
काठमाडौंं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूलाई अन्तिमपटक मन्त्री बनेको हो भन्दै प्रश्न गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले फोन गर्दा नउठाउने र खोज्दा नभेटिने भन्दै क्षेत्र केन्द्रित नहुन आग्रह गरे ।
“मन्त्री हुने साथीहरूसित दुखेसो छ । उहाँहरू अन्तिमपटक मन्त्री भएको हो कि ? फर्केर आएपछि सांसदको लहरमा बस्नुहुन्छ मेरो प्रश्न छ । सत्तापक्षकै भए पनि यति गुनासो राख्न पाउँछु,” उनले भने, “बजेट, नीति कार्यक्रममा देशलाई सोचेर गर्नुस् । क्षेत्र केन्द्रित नगर्नुस् । फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन । कहाँ खोज्न जाने टुकी बालेर ?”
उनले सत्तापक्षका सांसदलाई विपक्षमा भोट हाल्न नसकिने भएकाले नीति कार्यक्रम पक्षमा नै बोल्दा हुने टिप्पणी गरे ।
बास्कोटाले राजावादीलाई तासको बुकमा मात्रै राजारानी भेटिने भन्दै आन्दोलनको आवश्यकता नभएको टिप्पणी गरे । “केही साथी व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ । सरकार संविधान नै संशोधन गर्छु भनिरहेको छ । किन आन्दोलन गर्नुपर्यो अब यही भित्रबाट पुग्छ, यहाँ पुग्दैन होला अर्को चुनावमा कोसिस गर्नुस्, बहुमत ल्याउनुस्,” उनले भने, “तासका बुकका राजाराजी खोजेर जिन्दगी गुजार्नुस् । बाँकी त अब कहाँबाट आउनु । राजा–राजा भनेको छ, निन्द्रा पनि नपर्लाजस्तो भइसक्यो । आउँदैन हजुर कोसिस नै नगनुुर्स, समयको बर्बादी हो ।”
उनले लोकतन्त्रको विकल्प नभएको बताए । समाज पछाडि नफर्कने उनको भनाइ छ ।