site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकले परीक्षा लिइरहेका बेला हामी गुट मिलाउन मन्त्रालय फुटाउँदै छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले नागरिकलाई नजरअन्दाज गरेको बताएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले नागरिकले ससाना विषयमा नियालिरहेको तर कांग्रेसले आन्तरिक द्वन्द्वको असर नीतिगतरूपमै देखाइरहेको बताए । 

“हामीहरू अहिले कतिपय सन्दर्भमा नागरिकको नजरबाट परीक्षामा छौँ । सामान्य सरुवा, बढुवा, नियुक्ति सबैलाई हेरेर नागरिकले परीक्षण गर्दो रहेछ,” महामन्त्री थापाले भने, “नागरिकले यसरी हेरिरहेको छ । तर, हामी के गर्छौं, गुट मिलाउन नसक्दा प्रदेशको मन्त्रालय फुटाइदिन्छौँ ।”

उनले नागरिकको आकांक्षा सम्बोधनमा खरो उत्रिन नसक्दा गाह्रो हुने अनुभव सुनाए । उनले त्यसक्रममा आफू त्रिचन्द्र क्याम्पसको सभापति हुँदा दिएका अभिव्यक्तिको दोष अहिले भोगिरहेको पनि बताए । 

“म त्रिचन्द्र कलेजको स्ववियु सभापति हुँदा कतै सार्वजनिक ठाउँमा बसेर दुर्वचन बोलेको रहेछु । त्यसलाई देखाएर तपाईं हुँदा यस्तो बोलेको होइन भन्नुहुँदै छ,” महामन्त्री थापाले भने, “मैले त्यसबेला बोलेको कुराप्रति क्षमाप्रार्थी छु भनेको छु । त्यसबेला युवा हुँदा पनि मैले बोलेको कुरा गलत हो भनेको छु ।”

उनले आफूलाई जस्तै पार्टीलाई पनि जानेर वा नजानेर गरेका निर्णयको दीर्घकालीन असर हुने बताए । “अब कांग्रेसले पनि आफ्ना कमी कमजोरी भएका छन् भने इमान्दारीपूर्वक क्षमा माग्नुपर्छ,” उनले भने, “कांग्रेसप्रति आग्रह राखेर सरकार वा अन्य निकायबाट कुनै कारबाही अघि बढेका रहेछन् भने पनि त्यसले केही बिगार्न सक्ने छैन । हामी नीतिगतरूपमा स्पष्ट भएर अघि बढौँ ।”

उनले शिक्षक र कांग्रेसको सम्बन्ध पनि परिभाषित गर्नुपर्ने बताए । शिक्षकलाई पार्टीको सदस्य बनाउने कि नबनाउने भनेर कांग्रेसले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ । शिक्षक खुसी नभए शैक्षिक सुधार हुन नसक्ने भन्दै उनले शिक्षकको अपमान हुने अवस्थाको अन्त्यका लागि पनि एउटा महत्त्वपूर्ण निर्णय गर्नुपर्ने बताए । 

“शिक्षक र कांग्रेसबीचको सम्बन्ध पनि परिभाषित गर्नुपर्ने समय आएको छ । शिक्षक खुसी भएन भने शिक्षाको गुणस्तरमा सुधार सम्भव छैन,” थापाले भने । 

उनले कानुन र राजनीतिक दलको अभ्यास फरक हुँदा शिक्षकको अपमान भइरहेको बताए । “राजनीतिक दलसम्बन्धी ऐनले भन्छ– शिक्षक राजनीतिक दलको सदस्य हुन पाउँदैन । निर्वाचन सम्बन्धी ऐनले भन्छ– शिक्षक राजनीतिक दलसँग आबद्ध हुन पाउँदैन । उच्च अदालतले शिक्षक राजनीतिमा आबद्ध हुन पाउँदैन भनेर आदेश गरेको छ । सर्वोच्च अदालतले नाम नै तोकेर कांग्रेसको कार्यलयमा पत्र पठाएको छ,” थापाले भने, “शिक्षक संघमा लागेका साथीहरूले चलाएका स्कुलहरू नमुना भएका छन् । उहाँहरूमाथि अन्याय भएको छ । झोले–झोले भनेर उहाँहरूलाई होच्याउने, उहाँहरूको भूमिकालाई होच्याउने प्रयास भएको छ ।”

अब शिक्षकहरूलाई राजनीतिक दलबाट अलग राख्नुपर्ने भन्दै उनले राजनीतिमा आउनेहरूलाई पार्टीले स्वागत गर्नुपर्ने बताए । 

“अब राजनीतिमा आउने शिक्षकहरूलाई राजीनामा गरेर आउने बाटो खोलिनुपर्छ,” थापाले भने, “नआउने शिक्षकहरूलाई दलको सदस्यबाट बिदा दिएर पेसामा अब्बल हुन सहयोग गर्नुपर्ने छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro