काठमाडौं । बजारमा कति नोट चलनचल्तीमा होलान् ? यो तथ्यांक सबैलाई थाहा नहुन पनि सक्छ । तर बैंक तथा वित्तीय संस्थामा काम गर्नेलाई भने थाहा हुन सक्छ ।
नेपालको बैंकिङ सिस्टममा ५८ खर्ब आठ अर्ब रुपैयाँ छ । यो सबै नोटमा हुँदैन । यो काउन्टमा मात्र हुन्छ । राष्ट्र बैंकले बजारमा चलनचल्तीमा यो बराबरको नोट निष्कासन गरेको हुँदैन ।
राष्ट्र बैंकका अनुसार अहिले चलनचल्तीमा ६ खर्ब २० अर्ब रुपैयाँका नोटहरू बजारमा छन् । यो सबै नोट व्यक्ति, संस्था र बैंकहरूसँग हुन्छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठका अनुसार, ६ खर्ब २० अर्ब रुपैयाँ राष्ट्र बैंकभन्दा बाहिर भएको रकम हो । ती नोट राष्ट्र बैंकले बजारमा पठाएको छ ।
राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो । यो बैंकमा सरकार, बैंक तथा वित्तीय संस्था, सरकारी कम्पनीहरूको खाता हुन्छ । यो खातामा बैंक तथा सरकारले रकम राख्छ ।
राष्ट्र बैंकमा भएको खातामा सबै नोट हुन्छन् भन्ने हुँदैन । तर, राष्ट्र बैंकमा खाता भएर काउन्टमा आफ्नो रकम भएका बैंक तथा संस्थाहरूले भने चेक काटेर राष्ट्र बैंकसँग रकम माग गर्न सक्छन् । माग गरेअनुसारको रकम राष्ट्र बैंकले निष्कासन गर्छ ।
यस्तो अवस्थामा बजारमा चलनचल्तीमा नभएका नोटहरू राष्ट्र बैंकले माग गर्ने संस्था वा बैंकलाई दिन्छ । यसरी दिने नोट राष्ट्र बैंकले पहिले नै छापेर भण्डारण गरेर राख्छ । राष्ट्र बैंकले चलनचल्तीमा नल्याएका नोटहरू सुरक्षित राखेको हुन्छ ।
यस्तो हुन्छ, नोट छाप्ने प्रक्रिया ?
सरकारले राष्ट्र बैंकबाट लिएको ऋण, विदेशी मुद्रा सञ्चिति र बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने ऋणलाई आधार मानेर राष्ट्र बैंकले नोट छाप्छ । नोट छाप्ने काम राष्ट्र बैंकको हो ।
राष्ट्र बैंकमा विदेशी मुद्रा जति सञ्चित छ त्यही बराबरको नोट छाप्ने गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।
तर, सरकारको खाता राष्ट्र बैंकमा हुने भएकाले तलबभत्ता तथा भुक्तानी गर्नुपर्ने पैसा मात्र सरकारले बाहिर ल्याउने गर्छ । त्यसो गर्दा सरकारको पैसा राष्ट्र बैंकको खातामा हुन्छ ।
थापाका अनुसार राष्ट्र बैंकको खातामा पैसा हुनु भनेको नोट ‘मर्नु’ सरह हो ।
“विदेशी मुद्रा बराबरको राष्ट्र बैंकले विभिन्न समयमा बजारमा नोट पठाउने गर्छ । राष्ट्र बैंकलाई सरकारले तिर्नुपर्ने ऋण छ भने त्यतैबाट मिलाउने गर्छ,” उनले भने, “काउन्टमा भएको पैसा बराबरको नोट बजारमा निष्कासन हुँदैन ।’’
उनका अनुसार, कारोबार भए पनि सरकारका कारण नोट निष्कासन कम हुन सक्छ ।
सरकारको खाता राष्ट्र बैंकमा हुन्छ । राजस्व, वैदेशिक ऋण, सहायत जस्तो रकम फेरि राष्ट्र बैंकमा नै जान्छ । यसरी राष्ट्र बैंकमा पैसा जानु भनेको नोटको ‘मृत्यु’ हुनु हो ।
सरकारको खाता राष्ट्र बैंकमा हुने भएकाले सरकारले प्राप्त गर्ने राजस्व, वैदेशिक ऋण, सहायता तथा आयात निर्यातबाट आएको मुद्रा राष्ट्र बैंकको ‘काउन्ट’मा नै जाने गर्छ ।
वाणिज्य बैंकहरूले पनि आफूले बजारबाट दैनिक उठाएको नोट राष्ट्र बैंकमा नै जम्मा गर्छन् । सबै नोट राष्ट्र बैंकमा नै जम्मा भएपछि ‘सिस्टम’मा भएको पैसाभन्दा र बजारमा भएको पैसामा फरक परेको थापा बताउँछन् ।
चलनचल्तीमा भएको पैसा भने वाणिज्य बैंकहरूले आफ्नो ‘भल्ट’मा राखेका हुन्छन् । यी बैंकहरूले आफ्नो बैंक तथा शाखा कार्यालयमा सबै नोट राखेका हुँदैनन् । आफूले संकलन गरेको निक्षेप राष्ट्र बैंकमा पठाउने गर्छन् ।
आवश्यकताअनुसार वाणिज्य बैंकहरूले चेक काटेर राष्ट्र बैंकमा भएको आफ्नो खाताबाट नोट लिन्छन् ।
यस्तो अवस्थामा राष्ट्र बैंकले आफ्नो ‘भल्ट’मा राखेको नोट निष्कासन गर्छ ।
बजारमा गएका पैसा निक्षेप वा राजस्वका रूपमा राष्ट्र बैंकमा नै आउने गर्छ । यस्तो अवस्थामा बजारमा चलनचल्तीमा कम नोट हुने थापाको भनाइ छ ।
नेपालमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० का जम्मा ११ दरका नोट चलनचल्तीमा छन् । तर, राष्ट्र बैंकले हाल १, २, २५ र २५० का नोटहरू निष्कासन गरेको छैन ।
राष्ट्र बैंकले नष्ट पनि गर्छ नोट
राष्ट्र बैंकले पैसा छाप्ने मात्र होइन नष्ट पनि गर्छ । जनतामा गएका नोटहरू च्यातिए वा मैलिएमा त्यस्ता पैसा राष्ट्र बैंकले नष्ट गर्छ । झुत्रा नोटबाट ब्रिकेट बनाउने गर्छ ।
बजारमा च्यातिएका नोट राष्ट्र बैंकले सहजै साट्छ । च्यातिएको नोट दिए वापत राष्ट्र बैंकले नयाँ नोट दिन्छ । बजारबाट आएको च्यातिएको नोट भने राष्ट्र बैंकले भण्डारण गरेर कुनै एक समयमा जलाउने नियम छ ।