काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन् । प्रतिनिसभाको मंगलबारको बैठकमा बोल्दै उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने बताए ।
बिदा फिर्ता नलिए यसले युद्ध नत्यागेको स्पष्ट पार्ने भन्दै उनले अहिलेको संविधान र प्रश्नलाई ट्याकल गर्न खोजेको देखिने बताए । अध्यक्ष ओलीले बिदा दिने निर्णय फिर्ता नलिए एमालेले त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिए ।
“मेरो समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । मैले शेरबहादुर देउवासँग कुरा गरेँ, मान्नुभएको छ, उत्सव मनाउँछु, बिदा दिन्छु, म प्रम भएपछि किन नमनाउने भन्नुभयो । मैले सम्भव छैन भनेँ, उहाँले बिदा घोषणा गरेँ भन्नुभयो,” उनले भने, “उहाँले हामीलाई शान्तिको प्रयासलाई हिंसाको जयगानबाट जवाफ दिन्छु भन्नुभयो । हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउन बिदा गरेर स्वीकार्य कुनै हालतमा छैन । बिदा रद्द नगरे हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।”
ओलीले जनयुद्ध कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै हिंसालाई स्वीकार गर्न नसकिने बताए । उनले अहिलेको सरकारले शान्ति प्रकृयाको काम सक्नुभन्दा पनि उनीहरुलाई रुवाउने, नुनचुक थप्ने काम गरिरहेको धारणा राखे ।