबाट हटाइयो । किनभने राजा पनि पादरी तथा भारदारको पक्षमा नै हुन्थे । जनताको मर्काको खासै चिन्ता लिँदैनथे । 

ब्रिटेनले सन् १७७८ मा फ्रान्समाथि फेरी आक्रमण गरेको थियो । यो लडाइँ सन् १७८३ सम्म चल्यो । यस युद्धले फ्रान्सलाई लगभग कंगाल बनायो । ऋणको भारले नराम्रोसँग थलिएकः फ्रान्सको राष्ट्रिय आम्दानीको पचास प्रतिशतभन्दा बढी ऋण र ब्याज तिर्नमा खर्च हुन थाल्यो । किसानहरू मर्कामा परे पनि राजा, पादरीहरू र भारदारहरूलै विलासी जीवन यापन गरिरहेका थिए । जनतामा भने विद्रोहको बीउ अंकुरित हुँदै थियो ।

बौद्धिक कारण - ईसाको सत्रौंअठारौं शताब्दीलाई पुर्जागरण काद (एज अफ इनलाइटमेन्ट) पनि भनिन्छ । यो समयका बौद्धिक वर्ग तथा दार्शनिकहरूले पुस्तक तथा पत्रपत्रिकामा लेखेर सर्वसाधारणलाई सोच्न, बुझ्न, प्रश्न गर्न, तर्क गर्न प्रेरित गर्दैथिए । यो ज्ञानको ज्योति पश्चिम युरोपबाट सुरु भएर विश्वभर फैलियो ।

सन् १६३२ मा ग्यालीलियो ग्यालिलीले आफ्नो टेलिस्कोपबाट सूर्य हैन पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने पत्ता लगाएपछि। त्यतिबेलाका चर्चका पादरीले चर्को विरोध गरे । किनभने त्यतिबेला बाइबलमा लेखिएको थियो - सूर्य तथा अरू पाँचवटा ग्रहले पृथ्वीको परिक्रमा गर्छन् । सन् १७०० सम्म पृथ्वी तथा अरू पाँच वटा ग्रहमात्र पत्ता लागेका थिए । त्यतिबेला बाइबलमा लेखिएको कुरा अकाट्य मानिन्थ्यो । फलस्वरूप ग्यालिलियोले आजीवन कारावास बस्नुपरेको थियो । समयान्तमा ग्यालिलियोको दाबी सत्य साबित भयो । त्यसपछि बाइबलमा लेखेको कुरामा पनि प्रश्न उठाउन सकिन्छ भन्ने बहस सुरु हुन थाले । 

त्यसैगरी भोल्टेयर नामक दार्शनिकले अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताको सवाल उठाए भने मोन्टेस्क्युले शक्तिको पृथकीकरण तथा नियन्त्रण एवं सन्तुलनको सिद्धान्तअन्तर्गत चर्च र राज्य अलग हुनुपर्छ भनेर समाजलाई जागरुक बनाउँदै लगे ।

यही कालखण्डमा बेलायती दार्शनिक जोन लकले राजाको दैवी अधिकारको सिद्धान्तमाथि प्रश्न उठाए । उनले भने - राजालाई हामीमाथि शासन गर्ने अधिकार कस्ले दियो ? राजालाई शासन गर्ने चाहना छ भने जनादेश लिनुपर्छ । जर्मन दार्शनिक इमानुएल कान्टले ईश्वरले संसार बनाएको होलान् तर अब ईश्वरले हस्तक्षेप गर्न छोडिसके । ईश्वर प्राप्त गर्नु छ भने आफ्नो तर्क र विवेकको प्रयोग गर्नुपर्छ भनेर विद्रोहलाई उत्प्रेरित गरे । 

यी यो उद्बोधन फ्रान्सका जनतामा पनि भइरहेको थियो । गरिबी र अन्यायपूर्ण कर नीतिबाट पीडित जनता संवेदनहीन राजाशाहीविरुद्ध क्रान्तिको बिगुल बजाउन उत्प्रेरित भए । स्टेट जनरलबाट रुष्ट तेस्रो वर्गका छ सय सदस्यहरू बैठक छोडेर नजिकैको टेनिस कोर्टमा गए र नयाँ 'नेसनल एसेम्बली' बनाउने प्रण गरे जुन पछि 'टेनिस कोर्ट ओथ'को नाममा प्रख्यात भयो । किसानहरूको नेसनल एसेम्बली बनाउने मागमा केही युवा पादरी र भारदारले पनि साथ दिए । सुरुमा राजा लुई सोह्रौंले यो प्रस्ताव स्वीकार गरेका थिएनन् तर पछि जनताको आक्रोशको अगाडि झुक्न बाध्य भए । नेसनल एसेम्बलीमा एकजना सदस्यको एक भोट गणना हुने व्यवस्था भयो ।

नयाँ नेसनल एसेम्बली बनेपछि राजाको दायाँतिर राजतन्त्रलाई समर्थन गर्ने पादरीहरू, भारदारीका सदस्यहरू बसे भने बायाँतिर क्रान्ति गरेर आएका स्वतन्त्रता र समानताको लागि लडेका प्रगतिशील तेस्रो वर्ग अर्थात् किसान वर्गका सदस्य बसे । त्यसपछि राजाको दायाँ बस्ने यथास्थितिवादी र बायाँ बस्ने परिवर्तनकारी शक्ति हुन् भन्ने भाष्य निर्माण भयो । समयसँगै यो मान्यता बाँकी विश्वमा फैलिँदै गयो । दक्षिणपन्थ (राइट विङ) र वामपन्थ (लेफ्ट विङ)को राजनीतिक अवधारणा विकास हुँदै गयो । 

फ्रान्सबाहिर यी अवधारणा पुगेपछि देशहरूले आआफ्नो परिस्थितिअनुसार यसलाई ग्रहण गरे । उदाहरणको लागि त्यतिबेला अमेरिकामा रंगभेद व्याप्त थियो । फलस्वरूप काला जाति वामपन्थी भए भने गोरा दक्षिणपन्थी भए । यता नेपाल,  भारतमा त्यतिबेला समाज जातजाति साथै धनी र गरीबमा विभाजित थियो । उच्च वर्गलाई दक्षिणपन्थीको रूपमा चित्रण गरियो भने दलित तथा पछाडि पारिएको वर्गलाई वामपन्थीको रूपमा हेरियो । त्यतिबेलाको समाज दलित धनी भए पनि समाजमा उसले उच्च जातको धनी बराबरको सम्मान पाउन गाह्रो थियो । 

वामपन्थ नयाँ सिद्धान्त र विचारधारा थियो भने दक्षिणपन्थ त्यसको प्रतिक्रियामात्र थियो । त्यसैले दक्षिणपन्थीहरूलाई 'प्रतिक्रियावादी' पनि भनिन्छ । पछि विस्तारै दक्षिणपन्थलाई पनि सिद्धान्त र विचारधाराको रूपमा विकसित गर्न थालियो ।

दक्षिणपन्थी राजनीतिक विचारधाराले राष्ट्रियता, धर्म र संरक्षणवादलाई प्रमुख आधार मान्छ । देशको एउटा धर्म हुनुपर्छ र चलिआएका रीतिरिवाज, चालचलनको संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्छन् । समलिङ्गी विवाह, गर्भपतन, आप्रवासन नीतिमा उनीहरू कडारूपमा प्रस्तुत हुन्छन् भने मृत्युदण्डलाई समर्थन गर्छन् । महिलाहरूलाई अधिकार दिने मामिलामा अनुदार हुन्छन् । आर्थिक खुलापनको पक्षमा हुन्छन् । त्यसको अर्थ पुँजीपति व्यापारी तथा जनतालाई करको भार कम दिन्छन् । त्यसैले गर्दा दक्षिणपन्थी राज्य व्यवस्थामा 'स्टार्ट अप' व्यापारहरूलाई प्रोत्साहन गरिन्छ । किनभने यस विचारधाराले पुजीँवादलाई समर्थन गर्छ । यिनीहरू राज्यले जनतासँग कम कर लिनुपर्छ भन्ने मान्यताअन्तर्गत काम गर्छन् ।

अर्कोतर्फ वामपन्थी राजनीतिक विचारधाराले स्वतन्त्रता, समानता, सामाजिक उदारवादलाई बढी प्राथमिकता दिन्छ  । समलिङ्गी विवाह, गर्भपतन, आप्रवासनमा खुकुलो नीति अवलम्बन गर्छ । महिलालाई समान अधिकार हुनुपर्छ भनेर प्रखररूपमा आवाज बुलन्द गर्छ । राज्य र धर्म अलग रहनु पर्छ भन्ने मान्यता राख्छ भने देश धर्म निरपेक्ष हुनुपर्छ, राज्यको कुनै धर्म हुँदैन भन्नेमा विश्वास राख्छ । वामपन्थीहरू मृत्युदण्डविरुद्धमा उभिन्छन् ।

उत्पादनका साधनहरू जस्तै जमिन, कलकारखाना सरकारको नियन्त्रणमा हुनुपर्छ तथा शिक्षा र स्वास्थ्यलाई सरकारको प्रमुख जिम्मेवारी हो भन्ने ठान्छन् । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधा जनताले निःशुल्क पाउनुपर्छ भन्ने मान्यताबाट प्रेरित हुन्छन् । त्यही हुनाले हुनेखाने जनता तथा पुँजीपतिहरूलाई बढी कर लगाएर विपन्न वर्ग तथा कमजोरहरूलाई सहायता गर्ने नीति लिन्छन् । 

अचेल भने वामपन्थ र दक्षिणपन्थलाई यत्तिले मात्र व्याख्या गरेर पुग्दैन । कुन राजनीतिक पार्टी कतिसम्म वामपन्थी छ वा दक्षिणपन्थी छ भनेर थाहा पाउन स्केलमा व्याख्या गर्नु पर्ने हुन्छ । स्केलको बीचलाई मध्य मान्ने हो भने मध्यवाम (सेन्टर टु लेफ्ट), घोर वामपन्थ (सेन्टर टु फार लेफ्ट) तथा अन्तिम विन्दु अधिनायकवाद हुन्छ ।

अर्कोतर्फ स्केलको सेन्टर टु राइटलाई मध्य दक्षिणपन्थ भनिन्छ भने केन्द्रबाट फार राइटलाई घोर दक्षिणपन्थ भनिन्छ । यता स्केलको दायाँको तर्फको अन्तिम विन्दुलाई फासीवाद हुन्छ । 

दुवै विचारधाराको अन्तिम रूप तानाशाही नै हो । अधिनायकवादी वामपन्थको उदाहरणको रूपमा उत्तरकोरियालाई लिन सकिन्छ भने फासीवादी दक्षिणपन्थको उदाहरणको रूपमा हिटलर, मुसोलिनीलाई लिन सकिन्छ ।

वामपन्थ र दक्षिणपन्थको उदाहरणहरू हेर्दा सबैभन्दा प्रष्ट अमेरिकाका पार्टीहरू देखिन्छन् । डेमोक्रेटिक पार्टी समाजवादी वामपन्थी हो भने रिपब्लिकन चाँहि दक्षिणपन्थी पार्टी हो । बेलायतको लेबर पार्टी मध्यवाम हो भने कन्जरभेटिभ दक्षिणपन्थी पार्टी हो । डेनमार्कमा सोसियल डेमोक्रेट सेन्टर टु लेफ्ट पार्टी हो भने भेन्सत्रे पार्टी दक्षिणपन्थी पार्टी हो । त्यसैगरी डेनिस पिपुल्स पार्टी घोर दक्षिणपन्थी हो । भारतमा भारतीय जनता पार्टी दक्षिणपन्थी पार्टी हो भने राष्ट्रिय कांग्रेस सेन्टर टु लेफ्ट समाजवादी पार्टी हो ।

नेपालको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी दक्षिणपन्थी हो भने नेपाली कांग्रेस मध्यवामपन्थी पार्टीको रूपमा देखिन्छ । कांग्रेसले भन्ने गरेको समाजवाद वामपन्थी विचारधाराअन्तर्गत नै आउँछ । एमाले र माओवादी केन्द्र घोर वामपन्थी पार्टीहरू हुन् । यी दुवै पार्टीको कल्पना भनेको साम्यवाद हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म आफ्नो कित्ता प्रष्ट गरेको छैन । रास्वपाले मुख्य नारा सुशासन र इमानदारीलाई बनाएको छ र कल्याणकारी राज्यको नै परिकल्पना गरेको छ ।

अहिले विश्व परिवेशमा सेन्ट्रिस्ट अर्थात् मध्यमार्गी पार्टीहरू पनि बनिरहेका छन् । उदाहरणको लागि दुईपटक डेनमार्कको प्रधानमन्त्री भइसकेका लार्स लोक्के रासमुसनले सन् २०२१ मा मोडरेट पार्टी स्थापना गरे । त्यसैगरी अरविन्द केजरीवालले आम आदमी पार्टीलाई मध्यमार्गी पार्टीको रूपमा व्याख्या गर्छन् । केजरीवालले भन्ने गरेका छन् - आम आदमी पार्टीले राष्ट्रवाद, इमानदारी र सर्वजनहितायको सिद्धान्त मान्छ । पूर्वअमेरिकी राष्ट्रपति विल क्लिन्टनले सन् १९९२ मा डेमोक्रेटिक पार्टीलाई सेन्ट्रिष्ट पार्टीको रूपमा उभ्याउन चाहेका थिए ।

दक्षिणपन्थको आर्थिक खुलापनको नीतिले देश विकास गर्न तथा देशमा कलकारखाना, रोजगारीको वातावरण बनाउनमा सहयोग गर्छ भने वामपन्थको सामाजिक वितरण, न्याय, सेवा सुविधामा सबैको पहुँच जस्ता विचारधारा मनन योग्य छन् ।

पहिले पहिले संसारमा राजाहरूको शासन थियो । अर्थात्, दक्षिणपन्थी शासन व्यवस्था थियो । आफ्नो राज्यसत्ता टिकाउन जनताको कल्याण, हकहितको लागि काम गर्नुपर्ने बाध्यता थियो । अहिले पनि अरब देशहरूमा राजा, सुल्तानहरू छन् जहाँ जनताले राम्रो सेवासुविधा प्राप्त गरेका छन् । कर तिर्नु पर्दैन तर नागरिकको रूपमा पाउनुपर्ने अभिव्यक्तिको स्वतन्त्रता, महिला अधिकारबाट वञ्चित भएर बस्नुपरेको छ । 

दक्षिणपन्थ पुँजीवादबाट प्रभावित छ भने वामपन्थ चाँही समाजवाद र कम्युनिस्ट विचारधाराबाट प्रभावित छ ।

पुँजीवादमा व्यक्तिले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्छ भने प्रतिफल  पनि पुँजीको आधारमा प्राप्त गर्छ । त्यो पुँजी पैसा, जमिन वा श्रम हुन सक्छ । त्यसैले पुँजीवादी शासनमा धनीहरूको प्रगति हुँदै जान्छ भने आफ्नो श्रम बेच्ने मजदुर वर्गले गुजारामात्र चलाउने वातावरण हुन्छ ।

पुँजीपतिहरूले मजदुरहरूको शोाषण गरेको देखेर कार्ल मार्क्सले सन् १८४८ मा 'कम्युनिस्ट मेनिफेस्टो' तथा सन् १८६८ मा 'दास क्यापिटल' लेखेर संसारका मजदुरलाई एक हुन अभिप्रेरित गरे । कार्ल मार्क्स दार्शनिक थिए ।

उनले कम्युनिस्ट विचारधाराको वकालत गरे जसमा वर्गविहीन समाजको परिकल्पना गरिएको छ र जहाँ सबैलाई आवश्यकताअनुसार वस्तु प्राप्त हुन्छ । सर्वसाधारणको शासन हुनुपर्छ भन्ने अवधारणाबाट कम्युनिस्ट विचारधारा आएको हो । 

मार्क्सका अनुसार कम्युनिस्ट विचारधारामा व्यक्तिले आफ्नो क्षमता र योग्यताअनुसार काम गर्छ र आफ्नो आवश्यकताअनुसार वस्तु र सेवा प्राप्त गर्छ । यही विचारधाराअन्तर्गत लेनिनले रुसमा र माओले चीनमा शासन सुरु गरे ।

तर मार्क्सले भने जस्तो समाजवाद हुँदै साम्यवाद प्राप्त भएन । दुवै देशले आर्थिक विकासको लागि कुनै न कुनै रूपमा पुँजीवाद अपनाउनु पर्‍यो । कम्यूनिस्ट विचारधारामा बढी योगदान गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था थिएन ।

त्यसपछि समाजवादको अवधारणा आयो । समाजवादमा समाज प्रमुख हुन्छ । समाजवादमा व्यक्तिले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्छ र प्रतिफलमा भने आफ्नो योगदानको आधारमा प्राप्त गर्छ । यो विचारधारा बढी व्यावहारिक भएको हुनाले धेरै देशले अंगीकार गरे । 

सन् १९३० को दशकमा संसारमा ठूलो मन्दी (द ग्रेट डिप्रेसन) आयो । त्यसले विकसित देशहरूको अर्थतन्त्र तहसनहस भयो । यसको प्रमुख कारण त्यतिबेलाको अनियन्त्रित पुँजीवाद थियो । अर्थशास्त्री जोन मेनार्ड किन्सले राज्यको अर्थतन्त्रलाई खुला वा स्वतन्त्र छोड्नु हुँदैन, मौद्रिक नीति र वित्तीय नीति प्रयोग गरेर सरकारले हस्तक्षेप गर्नुपर्छ भनेर सल्लाह दिए । यसले काम पनि गर्‍यो । 

सन् १९६० को दशकबाट स्क्यान्डिनेभियन देशहरू नर्वे, डेनमार्क, स्विडेनले कल्याणकारी राज्यको अवधारणा अपनाए । कल्याणकारी राज्यमा पनि यी देशहरूले पुँजीवादलाई ठाउँ दिएका छन् भने जनताको आधारभूत आवश्यकताको पूर्ति पनि गरेका छन् ।

पुँजीपति, व्यापारी, रोजगारमा भएकाले उच्च कर तिर्नुपर्छ भने त्यही रकमले गुणस्तरीय निःशुल्क शिक्षा र स्वास्थ्य प्रदान गरिन्छ । पैतृक सम्पत्तिको हस्तान्तरण हुँदा राज्यले उच्च कर लिन्छ । कल्याणकारी राज्यको परिकल्पना यहाँ सफल भएको देखिन्छ । पुँजीवाद र समाजवादको मिश्रणबाट बनेको कल्याणकारी राज्यको सिद्धान्त एकदमै व्यावहारिक छ ।

अहिलेको सन्दर्भमा संसारमा धेरै देशले समाजवाद, कल्याणकारी राज्यको पाइला पछ्याउने कोसिस गरेको देखिन्छ भने सँगसँगै कतिपय देशमा आफ्नो पहिचान, धर्म, आप्रवासन नीतिमा संकीर्ण हुँदैगएको पनि देखिन्छ ।

यसको कारण विश्वको अहिलेको जनसंख्या आठ अर्ब हुनु र स्रोत साधन भने सीमित हुनु नै हो । त्यसैले विश्वका धेरै राजनीतिक दललाई सिद्धान्तमा समाजवादी र वामपन्थी भए पनि व्यवहारमा दक्षिणपन्थी हुनुपर्ने वाध्यता छ ।

दक्षिणपन्थीहरू आर्थिक विकासको लागि पर्यावरण र वातावरणको दोहन गर्न पनि पछि पर्दैनन् भने वामपन्थीहरू आर्थिक लाभको लागि पर्यावरणको दुरूपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्छन् । चरम औद्योगीकरणले गर्दा गएको सय वर्षमा पृथ्वीको तापक्रम डेढप्रतिशत बढिसकेको छ ।

विश्व तापक्रम नियन्त्रण गर्न सन् २०१६ मा प्रसिद्ध पेरिस सम्झौता भएको थियो । धेरै देश सहमत हुँदै गर्दा दक्षिणपन्थी रिपब्लिकन पार्टी तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताका सर्तहरू मान्न इन्कार गरेर अमेरिकालाई पेरिस सम्झौताबाट अलग गरेका थिए । पछि सन् २०२० मा जो वाइडन राष्ट्रपति भएपछि अमेरिका पुनः यसको पक्षमा उभिएको थियो ।

किनभने डेमोक्रेटिक पार्टीले सेन्टर टु लेफ्टको सिद्धान्तलाई मान्छ । त्यसैले देशले अवलम्बन गरेको राजनीतिक सिद्धान्त तथा नेतृत्वको क्षमता र दूरदर्शिताले त्यो देशको भविष्य निर्धारण गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro