काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० आजदेखि सुरु गर्दै छ । समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गरिने बताइएको छ ।
आज काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब एक हजार किलोमिटर यात्रा हुनेछ ।
यस बीचमा विभिन्न जिल्लाहरूमा पार्टीका विभिन्न तहका कमिटीहरूसँग छलफल गर्दै र जनताको कुरा सुन्दै जाने पार्टीका महासचिव घनश्याम भुसालले बताए ।
उनले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिए ।
त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै त्यसअघि जनताको सुझाव संकलनका रूपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे ।
अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने अध्यक्ष माधवकुमार नेपालले बताए ।