
आएको कि फर्केको ?
“छोरी अझ सुतेकी छैनौ ?,” आमाले भनिन् ।
“प्रोजेक्ट डिजाइनको थोरै काम छ, मामु । बाबा निदाइस्यो ? भाइ के गर्दै छ ?,” उनले सोधिन् ।
“सबै सुते । अब तिमी पनि सुत । भोलि काम गरे हुन्छ,” आमाले सम्झाइन् ।
“हैन, भोलि बिहानै फिल्डतिर लाग्नु छ । यो हाइड्रोपावर बन्यो भने त्यस क्षेत्रको कायापटल नै हुन्छ,” उनले भनिन् ।
“फिल्ड पर्सि गए हुँदैन ? भोलि बिहेका लागि तिमीलाई केटा हेर्न आउने कुरा छ,” आमाले अनुनय गरिन् ।
“कहाँबाट आउने रहेछन् केटा ? के काम गर्छन् ?,” उनले सोधिन् ।
“अमेरिकाबाट आएको हो रे ! केटा इन्जिनियर रहेछ, तिम्रो पढाइ पनि मिल्ने,” आमाले जवाफ दिइन् ।
नेपालमै काम गर्ने अठोटका साथ रातदिन मिहिनेत गर्ने उनले सोधिन्, “नेपाल आएको कि फर्केको हो ?”
०००
बाल दिवस
बाल दिवस कार्यक्रमबीच यौटा बच्चा चौरमा लड्यो । सबैले गएर उसलाई उठाए ।
“लौ शीतलमा राख र पानी देऊ,” गुरुआमाले भनिन् ।
“के भएछ त्यसलाई ?,” केही शिक्षकहरूले चासो देखाए ।
“अरू के हुनु, कार्यक्रम हेर्दै थियो, घामले गर्दा चक्कर आयो,” एक शिक्षक बोले ।
पसिनाले निथ्रुक्क माथिल्लो कक्षाका विद्यार्थीहरूले ग्लुकोज किनेर ल्याए । र, पानीमा मिसाएर पिउन दिए ।
पाल टाँगिएको मञ्चमा प्रमुख अतिथि र अन्य अतिथिहरू आयोजकसँग गजधम्म बसिरहेका थिए । दुई छेउबाट पंखा चल्दै थियो । मञ्चमा शीतल हावाको प्रवाह अलिकति पनि रोकिएको थिएन ।
०००
सोचाइ
हर्कबहादुर नगरबसमा चढेर कतै जाँदै थिए । उनको सिटसँगै बसेको मान्छेले उनलाई क्वारक्वारी हेरिरह्यो ।
केही बेरपछि भने, “हजुरलाई मैले कतै देखेजस्तै लाग्छ । बिर्सेछु, याद नै आएन ।”
‘देख्नुभयो होला’ भन्दै हर्कबहादुरले परिचय दिए ।
“त्यही त, हजुरसँग यसरी सार्वजनिक बसमा भेट होला भनेर कसरी सोच्नु ?,” उसले भन्यो ।
“टेक्सी चढ्न पनि महँगो पर्छ । हतार भए मात्र हो, हैन भने बस नै चढ्छु,” हर्कबहादुरले भने ।
बसस्टपमा हर्कबहादुर ओर्लिए । हर्कबहादुर ओर्लिएपछि उनले बसको सहचालकसँग भने, “कन्जुस रहेछन्, मन्त्री भइसकेको मान्छे पनि हामीसँगै नगरबसमा !”