site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्थापना गरेको हो ।

Argakhachi Cement Island Ad

यात्रुको सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यकाको सुन्धारा, नागढुंगा, कलंकी, नयाँबसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगाती लगायतका १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा दुईजना चालक भए/नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी राख्नेछ ।

यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने विभिन्न समस्या समाधान गरिने पनि प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्