विश्वमा रासायनिक मल तथा रासायनिक विषादीको प्रयोगले पनि भोकमरी विरुद्ध उल्लेख्य योगदान गरेबापत १९७० को नोबेल शान्ति पुरस्कारबाट सम्मानित अमेरिकी कृषि वैज्ञानिक नोर्मन बोर्लाउगले सुरु गरेको 'हरितक्रान्ति'सँगै गति लिएको देखिन्छ । अहिलेसम्म पश्चिमी मुलुकहरूले रासायनिक मल र रासायनिक विषादीको प्रयोगमा बढाएरै कृषिमा फड्को मारेका छन् । भारतमा सन् १९६७-१९७८ मा भएको हरितक्रान्ति र त्यसको प्रभावसँगै नेपाली किसानहरूबीच पनि रासायनिक मलको र विषादीको लोकप्रियता बढेको पाइन्छ । तर, रासायनिक मलको कारखाना नहुँदा नेपालले त्यसको आपूर्तिको लागि भने आयातमा निर्भर रहनु परेको छ । रासायनिक मलको आयात र वितरणमा कायम जटिलताले किसानले समयमा मल नपाउने, मल गुणस्तरीय नहुनेजस्ता समस्या भोगिरहेका छन् ।
नेपालमा रासायनिक मलको प्रयोगको इतिहास धेरै पुरानो छैन । नेपालमा १९५० सम्म रासायनिक मलको प्रयोग गरिएको देखिँदैन । त्यसबेला नेपाली किसानले स्थानीय तरिकाले उत्पादन भएको प्राङ्गारिक मलको प्रयोग गरेको पाइन्छ। नेपाली किसानले उतिबेला गोबर मलको उपयोग धेरै गरेको देखिन्छ ।
नेपालमा रासायनिक मलको परिचय सन् १९५२ मा पहिलोपटक व्यापारीले भारतबाट एमोनियम सल्फेट आयात गरेपछि भएको थियो । रासायनिक मलको खपत सन् १९५४ मै १०० टन पुगेको थियो । रासायनिक मलको खपत अहिले पनि बढ्दो दरमा छ र २०२२ सम्ममा नेपालमा ९७.८ केजी प्रतिहेक्टर रहेको पाइएको छ ।
नेपाल सरकारले आव २०८०/८१ मा रासायनिक मल आयात गर्न ४९ अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । नेपालमा ७ लाख टन रासायनिक मलको खपत हुन्छ र यसको माग करिब दस लाख टन रहेको छ । रासायनिक मलको खपत तराईका २० वटा जिल्लाहरूमा मात्र ६५ प्रतिशत (२०० केजी प्रतिहेक्टर) छ । त्यसको ९० प्रतिशत तरकारी तथा खाद्यान्न बालीमा भइरहेको छ । मध्यपहाडी तथा उच्चपहाडी क्षेत्रमा रासायनिक मलको खपत न्यून मात्रामा भएको देखिन्छ ।
नेपालमा किसानहरूले युरिया, डीएपी, म्युरेट अफ पोटास, एमोनियम सल्फेट, सिंगल सुपर फस्फेट, एमोनियम फस्फेट सल्फेट प्रयोग गर्दै आइरहेका छन् । यसमध्ये युरिया र डीएपीको प्रयोग अधिक भएको पाइन्छ । किसानहरू रासायनिक मलमा आकर्षित भएसँगै प्राङ्गारिक मलको प्रयोग बिस्तारै घट्दै गएको छ।
नेपालमा किसानहरूलाई मलको प्रयोगले उत्पादन वृद्धि हुन्छ भनेर विभिन्न निकायबाट प्रचारप्रसार त गरियो र यसको प्रयोग पनि बढ्यो । परन्तु, यसको सही तरिकाले प्रयोग गर्न किसानहरूमा अझै ज्ञानको कमी देखिन्छ । फलस्वरूप, आजसम्म आउँदा माटोको उर्वराशक्तिमा ह्रास भएको छ ।
किसानहरूमा धेरै मल प्रयोग गर्दा धेरै उत्पादन हुन्छ भन्ने गलत धारणा बसेको पाइन्छ । यसको कारण किसानहरूले बालीमा सिफारिस गरिएकोभन्दा बढी दरमा रासायनिक मलको प्रयोग गर्नेगरेको पाइएको छ । यसको अनावश्यक प्रयोग गर्दा उत्पादनमा ह्रासको साथै विभिन्न ढुसीजनक रोगको आक्रमण बढेको छ ।
एकीकृत मल व्यवस्थापनको ज्ञानको पनि कमी भएका कारणले युरिया र डीएपीलाईमात्र मलको मुख्य स्रोत बनाएर खेती गर्ने पद्धति देखिन्छ । अब यस अभ्यासको अन्त्य गर्नु अत्यावश्यक छ । रासायनिक मलको प्रयोग गर्दा समय, तरिका र मात्रा सही भए नभएकोमा विचार पुर्याउनु महत्त्वपूर्ण हुन्छ । दिएको मल बालीले पाइराखेको छ कि खेर गएको छ वा झारपातले प्रयोग गरेका छन् ? सही समयमा सही मात्रामा मलको प्रयोग भएन भने खेतमा भएको झारपातले मलको उपभोग गर्छ र मुख्य बालीको उत्पादनमा ह्रास आउँछ ।
पश्चिमी मुलुकको उन्नति देखेर जथाभावी रासायनिक मलको प्रयोगमा जोड दिई उत्पादनमा मात्र केन्द्रित भई यसको प्रसारप्रचार किसानहरूसम्म पुराइयो । बिस्तारै देशको परम्परागत स्रोत र अभ्यास हराउँदै गएको र यसको संरक्षणमा ध्यान नदिएर रासायनिक मलको प्रयोग र बालीको उत्पादन वृद्धिमा केन्द्रत भयौँ। यसले गर्दा रासायनिक मलको खपत त बढ्यो तर यसको उत्पादनको स्रोत हामीसँग छैन । यसैले अब मलको आयातमा भन्दा वैकल्पिक बाटाबाट समाधानमा ध्यान दिनुपर्ने आवश्यक छ ।
पश्चिमी मुलुक रासायनिक मल र विषादीको बढ्दो नकारात्मक असरले गर्दा प्राङ्गारिक खेतीतर्फ आकर्षित हुँदै नयाँ प्रविधि अपनाएर प्राङ्गारिक खेती तथा पुनरूत्पादन हुने बालीको अवधारणा अपनाइरहेका छन् । यता हामी भने प्राचीन कालदेखि गरिरहेको प्राङ्गारिक खेती छोडेर रासायनिक मलको परिपूर्तिमा केन्द्रित भइरहेका छौँ ।
यसको समाधान रासायनिक मलको आयात बढाएर आपूर्ति गर्नुमात्र होइन । बरू अरू विकल्प अपनाउनु अहिलेको समयमा उचित देखिन्छ । नेपालमा अझैसम्म मलको खपत 'ब्लाङ्केट' अवधारणामा भइरहेको छ ।व्यावसायिक तथा साना किसानलाई मलको प्रयोग गर्न र माटोलाई आवश्यकताअनुसार मल प्रयोग गर्न माटोको परीक्षणपछि मात्रै मलको प्रयोग गर्नुपर्ने ज्ञान दिनु अत्यन्त आवश्यक हुन्छ । सही मात्रामा मलको तथा अन्य स्रोतको प्रयोग गर्न नयाँ प्रविधि जस्तै रिमोट सेन्सिङ, जीआईएस, जीपीएसको प्रयोग गर्न व्यावसायिक रूपमा खेती गर्ने किसानहरूलाई आकर्षित गर्न सरकारको ध्यान जानुपर्छ ।
एकीकृत मल व्यवस्थापनको तालिम नेपाली किसानमाझ अझै बढाउन पनि आवश्यक छ। कम मल खपत गर्ने तर उच्च मूल्य पाइने बालीहरू प्रयोग गर्न किसानलाई प्रेरित गर्न सकिन्छ । तराईमा रासायनिक मलको खपत अत्यधिक र व्यावसायिकरूपमा खेती भएको ठाउँमा रासायनिक मल आपूर्ति गरेर मध्य तथा उच्चपहाडी क्षेत्रमा प्राङ्गारिक खेतीको प्रवर्द्धन गरेर प्राङ्गारिक खेती सुरु गरी नेपालको प्राङ्गारिक ब्राण्ड बनाएर देश तथा विदेशी बजारमा राम्रो भविष्य बनाउन सकिन्छ ।
हालसम्म नेपाली प्राङ्गारिक अलैँची र चियाकफीले विश्व बजारमा राम्रो बजार पाइरहेका छन् । अब अरू प्राङ्गारिक उत्पादन पनि बढाएर व्यावसायिकरूपमा अगाडि बढ्न सक्ने सम्भावना नेपालमा छ । यी क्षेत्रमा प्राकृतिक स्रोत साधनको प्रशस्त पाइन्छन् र पशुपालन पनि तराईको भन्दा बढी भएकाले प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक विषादीको उत्पादनको सम्भावना पनि भएकोले यहाँ प्राङ्गारिक खेतीमा जोड दिन अत्यावश्यक छ ।
अहिले स्वदेशी स्रोत र साधनको नवीनतम तवरले प्रयोग गनुपर्छ । नेपालमा केही ठाउँहरूमा पर्माकल्चर फार्मिङ अवधारणा सुरु भइरहेको छ। यसलाई अझै विस्तार गरेर नेपालका अधिकांश किसानहरूलाई पर्माकल्चर र एग्रो टुरिज्ममा संलग्न गराएर यसको विकास गर्न सकिए बेरोजगारीको समस्या समाधानका साथै किसानहरूको जीवनस्तर उकास्न मद्दत पुग्नेछ।
अबको समयमा रासायनिक मलको आपूर्तिमात्र समाधान नभएर अरू नवीनतम उपाय अपनाई समस्या समाधान गर्न प्रेरित हुनुपर्छ । स्वदेशी स्रोत साधनको प्रयोग गरेर कृषि मलमा आत्मनिर्भर भई रासायनिक मलको आयातमा कमी गरेर किसानहरूको भोगेको मलको समस्याको उपयुक्त समाधान दिन नेपालमा कृषि मलको क्षेत्रमा अझै अनुसन्धान हुन अत्यावश्यक छ ।
(पक्लिहवा कृषि क्याम्पस रुपन्देहीमा कृषि स्नातक तहमा अध्यनरत )