काठमाडौं । ब्रह्माण्डको उत्पत्तिका बेला प्रचुर मात्रामा रहेको ‘एन्टिम्याटर–अपदार्थ’बारे वैज्ञानिकहरुले महत्वपूर्ण खोज गरेका छन् । ‘एन्टिम्याटर’ भनेको हाम्रा ग्रह एवं ताराहरु बनेको ‘म्याटर– भौतिक पदार्थ’को ठिक विपरीत रुप हो ।
आजभन्दा करिब १३.८ अर्ब वर्षअघि ब्रह्माण्डको उत्पत्ति अर्थात् 'बिग ब्याङ्ग' हुँदा म्याटर र एन्टिम्याटर बराबर मात्रामा उत्पन्न भएको मानिन्छ । अहिले म्याटर जताततै छ । तर, एन्टिम्याटर भेट्टाउन कठिन छ ।
म्याटरलाई अझै सरल भाषामा बुझ्न हाइड्रोजनको सानो कण अथवा ‘एटम’लाई लिन सकिन्छ । हाइड्रोजन एटमको केन्द्रमा ‘पोजेटिभ चार्ज’ भएको प्रोटोन हुन्छ भने केन्द्रको वरिपरि ‘नेगेटिभ चार्ज’ रहेको इलेक्ट्रोन घुमिरहेको हुन्छ । जसरी ग्रहको वरिपरि उपग्रह घुम्छन् ।
एन्टिम्याटरको हकमा ठिक उल्टो हुन्छ । हाइड्रोजन एटमको एन्टिम्याटर अथवा एन्टिहाइड्रोजन एटमको केन्द्रमा ‘नेगेटिभ चार्ज रहेको प्रोटोन–एन्टिप्रोटोन’ हुन्छ भने केन्द्रको वरिपरि ‘पोजेटिभ चार्ज भएको इलेक्ट्रोन–पोजिट्रोन घुमिरहेको हुन्छ ।
त्यसैले म्याटर र एन्टिम्याटर सम्पर्कमा आयो भने एकअर्कालाई नष्ट गर्दै शुद्ध ऊर्जा उत्पादन गर्छन् । पदार्थको ठिक उल्टो भएका कारण अपदार्थले गुरुत्वाकर्षण बलको विपरीत काम गर्नसक्छ भन्ने आकलन गरिएको थियो ।
गुरुत्वाकर्षण बलले अपदार्थलाई विकर्षण गर्थ्यो अथवा आफ्नो विपरीत दिशामा धकेल्थ्यो भने कुनै बलबिना नै उड्नसक्ने असम्भव अनन्त: गतिको मेसिन बनाउन सम्भव हुनसक्ने ठानिन्छ । तर, स्विटरजरल्यान्डस्थित आणविक अनुसन्धानका लागि युरोपेली संगठन (सीईआरएन)का वैज्ञानिकले अपदार्थमा पनि पदार्थमा जस्तै गुरुत्वाकर्षण बल लाग्ने प्रमाणित गरेका हुन् ।
पदार्थ र तत्वको सबैभन्दा सानो अंश अथवा कण भौतिकीका लागि विश्वको सबैभन्दा शक्तिशाली अध्ययन सुविधा केन्द्रका रुपमा यो रहिआएको छ ।
केही सिद्धान्तमा एन्टिम्याटरले गुरुत्वाकर्षण बल विपरीत काम गर्ने भनिएको छ । तर, करिब एक सय वर्षअघि अल्बर्ट आइन्स्टाइनले आफ्नो ‘सापेक्षताको सामान्य सिद्धान्त–जेनरल थ्यौरी अफ रिलेटिभिटी'मा एन्टिम्याटरमा पनि म्याटरजस्तै गुरुवात्वाकर्षण बल लाग्छ र यो पनि तल खस्नुपर्छ भनेका थिए ।
अहिले, आइन्स्टाइनको उक्त सिद्धान्त प्रमाणित भएको हो । यसका लागि वैज्ञानिकहरुले हाइड्रोजन एटमको एन्टिहाइड्रोजन एटम बनाएका थिए । त्यसपछि ती हजारौँ एन्टिहाइड्रोजन एटमलाई एउटा बोटल वा कन्टेनरभित्र राखिएको नियन्त्रण गर्न सकिने ‘म्याग्नेटिक फिल्ड–चुम्बकीय क्षेत्र’भित्र राखिएको थियो ।
एन्टिम्याटर म्याटरसँग सम्पर्कमा आउँदा नष्ट हुने भएका कारण ती एन्टिहाइड्रोजन एटमलाई चुम्बिकीय क्षेत्रमा राखिएको थियो । जब चुम्बकीय क्षेत्र हटाइयो वा म्याग्नेटिक फिल्ड बन्द गरियो, तब सेन्सरहरुले एन्टिहाइड्रोजन एटम माथितिर गए वा तलतिर खसे भनेर ‘डिटेक्ट’ गरेको थियो ।
यो अध्ययनले ‘आन्तरिक बनावट फरक भए पनि सबै किसिमको पिण्डले गुरुत्वाकर्षणसँग समान रुपमा व्यवहार गर्ने’ आइन्स्टाइनको भनाइसमेत सत्य सावित गरेको हो । याे खाेज नेचर जर्नलमा प्रकाशित भएकाे छ । –एजेन्सीहरूकाे सहयाेगमा ।