काठमाडौं । बंगलादेशले प्रधानमन्त्रीकी छोरीलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको प्रमुख पदका लागि अघि सारेको छ ।
यसले संयुक्त राष्ट्रसंघ अन्तर्गतका निकायमा कसरी उच्च पदस्थ व्यक्ति छानिन्छन् भन्ने विषयमा चिन्ता बढाएको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया निर्देशकका लागि दुई उमेदवारमध्येकी एक हुन् ।
दक्षिण पूर्वी एसियाको निर्देशकले ११ देशका दुई अर्ब मानिसका लागि आगामी दुई वर्षसम्म ५० करोड अमेरिकी डलर बजेट चलाउन पाउनेछन् ।
यो पदका लागि आउँदो अक्टोबरको अन्त्यतिर हुने डब्ल्यूएचओको क्षेत्रीय समितिको बैठकमा मतदान हुने अपेक्षा गरिएको छ ।
दक्षिण एसियाको निर्देशककै लागि डब्ल्यूएचओको उच्च अधिकारी नेपालका शम्भु आचार्य पनि उमेदवार रहेका छन् ।
राष्ट्रसंघको निकायमा ३० वर्ष काम गरेका आचार्य जनस्वास्थ्यमा विद्यावारिधि (पीएचडी) गरेका व्यक्ति हुन् ।
यस क्षेत्रका वर्तमान एवं निवर्तमान स्वास्थ्य अधिकारीहरूले डब्ल्यूएचओको छनोट प्रक्रिया र पदका लागि वाजेदको क्षमतामाथि समेत प्रश्न गरेका छन् ।
प्रत्येक सरकारले अघि सारेका उमेदवारहरूमध्ये निर्देशक छान्न ११ देशले गोप्य मतदान गर्छन् ।
“उनी प्रधानमन्त्रीकी छोरी नभएकी भए मलाई लाग्दैन की उनी महत्वपूर्ण उमेदवार हुन्थिन्,” राष्ट्रसंघका सहायक महासचिव कुलचन्द्र गौतमले भने । उनले वाजेदको बायोडाटा निकै फितलो रहेको बताए ।
“यसले राष्ट्र संघीय प्रणाली र डब्ल्यूएचओको छवि राम्रो बनाउँदैन,” गौतमले भने, “यो स्पष्टरूपमा नातावाद–नेपोटिज्म हो ।”
बंगलादेश सरकारको मानसिक स्वास्थ्य सल्लाहकार रहेकी वाजेदले नेपोटिज्मको आरोप अपमानजनक रहेको भन्दै आफ्नो वकालतको अनुभवका आधारमा पदका लागि अघि बढेको टिप्पणी गरेकी छन् ।
“मलाई थाहा छैन यो म मुस्लिम महिला भएकै कारण हो वा मेरो आमा राजनीतिज्ञ भएर हो,” उनले भनिन्, “मलाई थाहा छैन किन मेरो योग्यतामा यति धेरै प्रश्न उठ्छ तर, म त्यस प्रकारको आलोचना गर्न बानी परेकी छु ।”
डब्ल्यूएचओको क्षेत्रीय निर्देशक पदानुक्रम निकै प्रभावशाली हुन्छ । उनीहरूले नीति, लक्ष्य तय गर्न र त्यसको कार्यान्वयनका लागि यसको मुख्यालय जेनेभासँग नजिकबाट काम गर्नुपर्छ ।
डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले उच्च पदमा आफ्नो मनपर्ने व्यक्तिलाई चयन गर्न कडा संघर्ष गर्छन् ।
गत मेमा तीन जनस्वास्थ्य विज्ञले ल्यान्सेट मेडिकल जर्नललाई पत्र लेख्दै डब्ल्यूएचओको चुनावमा क्षेत्रीय सदस्य राष्ट्रको बन्दसत्रभन्दा सार्वजनिक बहस र बढी पारदर्शिता हुनुपर्ने माग गरेका छन् ।
एक वरिष्ठ स्वास्थ्य नीति कार्यकर्ताले वाजेदको मनोनयनले बंगलादेशको स्वास्थ्य क्षेत्रको राजनीतिकरण झल्काएको बताएका छन्, “उनी राजनीतिक परिवारबाट आएकी हुन् र उनकी आमा प्रधानमन्त्री छन् ।”
बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले वाजेदलाई प्रधानमन्त्रीसँगको सम्बन्धका कारण मनोनयन गरिएको अस्वीकार गरेका छन् । उनी राम्रो उमेदवार भएको विदेशमन्त्रीको भनाइ छ ।
वाजेदले खासगरी अटिजममा काम गरिरहेको बताइएको छ । तर, उनीसँग महत्वपूर्ण र ठूलो राशी हुने कुनै पनि अन्तर्राष्ट्रिय संस्थामा प्रबन्ध गरेको अनुभव छैन ।
चुनाव अघि भने उनले हाइ प्रोफाइल कूटनीतिक भ्रमण सुरु गरेकी छन् । नयाँ दिल्लीमा भएको जी–२० सम्मेलनदेखि न्यूयोर्कमा राष्ट्रसंघको महासभामा उनी आफ्नी आमासँगै सहभागी भएकी थिइन् ।
उनले विश्वभरका लिडरहरूसँग भेटघाटको क्रम बढाएकी छन् । आफ्नी आमासँगै गएर उनले डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस र न्यूयोर्कका मेयर एरिक एडम्ससँग राष्ट्रसंघको महासभा अघि भेट गरेकी थिइन् । यस्तै, जी–२० शिखर सम्मेलनमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी थिइन् ।
उनी यसै महिना इन्डोनेसियाको जकार्तामा भएको आसियान सम्मेलनमा पनि सहभागी भएकी थिइन् भने गत अगस्टमा दक्षिण अफ्रिकाको जाहानेसबर्गमा भएको ब्रिक्स सम्मेलनमा पनि उपस्थित भएकी थिइन् ।
सन् १९९६ देखि सन् २००१ र सन् २००९ देखि पदमा रहेकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशमा राजनीतिक असहमति र नागरिक समाजको चरम दमन गरिरहेको आरोप छ । अर्काे वर्ष हुने आम निर्वाचनमा फेरि आफैँलाई जिताउने उद्देश्यले उनले विपक्षीमाथि आक्रमण सुरु गरेको बताइएको छ ।